डा. रामकुमार अधिकारी

जीवन र मरणको दोसाँधभित्र हुर्किएको संवेगी चिन्तनहरुमा अल्झिएर बाँचेको हुन्छ मान्छे । हाँसोको गुञ्जन सम्मिश्रित यो चङ्गा रूपि जीवन गाँसिएको धागोमा अल्झिएको छ भन्ने वास्तविकताको बोध बेलैमा भए सायद यस्तो हस्याँङ फस्याँङ र तछाड मछाडको चाप कम भोगे पुग्थ्यो होला अरुहरुले । विवेकी हुनुको गुणको गति स्वयंभित्रको एक भीषण सङ्ग्राम हो । जसमा छचल्किन पुग्छन् सयौँ सुनामीका छालहरु र सुक्न पुग्छन् कति प्राण सागर पनि । मनस्वी तलाउमा तैरिएका संवेदनाहरु च्यापेर हिडेको छ मान्छे अनन्त यात्रा पर्गेल्ने अठोटमा ।

कुरो २०७३ साउन मसान्ततिरको हो । आदिकवि भानुभक्त क्याम्पसको आई.सि.टि.ई.मा अध्यापन गर्ने ७ जना सहकर्मी प्राध्यापकहरु जुट्यौँ राजधानीको यात्रामा । कार्यक्रम थियो एकदिने विषयगत अभिमुखीकरण । भोलि पल्टदेखि हुने दुई दिने आम शैक्षिक हड्ताल सम्पन्न गर्नका लागि पूर्व तयारीमा जुटेको थियो देश । त्यसैले रातसाँझ गरेर पनि सोही दिन दमौली फर्कनु हाम्रो बाध्यता थियो । हुन त हड्ताल नेपालीको नियति नै हो । बन्दवादी संस्कृतिलाई स्वीकार्नु हाम्रो जिजिविषा बनेको छ । यात्राको अर्को मक्सद कार्यालयीय भेटघाट र सन्दर्भ पुस्तकहरुको खोजी गर्नु पनि थियो । मूल कार्यक्रम सम्पन्न भएपछि हामी सात जना तिनतिर तेर्सियौँ । कोही विश्व विद्यालय अनुदान आयोग, सानोठिमी, कोही न्युरोड र कोही भोटाहिटीतिर । समूहबाट अलगिनुका अभिप्राय कति पुरा भए भएनन्, कलङ्कीसम्मको यात्राका लागि रत्नपार्कमा जम्मा हुँदा साँझ ५ बजिसकेको थियो । एक्कासी चुहिन थाल्यो आकाश । ओढाउ नबोकेका हामी बाघ बजारको आकासे पुलमुनि प्लास्टिकले टुमरेका अस्थायी भुईँछाप्राहरुमा थुप्रियौँ । शरीर बाछिटाले निथ्रुक्क भए पनि मगज नभिजाउन टाउको ओताएर वर्षा बिसाउने आशामा थियौँ ।

