तनहुँको व्यास नगरपालिकाले स्थानीय उत्पादनको बजारीकरण र प्रवर्धनका लागि सदरमुकाम दमौलीमा हाट बजार सञ्चालन ल्याउने छ । संविधान दिवसको अवसर पारेर असोज ३ गते देखि हाट बजार सञ्चालनमा ल्याईने नगरपालिकाले जनाएको छ ।

स्थानीय उत्पादनलाई सहज रुपमा बजारसम्म पुर्याउने र गाँउ गाँउको उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यका साथ साप्ताहिक हाट बजार सञ्चालनमा ल्याउने निर्णय भएको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले बताए । हाट बजारको माध्यमबाट बजारीकरणमा टेवा पुगि गाँउ गाँउमा उत्पादन र उत्पादकत्व बढाउन सहयोग पुग्ने विश्वास लिईएको नगर प्रमुख न्यौपानेले बताए ।

हरेक साताको बुधबार सञ्चालन हुने हाटबजारमा कृषिजन्य वस्तु, पशुजन्यवस्तु, कृषि औजार, हस्तकलालगायतका स्टलहरु निर्माण गरिएको छ । स्टलहरु निशुल्क उपलब्ध गराईने नगरपालिकाले जनाएको छ । गाउँमा कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुलाई व्यास नगरपालिका–३ दमौली अस्पताल जाने बाटोमा बिहान ८ बजे देखि साँझ ६ बजे सम्म सङ्कलन केन्द्रमार्फत हाटबजारमा बिक्री वितरणको व्यवस्था मिलाईएको व्यास नगरपालिकाका पशु विकास अधिकृत डा.मनोज विश्वकर्माले जानकारी दिए । कृषि उपजको बजारीकरणका लागि नगरपालिकाले प्राथमिकताका साथ अगाडि बढेको छ । सहज बजार पाएपछि यस्ता सामाग्रीको उत्पादन बढ्ने छ ।

व्यास नगरपालिकाले एक सूचना जारी गरेर हाट बजारमा सहभागी लई लाभान्वित हुन कृषक तथा उपभोक्तालाई आग्रह गरेको छ । दमौलीको गणेशमानचोकमा बुधबारे हाट बजार सञ्चालन हुँदै आएकोमा त्यहाँ जिल्ला समन्वय समितिले व्यापारिक भवनहरु बनाई भाडामा लगाएपछि बुधबार हाट बजार बन्द हुनु पुगेको थियो । हाट बजार नहुँदा उत्पादनलाई बजारीकरण समस्या परेको थियो । व्यावसायिक कृषि पेसा अवलम्बन गरेका कृषकले आफ्नो उत्पादनलाई बजारीकरण गर्ने सुविधा नहुनाले ठूलो घाटा व्यहोर्नु परेको थियो ।

हाट बजार सञ्चालनमा ल्याईएपछि नाफा खाने बिचौलियाको अन्त्य भई कृषक तथा उपभोक्ता दुवै लाभान्वित हुने अपेक्षा गरिएको छ ।