
बिमला दुवाडी
आज हरितालिका तीज । तर, कोरोना संक्रमण र लकडाउनका कारण यसवर्षको तीज कोठा र घरैभित्रै थुनिएको छ ।
यस वर्ष कोरोना संक्रमण र त्रासका कारण निषेधाज्ञा लगाइएको र मन्दिर पनि नखुल्ने भएपछि महिलाले घरघरमै महादेवको पूजा आराधना गरी तीज मनाउँदै छन् । पशुपतिनाथ लगायत मुख्य मन्दिर चैतदेखि नै बन्द छन् ।
सामान्य अवस्थामा आजको दिन तीजको रौनक देशभरिनै गुञ्जायमान देखिन्थ्यो । महिलाहरु नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे । छोरीचेली माइतमा रमाइलो गरेका हुन्थे। गाउँशहरमा तीज मेला, उत्सव चल्थे । विद्यालय, सामाजिक संघसंस्था, महिलाका संगठन लगायतले गच्छेअनुसार तीज पर्व मनाउँथे ।
तर यसबर्ष तीजको रमझम छैन । महिलाको स्वतन्त्रताको पर्व घर र कोठामा खुम्चिएको छ । कोरोना संक्रमणको त्रासले कतै बन्दाबन्दी त कतै निषेधाज्ञा छ । कतिपय स्थानीय तहले त दिदीबहिनीलाई माइत नजान आग्रह नै गरेका छन् । तीजको छेकोमा गरिने मेला, प्रतियोगिता स्थगन गरिएको छ ।
विभिन्न ठाउँमा आयोजना हुने ऐतिहासिक तीज मेला यसपालि नहुने आयोजकले जनाएका छन् । तीज गीत प्रतियोगिता लगायतका कुनै पनि औपचारिक कार्यक्रम यो वर्ष नगर्ने निर्णय गरिएको छ ।
सरकारले नै मेला, महोत्सव आयोजनामा रोक लगाएकाले तीज मेला गर्न नसकिएको आयोजकहरुले जनाएका छन् ।
केन्द्रले तीज मेलाका अवसरमा विविध खेलकुद प्रतियोगितासहित सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने गर्दथ्यो । गाउँठाउँमा आयोजना हुने मेला, उत्सवका मौकामा हुने व्यापार पनि यो वर्ष गुम्यो ।
तीजका बेला बजारमा हुने किनमेल पनि ह्वात्तै घट्यो । तीजका मेला, समारोह नै नभएपछि महिलालाई पनि पोशाक र सौन्दर्यका सामग्री किन्नुपर्ने बाध्यता आइपरेन । तीजको सम्मुखमा अलिअलि भइरहेको कारोबार पनि अकस्मातको बजार बन्दले मारमा परेको छ।
बजार, यातायात बन्दले कतिपयको माइत जाने योजना पनि बीचमै तुहिएको छ ।
कोरोना संक्रमणको जोखिम बढेपछि देशभरिका ग्रामीण र नगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक काममा बाहेक हिँडडुल गर्नसमेत रोक लगाइएको छ । चाडबाडमा हुने भीडभाड र आवातजावतले कोरोना संक्रमणको जोखिम थप बढ्ने भएकाले निषेधाज्ञा जारी गर्नुपरेको जनाइएको छ ।
विवाहित महिलाहरु पतिको सुस्वास्थ्य र दीर्घायूका लागि तीजमा व्रत बस्छन् र भगवान् शिवको आराधना गर्छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।
तर, कोरोनाको चपेटामा परेर यसबर्षका तीज खल्लो र निरस बनेको छ । यर्थाथमा, यसवर्षको तीज कोठा र घरभित्रै सीमित भएको छ ।




