कोरोना भाइरससँग जुधिरहेका भारतका चर्चित गायक एसपी बालासुब्रमण्यमको ७४ वर्षको उमेरमा निधन भएको छ। कोरोनासँग लामो समय जुधिरहेका उनले अन्त्यमा योसँग हारेका थिए।

कोरोनासँग लामो समय जुधिरहेका उनलाई चेन्नईको एक निजी अस्पतालमा भर्ना गरिएको थियो। ५ अगस्टमा उनको कोरोना पोजिटिभ आए पनि १३ सेप्टेम्बरमा उनको रिपोर्ट नेगेटिभ आएको थियो। तर पछि लाइफ सपोर्टमा राखिएसँगै उनको देहान्त भएको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन्।

बालाले बलिउडमा सलमान खानका धेरै फिल्ममा गीतहरु गाएका छन्।

करिब एक दशकसम्‍म उनले सलमान खानका एकसे एक गीत गाए। ‘मैने प्‍यार किया’को ‘दिल दीवाना’को लागि उनलाई फिल्मफेयर बेस्ट मेल प्लेब्‍याक सिंगरको अवार्ड दिइएको थियो।

त्‍यस्तै हम आपके है कौनमा लता मंगेशकरसँग ‘दिदी तेरा देवर दीवाना’ गीत गाएर उनी सबैको मनमा बस्न सफल भएका थिए। बाला बालासुब्रमण्यमको जन्म सन् १९४६, जुन ४ मा नेल्लौर, आन्ध्रप्रदेशमा भएको थियो।

१५ डिसेम्बर सन् १९६६ मा उनले प्लेब्याक सिंगरका रुपमा तेलुगु फिल्म ‘श्री श्री श्री मर्यादा रामन्ना’बाट गायनमा डेब्यू गरेका थिए।