वर्षायामका बटुवाहरुको बाध्यतामा बिक्ने आशले छाप्राहरुमा छिरलिएका च्याउ आकारका धराप छाताहरु खरिद गर्ने कि नगर्नेको द्विविधामा अन्कनाउँदा अन्कनाउँदै भिज्न बाँकी टाउकोलाई आकाश ओडाउँदै बसपार्कतर्फ हानियौँ । काठमाडौँको पुरानै रोग हो, ट्राफिक जाम । यसलाई छिचोल्न इन्द्रको बाउ चन्द्रको त केही लाग्दैन र । हामी त मान्छे, त्यसमा पनि नेपाली । यसैको चपेटामा सिकिस्त बनेको हाम्रो रिजर्भमा काठमाडौँसम्म गुडेको गाडी सानोठिमीबाट चक्रपथ हुँदै कलङ्कीतिर बामे सर्दै थियो । अब कलङ्की छिचोल्नु मात्र पनि हाम्रो लागि चानचुन चुनौती थिएन । कार्यालय, क्याम्पस, विद्यालय, बजार सबैतिरबाट बासस्थानतर्फ हुँइकिन हतारिएका प्राणीहरुले रत्नपार्कमा खुट्टो राख्ने ठाउँ थिएन । त्यसमा पनि भोलि पल्टको २ दिने हड्लातले छट्पटाएका थिए क्यारे सबै । सवारी साधन कम यात्रु बढी । बस चढ्न तानातान, घचेटाघचेट व्याप्त थियो रत्नपार्कमा । मोफसल रत्तिएका हामीलाई यस्तो चाल चलनमा बानी पर्ने कुरो भएन । त्यसैले बस चढ्ने तछाड मछाडको प्रतिस्पर्धामा सहजै उत्रने आँट आएन हामी कसैको पनि । भिजेको शरीर लिएर रित्तो बस खोजीको दौडाहा चलिरह्यो । समयले नेटो काटिसकेको थियो । अझै पुरा भएको थिएन हाम्रो अपेक्षा । अब आत्म केन्द्रित सहरिया संस्कृति नदेखाई सुख्खै नहुने टुङ्गोमा पुगेर हामी बस चढ्न तानातान, घचेटा घचेटमा उत्रियौँ । सहरिया टन्टाहरुले टाक्सिएका १/२ जनालाई पन्छाउँदै आफू त ड्राइभरको छेउमा आसन जमाउन सफल भएँ । यसो हेरेको साथीहरु पछिल्तिर मडारिँदै हुनु हुँदो रहेछ । तैपनि १ जना साथी त ठिङ्गराम नै देखेँ । एक मन त उहाँलाई सिट छोडेर सभ्य बनूँ कि जस्तो लाग्यो तर सकिन । किनकि म भर्खर सहरिया संस्कृतिमा समाहित भएको थिएँ । आफूलाई त सिट पाउँदा पनि स्थानीय चुनावमा वडा सदस्य पद जितेको झैँ भान भइरहेको थियो । यत्रो सफलता साथीलाई सजिलै सुम्पन सकिन ।

अबेला भइसकेको थियो । फेरि आफू त अगाडिकै सिट भेट्टाउन सफल यात्रु भएको नाताले ड्राइभरलाई भनेँ, ‘ए गुरुजी, अब जाऊँ ।’ ऊ पनि सहरका सडकमा बस चलाउने ड्राइभर न थियो, के कम ? चुरोटको धुँवा फुक्दै भन्यो, ‘अँ, तपाईँले भन्ने बित्तिकै जानु पर्ला नि, बस नभरिइकन, अर्को बस नआइकन ।’ मुखभरिको जवाफ ओकलेर मलाई खिस्रिक्क पारिहाल्यो । अब बोल्ने को ? उसको हैसियत र हैकम देखाइ हाल्यो । अब उसको मर्जी चल्ने बुझियो । अलिकति डर पनि लाग्यो, बल्ल बल्ल पाएको अगाडिको सिट । केही गरी ओराली हाल्यो भने ? चुपचाप बसेँ ।

करिब आधा घण्टासम्म मान्छेको कुदाकुद, हँस्याङ फस्याङ, दौडाधुपका दृश्य अवलोकन गरिरहेँ । सुगमता र अवसरको अपेक्षामा अभाव र अनिश्चितताका झिँजाहरु च्यापेर सम्भावनाका सपनाहरु देख्दै सहर पसेका जमातको लस्कर साँच्चै अत्यास लाग्दो छ । यो यिनीहरुको इच्छा मात्र त होइन होला । यसमा यिनलाई आनन्द पक्कै होओइन । यस्तै सोच्दा सोच्दै पछाडि पालोको अर्को गाडी आएर हर्न बजायो । ड्राइभरले गाडी स्टार्ट ग¥यो । मेरो मथिङ्गलको उथल पुथल स्थिर बन्यो । अब गन्तव्यमा छिट्टै पुगिने आशा सञ्चार भयो ।

