विमला दुवाडी

आज घटस्थापना । नेपालीहरुको महान चाड दसैँ अर्थात विजया दशमी आजदेखि औपचारिक रुपमा शुरु भएको छ ।

विजया दशमी र नवरात्रीको आरम्भको दिन अर्थात् आश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । आजका दिनदेखि नौ दिनसम्म आयु, आरोग्य र ऐश्वर्यका लागि नवदुर्गा भवानीको उपासना, आराधना, पूजापाठ गर्ने गरिन्छ । आजकै दिन दशैंमा लगाउने जमरा राख्ने र घट कलशको स्थापना गर्ने गरिन्छ । विजया दशमी शक्ति उपासनाको पर्व पनि हो । घटस्थापनाको धार्मिक र शास्त्रीय मूल्य–मान्यता ठूलो छ। यस पटक साउनमा अधिकमास परेकाले वडादसैं पछि सरेको हो ।

आज घटस्थापनाको शुभ मुहुर्त ११:४६ बजेको साहित रहेपनि उक्त समयको अभावमा आफ्नो अनुकुलतालाई विशेष मध्यनजर गर्दै आफ्नो कुल र परम्पराअनुसार भक्तिपूर्वक जतिबेलापनि राख्न सकिन्छ ।

जमराको महत्व, कसरी राख्ने ?
आज जमरा छर्ने दिन अर्थात् घटस्थापना । जमरा अर्थात् जौको जीवन, जसलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ अनि नवरात्रीभरिनै हरेक दिन पूजाअर्चना गरिन्छ । आज बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमराराखी घटस्थापना गरेपछि यसपालिको दसैं सुरु हुनेछ । जमरा वास्तवमा जौको अङ्कुरण भएतापनि दशैंको जमरामा जौ लगायत धान, मकै र गहुँका पँहेला, हरिया अंकुुंरित वालाहरू समावेश हुन्छ । माटो, पानी, हावा, फूल, आँकुरासंग जुटेको यो संस्कारले वनस्पतीसंग हामी अत्यन्तै नजिक छौं भन्ने स्पष्ट पार्छ । हिन्दूहरुको महान पर्व दशैंमा जमरा संस्कृती एउटा मौलिक धरोहरको रुपमा रहिआएको छ भने दशमीको दिन लाइने जमरा उमार्नकालागि आजको दिन अर्थात् घटस्थापना महत्वपूर्ण दिन हो ।

कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा या माटोमा जौ छरिन्छ । बिहानै उठेर नुहाइधुवाइ गरी चोखो भएर पूजाकोठामा बालुवा अथवा चोखो माटो राखी जौ र मकैको बीउ उमार्ने गरिन्छ, । त्यही नजिकै थालीमाथि सुनको प्रतिमा राखी नवदुर्गा थाप्दै १० दिनसम्म पूजा गर्ने गरिन्छ । कहीँकहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ । जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको शास्त्रमा उल्लेख छ । यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा लगाउने गरिन्छ । विभिन्न नौ देवीको पूजा अर्चनापश्चात् दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिषेक पनि लिने चलन छ ।

नवरात्रीको शुरुवात आजबाट भयो, अब हरेक विहान देशका सम्पूर्ण नवदुर्गा भगवतीका शक्तिपीठहरुमा श्रद्धालुहरुको भिड हुन्छ । बिहान बिहान जमराको पुजापाठ गर्ने गर्नुपर्दछ अनि दशमीको दिन चामल, रातो अविर, दहि अथवा केरा मिश्रीत अक्षता टीकाले निधार भरेर जमरा ग्रहण गरी आफ्ना मान्यजनहरूबाट प्राप्त आशिषले जीवनमा खुशीयाली प्राप्त गरिन्छ।
जमराको मात्रा अर्थात् कति जमरा छर्ने भन्ने कुराचाँही परिवारको संख्या अनुसार निर्धारण गरिन्छ । संयुक्त परिवारले निकै ठुलो ठाँउमा जमरा छर्ने गर्दछन् भने परिवारको सदस्य संख्या कम भएको परिवारहरूले सानो ठाउँमा जमरा छर्ने कार्य गर्दछन् । यसरी छरिने जमरालाई माटोको चर्तुभूज आकारको बिच भागमा भने माटो या तामाको कलश स्थापना गरेर राखिन्छ । दशमीको दिन भने आवश्यक्ता अनुसार जमरालाई उखेलेर टिका लगाउन चाहिए जति झिक्ने गरिन्छ । यहि जमरा, टिका अनि सद्भावले दशैंको रौनकता बढाउँदछ अनि प्रत्येक मुहारमा दशैंको आकर्षणको वास्तविक चित्र कोर्ने गर्दछ ।

घटस्थापनाको दिनदेखि नवरात्र सुरु हुन्छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाआरधना गर्ने परम्परा छ ।

नवरात्रको पहिलो दिन दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा भन्ने गरिन्छ । असोज २९ गते बिहान ८ बजेर १९ मिनेटमा देवी बिसर्जन गर्ने र १० बजेर २ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टीका लगाउँदा पूर्वतर्फ फर्किएर लगाउनुपर्ने पनि समितिले जनाएको छ ।

दशैंको जमरा राख्ने चलन भने ठाउँ अनुसारको फरक फरक छ । कतै सामूहिक रुपमा दशैंघर स्थापना गरेर, गुठीमा या शक्तिपिठ अनि मठमन्दिरमा जमरा राखिन्छ अथवा व्यक्तिगत रूपमा आफ्नै घरको पूजाकक्षमा या घरको अन्य कुनै सफा ठाउँमा जमरा राख्ने गरिन्छ । जमरा राख्दा त्यस्तो कोठा छनौट गरिन्छ जसमा प्रकाश राम्ररी छिर्न नपाओस्, यसरी प्रकाश नपरेका जमराका वालाहरू पहेँला हुन्छन । घटस्थापनाबाट प्रारम्भ हुने दशैंको नवरात्र भनेको जमराको ९ दिने जीवन र दैनिक अङ्कुरणको प्रक्रिया पनि हो । जौको दाना भित्र रहेको जीवनशक्तिलाई जमराले उजागर गर्दछ र माटोले पोषण गर्दछ