नायक एवं मोडेल पल शाह एक १७ वर्षीया बालिका बलात्कारको अभियोगमा पक्राउ परेपछि अहिले तनहुँको दमौली तनावग्रस्त बनेको छ ।

विशेषत : यूट्युवरहरुले पल शाह पक्राउ परेको र उनी हिरासतमा रहेको विषयलाई अतिरञ्जित गरेर प्रशारण गरेपछि दमौलीबासी आतंकित भएका छन् । दमौलीस्थित जिल्ला प्रहरी कार्यालय अगाडि अहिले विहानदेखि बेलुकासम्म मानिसहरुको भीड लाग्ने गरेको छ । कोही हातमा पर्चा र डिस्प्ले बोकेर त कोही पल शाहलाई रिहाई गर्नुपर्ने माग सहित नाराबाजी गरिरहेका देखिन्छन् । बालबालिका देखि युवायुवती र वयस्कहरु भीडमा सामेल भएका छन् । अदालतले ७ दिनको लागि म्याद थप गरेर अनुसन्धान जारी राख्न अनुमति दिएपछि तनहुँ प्रहरीको हिरासत दमौलीमा रहेका नायक पल शाह अहिले यूट्युवरहरुको लागि डलरको खेती बनेका छन् । भ्यूज बढाउने नाउँमा यूट्युवरहरुले अनावश्यक र बढाईंचढाईं गरेर पल शाह र बलात्कृत बालिकाको नाम समेत किटेर तथानाम प्रचारबाजी र स्क्याण्डल मच्चाएका छन् । भनौकि दमौली अहिले यूट्युवरहरुको कब्जामा छ, र उनीहरु मनलाग्दी बकिरहेका छन् । तर यस विषयमा प्रहरी, प्रशासन र स्थानीय सरकार मौन बनेका छन्, रमिते बनेका छन् ।

यूट्युवरहरु हातमा माइकको बुक समात्दै जिल्ला प्रहरी कार्यालय तनहुँको कार्यालयलाई पृष्ठभूमि पल शाहको गुणगान गर्न देखि उछितो काढ्न सम्म बाँकी राखेका छैनन् । मनलाग्दी शव्दजाल बुनेर उनीहरुले सो घटनालाई तोडमोड गरिरहेका छन् ।

आइतबारदेखि उनीहरुको बास तनहुँमै छ। उनीहरुको ध्यान यो घटनाको चिरफार भन्दा पनि सनसनी मच्चाउने मात्रै देखिन्छ। उनीहरु कहिले पलले शाहले के खानेछन् आज अनि दिउस के खाए हामी अपडेट दिनेछौँ भन्छन् त कहिले पलका वकिलसँग केस जितिन्छ त भनेर सोध्छन्।

नाबालिगको बलात्कार गरेको आरोपमा आइतबारबाट शाह प्रहरी हिरासतमा पुगेपछि धेरै युट्युबहरूको जात्रा लागेको छ तनहुँ प्रहरी कार्यालय अगाडि। बालबालिकाहरूलाई कार्यालय अगाडि भेला पारेर पलको पक्षमा नाराबाजी गराउन लगाउने, पललाई भेट्न आउने कलाकार अनि परिवारका सदस्यसँगु तपाईँलाई कस्तो लागिरहेको छ भनेर सोध्ने अनि भाइरलको लोभमा हरेक विषयमा प्वाक्क प्वाक्क बोल्ने पुण्य गौतम र शोभित बस्नेत जस्तासँग अन्तर्वार्ता लिने उद्देश्य देखिन्छ।

न्युज फिल्मीु, आर्टिस्ट खबर, लगायतका युट्युब च्यानलका सञ्चालक पिप्ली लाइभमा अगाडि छन्। राम्रै सब्स्क्राइबर बनाइसकेकाहरू भ्युज बढाएर रेभिन्युज बढाउने चक्करमा देखिन्छन् भने नयाँ युट्युब च्यानलहरू नाबालिगमाथि बलात्कारको घटनालाई सब्सक्राइबर बढाउने माध्यम बनाउन दत्तचित्त छन्।