गाडी अगाडि बढ्यो । एकातिर पानी परिरहेको छ । अर्कोतिर चार पाङ्ग्रे, दुई पाङ्ग्रे मोटर र पैदल यात्रुले सडकको चार ओटै लेनहरु टम्म भरिएका छन् । विस्तारै विस्तारै बस सहिद गेटमा पुग्दा नपुग्दै जाम सुरु भयो । भत्केको सडक, फोहोरका थुप्रा, सडक जाम, मान्छेको भिड, गाडीहरुको लाम लस्कर काठमाडौँको परिचय नै बनिसक्यो । बस रोकियो । ट्याँट्याँ र प्याँप्याँले कान खाइरहेको छ । सबैलाई हतार छ । धैर्यता कतै छैन । सबैलाई आफैँ अघि पुग्नु पाए हुन्थ्यो भन्ने छ । पानीमा भिजेका केटाकेटी च्यापेर चल्दा चल्दैको गाडीमा उक्लन खोजेका छन् मान्छेहरु । बसमा खुट्टो राख्ने ठाउँ छैन । सहचालक पछाडि सर्न हकार्दै छ । आइमाई, युवायुवती, बुढापाका पनि ढोकामा झुन्डिएका छन् । एक्कासी घ्याच्च ब्रेक लगायो ड्राइभरले । मान्छेहरु ‘आबुइ !’ भनेर चिच्याउँदै हुत्तिएर एउटै थुप्रो भए । ‘के भो ?’ भन्ने मेरो प्रश्नमा ‘किन मिलेर नबसेको त ?’ ड्राइभरको झर्कोफर्को थियो । मान्छे मिलाएको रहेछ उसले । हामीले भाँडो वा झोलामा कुनै वस्तु नअटाउँदा खाँदखुँद गरे जस्तै ऊ मान्छे खाँदिरहेको रहेछ । मन खल्लो भएर आयो, दया भन्ने कुरो बोलीमा मात्र हुन्छ है, व्यवहारमा यहाँमात्र होइन प्रायः कहीँ पनि महसुस गर्ने अवस्था देख्न मुस्किल छ । आवाज निकालेरै भन्न मन लागेको थियो, फेरि डराएँ र आवाज दबाएर भनेँ, ‘हरे ! मानवीयता फजुल छ, बिनासित्ती र व्यर्थ छ ।’

त्रिपुरेश्वरमा एउटा ठिटो हातले सङ्केत गर्दै वल्र्ड ट्रेड सेन्टरतिर बाटो काट््यो । चालक चिच्यायो ‘ए मर्लास् मर्लास् ।’ यो सुनेर मन तितो भयो । भन्नै पर्ने भए अरु केही भनेको भए पनि हुन्थ्यो होला नि झँै लाग्यो । चौबाटोबाट गाडी टेकुतर्फ मोडियो । एउटा साइकिलवाला हतारमा थियो क्यारे, बसलाई छेवैबाट उछिन्यो । चालक रन्कियो ‘ठहरै होलास् है, बेकारमा मेरो १७,००० हजार चुना लाग्ला ।’ के भनेको त्यस्तो ? झोक्किन मन लाग्यो अहिले त मलाई पनि । ‘मरिहाल्यो भने हाम्रो १७,००० फोक्कडमा जाँदैन त ?’ सबभन्दा बढी जाम गराउने यही साइकल र मोटर साइकलवाला हो, सालेहरु । यिनीहरुलाई एक एक गरी ठोक्दै ठाउँको ठाउँ १७,००० गनिदिऊँ जस्तो लाग्छ कहिलेकाँही त ।’ अहिले त आगोको लप्काले डाम्यो मेरो मन । यति नै बेला २÷३ महिना अगाडि पढेको ‘युवराज नयाँघरे’को निबन्ध ‘अठार हजार जाबो !’ को सन्दर्भ सम्झिएँ । कृतिमा पढ्दा र अभिव्यक्ति प्रत्यक्ष सुन्दा फरक महसुस हुँदो रहेछ । मन जलिरहेको थियो । धिक्कार छ मान्छेको जीवन । ड्राइभरले मान्छेको मूल्य १७,००० तोकेकोमा मलाई ऊप्रति जति झोक चलि रहेको थियो, त्यति नै आफूप्रति आत्मा ग्लानि पनि । उसको लक्षित तालिकामा नाम दरिएकोे थियो मेरो पनि । साइकिलमा सवार ठिटो कस्ता सपना बुनेर सहर पसेको हुँदो हो । सङ्घर्षका के कति घुम्तीहरु छिचोल्दै होला । तर ठहरै पारेर १७,०००।– तिर्न चालक तयार छ । ऊ बटुवा र दुई पाङ्ग्रे चालकको मोल तोक्दै छ खुलेआम । त्यो पनि सार्वजनिक गर्दै छ बिना द्विविधा, बिना अफसोच र बिना सङ्कोच । उसलाई लागेको छैन कसैले सुने के भन्ला ? म छक्क परेँ । म नातागत भएजस्तो भएँ । सिटमा राम्रैसँग अडेसा लाग्दा पनि ज्यान थाकेको अनुभव भयो । आफ्नो मूल्य आफूसँगै बसेको चालकले तोकेकोमा । अनि आफैँसँग प्रश्न गरिरहेँ । यो कस्तो देश ? कस्तो समाज ? कस्ता व्यक्ति ? कस्ता नीति निर्माता ? यो कस्तो संस्कृतिको निर्माण गरिएको होला ? यस्तो कानुनले कस्तालाई न्याय र कस्तालाई अन्यायी बनाउन खोजेको होला ? दुर्घटना न्युनीकरणमा यसले पारेको सकारात्मक र नकारात्मक असरको लेखाजोखा कसले गर्ने होला ? यस्तै यस्तै ।

