प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सवमा दर्शकहरुको घुँइचो लागेको छ ।

पुस २४ गतेदेखि सञ्चालन भएको सो महोत्सवको नवौ दिन शनिबार मात्रै ५० हजार भन्दा बढी दर्शकहरुले अवलोकन गरेको पाटन युवा क्लबका अध्यक्ष अमर थापाले बताए । दर्शक भिडका कारण आयोजकलाई व्यवस्थापन मिलाउन हम्मे हम्मे परेको थियो । दर्शक भिडका कारण सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै दोस्रो गेट समेत खोल्नु परेको जानकारी थापाले दिए ।

महोत्सवमा सिमान्तकृत बोटे जातिको घर, च्याउको मःमः, पराशर माविका विद्यार्थीद्वारा राखिएका विज्ञान प्रदर्शनी, सिताके च्याउ, न्यानो कपडा, जुत्ता, होटल, ढाकाका कपडा, वैदेशिक रोजगार बोर्डको सचिवालयद्वारा राखिएको परामर्शको स्टल, निःशुल्क स्वास्थ्य शिविरमा दर्शकहरुको घुइचो लागेको महोत्सवका मुल संयोजक पवन चुमी थापा मगरले बताए । व्यास नगरपालिका र छिमेकी गाउँपालिकाहरुबाट महोत्सव अवलोकन गर्न दर्शकहरुको घुइचो लागेको जानकारी उनले दिए । व्यास झुला र बोटेहरुद्वारा निर्माण गरिएको बाँसको अस्थायी पुलबाट दर्शकहरुलाई आउने जाने व्यवस्था मिलाइएको प्रचारप्रसार समितिका संयोजक अर्जुनकुमार श्रेष्ठले बताए ।

मादी नदीमा ¥याफ्टिङ गर्नेको समेत त्यतिकै भिड लागेको ¥याफ्टिङ व्यवस्थापन समितिका संयोजक सन्तोष थापाले बताए । अहिलेसम्म १५ हजार भन्दा बढीले र्याफ्टिङ गरिसकेको जानकारी उनले दिए । सीमान्तकृत बोटे जातिको उत्थानका साथै परम्परागत संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको सचिवालय संयोजक दिनेश लामिछानेले बताए ।

नवौ दिन चर्चित गायिका ज्योति थापा मगरले आधा दर्जन बढी गीतहरु गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएकी थिइन । ज्योति मगरले गीत गाउँदा वान्स मोर गुन्जिएको थियो । ढिलो गरी स्टेजमा प्रवेश गरेकी मगरले साँझ सम्म पनि गीत गाएर दर्शकहरुलाई नचाएको आयोजकले जनाएको छ ।

दर्शक थामी नसक्नु भएपछि आफुहरुले महोत्सव भव्य रुपमा सफल भएको संयोजक चुमी मगरले बताए । उक्त दिन सुरक्षाकर्मीलाई समेत सुरक्षाको व्यवस्थापन मिलाउन कठिनाइ भएको थियो । बाक्लो मात्रामा सुरक्षाकर्मीहरु परिचालन गरी शान्ति र सोहाद्रपूर्ण वातावरणमा महोत्सव अवलोकनको व्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

महोत्सवको समापन आइतबार व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले गर्ने बताइएको छ ।