
सम्पादकीय
आजकल सामाजिक सञ्जाल हाम्रो जीवनका अभिन्न अंगजस्तै बनेका छन्। यसैबीच, सबैभन्दा लोकप्रिय सञ्जाल फेसबुकले हाम्रो जीवनमा सकारात्मक र नकारात्मक दुबैखाले परिवर्तन ल्याएको छ ।
विशेषतः फेसबुकमा बढाइचढाइ गरिएका पोस्टको कारण व्यक्तिमा अरुको जीवनलाई बढी सफल एवम् सुखद् देख्ने साथै कमजोरी, समस्या र संघर्ष केवल आफूमा रहेको जस्तो लाग्ने हुन सक्ने अध्ययनले देखाएको छ । जसका कारण आफू अरुभन्दा कमजोर र पछि परेको आभाष बारम्बार हुने परिस्थिति बन्न र अन्ततः डिप्रेसनको प्रमुख आधार बन्न पुग्छ ।
त्यस्तै, खास गरी किशोर–किशोरीहरुमा अरुको सुन्दरता, शैक्षिक एवम् व्यावसायिक सफलता साथै सम्पन्नता झल्काउने विविध विषयले सामाजिक इर्श्याको भावना बढाउने काम पनि फेसबुकले गरेको र मानसिक स्वास्थ्य विगारेको छ । फेसबुकमा गरिएको पोष्टको लाइक, कमेन्टलाई लिएर समेत अनावश्यक प्रतिस्पर्धा हुने, नकारात्मक वैयक्तिक छवि बन्ने एवम् त्यसकै कारण विविध असहज स्थिति बनिरहेको छ
त्य
सैगरि, फेसबुककै कारण व्यायामको कमी, अपर्याप्त निद्रा, नकारात्मक सोच, सूर्यको प्रकाश एवम् प्रकृतिबाट टाढा हुनु साथै एक्लोपन डिप्रेसन बढिरहेको अध्ययन अनुसन्धानले देखाएको छ । त्यस्तै, फेसबुकका कारण घरपरिवार, साथीभाई र आफ्ना प्र्रेम सम्बन्धमा पनि खलल पुर्याएको छ । फेसबुकमा ठूलो संख्यामा विपरीत लिङ्गीहरूसँग सम्पर्क रहिरहने हुनाले धेरै प्रेमी र दम्पतीहरूमा प्रतिस्पर्धा एवम् असुरक्षाको भावना बढेको पाइएको छ। विश्वभरि नै दम्पतीहरूबीचको झगडाको एक प्रमुख कारण श्रीमान् वा श्रीमतीले आफ्नो लागि समय र ध्यान दिँदैन भन्ने हुने गर्दछ जसको प्रमुख कारक फेसबुकनै बनेको छ ।
फेसबुक चलाउँदा मोवाइल वा कम्प्युटरमा एकोहोरो हेरिरहँदा स्क्रिनको बढी प्रयोग र यसको नीलो प्रकाशले अनिद्रा र थकान बढाउने साथै ऊर्जा एवम् यौन अभिरुची कम गर्ने गरेको विभिन्न अध्ययनले देखाएको छ । साथै, निजी जिवनका गोप्य राख्न चाहेका कतिपय विषय गोप्य राख्न फेसबुकले कठिन बनाइदिएको छ। उदाहरणको लागि, जन्मोत्सव, पास्नी, ब्रतबन्ध, विवाहजस्ता अवसरहरूमा नचाहेरै पनि देखाउनको लागि फजुल खर्च गर्नुपर्ने बाध्यता बढ्दै गएको छ । अर्कोतर्फ, इज्जतको डर देखाई शोषण, ब्ल्याकमेल वा अनुचित लाभ लिने गरिएका दर्दनाक आपराधिक घटनाहरु समाजमा घटिरहेका छन् ।
फेसबुक बढी प्रयोग गर्नेहरूको मष्तिष्कको समस्या, सामाजिक दुरीलाई बढाइदिएको छ । तसर्थ, यी सबै समस्याहरुबाट बच्नको लागि फेसबुकको प्रयोगमा सावधानी अपनाउनु नै बुद्धिमानी हुन्छ ।