ऊ आफूलाई उछिन्ने सवारीका चालक र बाटो काट्ने बटुवाहरुलाई केही न केही नभनी छोड्दैन । ऊ राँक्किन्छ, रिसाउँछ अनि झोक्किइ मात्र रहन्छ । मानौँ यो सडक उसको मात्र हो । यहाँ हिड्ने गुड्नेले उसलाई कसैले असजिलो पार्न पाउँदैन । अनि ऊ आफूचाँहि अजम्बरी छ । जसलाई यात्रा सुरु गर्दा कहिल्यै मुहूर्त हेर्नु पदैैन, कुनै भद्रो गम्नु पर्दैन, कुनै टुङ्गो टार्नु पर्दैन अथवा अनिष्टको बादल लाग्ला भनेर सुरक्षाको लागि घुम, छाता, बर्सादीको जोहो गर्नु पर्दैन । ऊमात्र एउटा यस्तो प्राणी हो जसलाई कथित स्वर्गबाट बटुवाको मोल तोक्न खटाइको अधिकारी हो । त्यसैले त मनलाग्दी बोल्न छुट छ उसलाई । मचाँहि उसको दमदार घोषणात्मक बोली नै पिच्छे मनमा सियोको चस्का खप्दै थिएँ ।

जामलाई पछ्याउँदै गाडी १ घण्टामा टेकु पुग्यो । मान्छेको खाँदाखादले मलाई उकुमुकुस भएर आयो । कलङ्की पुग्न १ किलो मिटर जति हुँदो हो, कछुवाको गतिमा गुडेको गाडी अझै घण्टा लाग्ने हो कि टुङ्गो थिएन । बिच बिचमा ऊ केके बोल्दै थियो । वास्ता गर्न मन लागेन । मनमा मेरै मूल्यले नै रफ्फुचक्कर लगाइरहेको थियो । पुलको मुखमा पुग्दा गाडीभित्र उभिएको सानो बालकले निसासिएर बान्ता ग¥यो । उतै मुन्टो मोडेँ । मेरै १ जना साथी आमा र बच्चा दुवैलाई सान्त्वना दिँदै आफ्नो शरीर पुछपाछ गर्दै हुनु हुन्थ्यो । चालकले थाहा पाएछ । सुन्न नचाँहदा नचाँहदै कानमा उसको कर्कश ध्वनि प्रतिध्वनित भयो, ‘मर्छ अब त्यो छेराउटी ।’