अनि जो तनहुँ गएका छैनन् उनीहरू काठमाडौँमा बसेर सनसनीखेज हेडलाइनको खोजीमा घटनासँग नजोडिएका पात्रहरू खोजी गरिगरी भाइरल कन्टेन्ट बनाउन मरिमेटेर लागेका छन्। अनलाइन टिभी नेपाल, केछ नेपाल लगायतका यूट्युवर यसमा सक्रिय देखिन्छन्।

घटना के हो र, यसका कानुनी पाटो के हो कुनै मतलब छैन। एकपक्षीय कन्टेन्ट राख्दै सनसनीखेज हेडलाइनकै बोलवाला देखिन्छ। प्रहरी कार्यालय अगाडि भरिएको भिडले प्रहरीको दैनिक गतिविधि प्रभावित भएको छ। भेटघाट गर्न आएकाहरू दिक्क छन्। तर उनीहरूले छाडे पो ।

उजुरी परेपछि प्रहरीले जिल्ला अदालत तनहुँबाट सात दिनको म्याद लिएर पललाई हिरासतमा राखेको छ। यो सात दिनमा अनुसन्धानको प्रक्रिया पुरा नभए शाहको हिरासतको म्याद थपिनेछ। तर भेट्न आउनेको भिडका कारण प्रहरीले शाहको बयान लिने क्रम समेत सुरु गर्न पाएको छैन।

हिरासतमा रहेकासँग परिवारका सदस्य र कानुनी सहयोगीले भेट्न पाउँछन्। तर उनीसँग सरोकारै नराख्नेहरू जो चर्चाको भोकमा काठमाडौँबाटै यूट्युवरसँगै बोकेर हिँडेका छन् उनीहरूले समेत पललाई भेट्न दिन दवाब दिँदै आएका छन्।

प्रहरीको रोहबरमा भेट्नेहरूले हिरासतमा रहेकासँग सन्चोविसन्चो बाहेक थप कुराकानी गर्न पाउँदैनन्। कानुनी सहयोगीले भने उनीसँग सबै पक्षबारे छलफल गर्न समय पाउँछन्। पल शाहले अधिवक्ता बिबी विष्टलाई जिम्मेवारी दिएका छन्। तर चर्चाका लागि आएको भिडले शाहका वकिलले समेत उनीसँग विस्तृत छलफल गर्न पाएका छैनन्।

जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज खड्का अनुसन्धानका लागि म्याद थप गरेर कारबाही प्रक्रिया अगाडी बढाएको बताउँछन्। जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी आवश्यक प्रक्रिया अगाडी बढाएको उनले बताए।

शाह पक्राउ परेदेखि स्थानीय युवायुवतीले उनका पक्षमा नाराबाजी गर्दै आएको डिएसपी खड्का बताउँछन्। उनी भन्छन्शाुशाह पक्राउ परेपछि केही भिडभाड बढिरहेको छ। स्थानीय युवाहरूले कार्यालय बाहिर नाराबाजी गर्दै आएका थिए। भिड बिस्तारै कम हुँदै छ। हामीले शाहविरुद्धको अनुसन्धान लाई अगाडी बढाएका छौँ। नाराबाजी र होहल्लाले प्रहरीको अनुसन्धानको काम रोकिँदैन।’

यसैबीच, स्थानीयले दमौलीमा यूट्युवरहरुलाई प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् । नाम गोप्य राख्ने शर्तमा एक यूवाले भने, यूट्युवरहरुको तमासा धेरै भयो, यीनीहरुका कारण अनुसन्धान प्रभावित हुनु हुँदैन् । आजैदेखि यूट्युवरहरुलाई दमौलीबाट धपाउनुपर्छ ।

पत्रकारिता र साइबर नियम अनुसार भ्युअर बढाउने नाममा बोल्दै नबोलेको कुरालाई अतिरञ्जित गरेर समाचार बनाउनु अपराध हो। यस्तो हर्कत गर्नेलाई कानुनले दण्ड सजायको व्यवस्था छ।

कानुन व्यवसायीले कुनै पनि प्रसारित समाचार वा सामाग्री प्रति गालीगलौजपूर्ण प्रतिक्रिया दिनेहरूलाई समेत कानुनी कारबाहीको व्यवस्था रहेकाले सबै सचेत हुन जरुरी रहेको बताए।