मलाई तुरुन्त यो गाडीबाट ओर्लेर ठमठम हिँडेर कलङ्की पुग्न मन लाग्यो । के सकिन्न र नाथे १ किलो मिटर हिड्न ? हाम्रो पिता पुर्खा यही काठमाडौँ पुग्न ५÷६ दिनसम्म हिड्थे र त्यति नै दिन लगाएर फर्कन्थे रे । लाग्यो हिड्न पाए ड्राइभरका यी चित्त च्यात्ने बोली त सुन्न पर्दैनथ्यो । साथीहरु सबै पछाडि, कोसँग सल्लाह गर्ने ? आफूमात्र एक्लै हिड्ने कुरो भएन । त्यसमा पनि भर्खर किनिएका सन्दर्भ पुस्तकहरु र यतैबाट भिरिएका झोलाहरु झमेला थपिरहेका थिए हिड्नमा । म गम खाँदै बसेँ । बरु उभिन नै परेपनि बिचैतिर पुग्नु पाएको भए ? पहिला त अघिल्लो सिट पाउँदा पोक्किएको म अहिले सोही सिटका कारण बिघ्न विभिन्डिएको थिएँ । किन ? मलाई मात्र थाहा थियो । वरिपरिका अरुलाई बानी परिसकेको थियो, त्यस्ता वाणी र चर्तिकलाहरुमा । साँझको ६ः३० बज्दा कालिमाटीबाट केही खुकुलियो सडक । यद्यपि ७ बज्यो कलङ्की पुग्दा । ड्राइभर साहेबको दबदबाहटबाट बल्ल तल्ल मुक्ति पायो मेरो भुटभटिएको मनले । पेट्रोलको भोकले दिउँसैदेखि भौतारिएको हाम्रो रिजर्भको बस अघाएर डकार्दै कुरिरहेको रहेछ । बेलाकुबेलाको वास्तै नगरी स्वच्छ सास फेर्न हतारिएको फोक्सोलाई राहत दिन हामी जति सक्यो छिटो छोड्यौँ देशको राजधानी र लाग्यौँ मोफसलतिर ।

मैँले सुनेको थिएँ । केही दिन अघि नेपाल पर्यटन व्यवस्था विभागले ट्याक्सी चालकहरुलाई जम्मा गरेर पर्यटकहरुसँग गर्नु पर्ने बोलीचाली र व्यवहार बारे अभिमुखीकरण गरेको थियो रे । विमान स्थल, होटल, रेस्टुरेन्ट, विभिन्न पर्यटकीय स्थलमा पु¥याउँदा ल्याउँदाको न्युनत्तम र अधिकत्तम सेवा शुल्क बारे सीमा पनि तोकिएको थियो रे भन्ने कुरा । के सार्वजनिक यातायातका चालक र सहचालकहरुलाई पनि बोलीचाली र व्यवहार सम्बन्धी तालिम, अभिमुखीकरण गराउन सकिँदैन होला ? जसरी लाइसेन्स प्राप्त गर्ने समयमा महिनौ ट्रेनिङ गराइन्छ । त्यसरी नै यसबारे आवश्यक जानकारी गराउने, पालना भए नभएको अनुगमन गर्ने, अमिल्दा र असुहाउँदा गतिविधि भएमा उजुरी दिने व्यवस्था गर्ने र ठाउँठाउँमा उजुरी पेटिका राखि दिने हो भने यस्ता अबान्छित बोली व्यवहार कम हुन्थ्यो कि ? अर्कातिर यात्रुहरुले टिठ लाग्दो अनुहार लगाएर यात्रा गर्नु पर्दैनथ्यो कि ? यसप्रति सम्बन्धित पक्षको ध्यान आओस् । सबै सचेत होऔँ । यसबारे सबैलाई चेतना भया ।

(डा. अधिकारी आदिकवि भानुभक्त क्याम्पस ,तनहुँका उपप्राध्यापक हुन् ।)