सम्पादकीय

कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप (कोभिशिल्ड) अभियान आजदेखि शुरु हुँदैछ । जसअन्तर्गत आज फागुन २३ गतेदेखि २७ गतेसम्म ज्येष्ठ नागरिकहरुलाई खोप लगाइने छ । दोस्रो चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई खोप लगाउने सरकारको तयारी थियो, तर सबैलाई खोप नपुग्ने भएपछि लक्षित समूह परिवर्तन गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले अन्तिम समयमा आएर बिहीबारमात्रै लक्षित समूह परिवर्तन गरेको हो । फागुन २३ देखि सुरू हुने दोस्रो चरणको खोप अभियानमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई मात्रै खोप लगाइनेछ । यसअघि सरकारले ५५ वर्षमाथिका शिक्षक, सवारी चालक र ज्येष्ठ नागरिकलाई खोप लगाइने बताएको थियो । शिक्षक र सवारी चालकलाई यसपटक रोकिएको हो ।

यसैबीच, स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले फागुन २३ गतेदेखि चैत २ गतेसम्म दुई चरणमा खोप लगाउने जानकारी दिए । फागुन २३ देखि २७ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन गरिने छ । त्यसैगरी फागुन २८ देखि चैत २ गतेसम्म शुुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र म्याग्दे गाउँपालिका मा लगाइने छ ।

स्वास्थ्य कार्यालयले २२५ जना स्वास्थ्यकर्मीहरुलाई खोप कार्यक्रमका लागि विशेष तालिम समेत प्रदान गरिसकेको अधिकारीले बताए । आकस्मिकताका आधारमा स्वास्थ्यकर्मी परिचालन गर्नका लागि विशेष ईएफआई व्यवस्थापन टोलीगठन गरिएको स्वास्थ्य कार्यालय तनहुँका फोकल पर्सन विरेन्द्र चौधरीले जानकारी दिए । तनहुँका ८५ वटा वडाका ९४ ओटा स्वास्थ्य कार्यालयबाट लगाइने कोभिशिल्ड खोप उपलब्धताको आधारमा ५५ वर्ष माथिका उमेर समूहका नागरिक, शिक्षक र सवारीचालकहरुलाई समेत लगाइने चौधरीले जानकारी दिए ।

खोप लगाउन जिल्लामा ९४ वटा खोप केन्द्रको व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिकहरुले घरपायक पर्ने खोप केन्द्र (स्वास्थ्यकेन्द्र वा स्वास्थ्यचौकी)मा पुगेर खोप लगाउन सकिने छ । खोप लगाउन जाँदा आफ्नो परिचय खुल्ने कागजपत्र अनिवार्य लैजानुपर्छ।

यसअघि तनहुँमा स्वास्थ्यकर्मी, जनप्रतिधि, निजामती कर्मचारी, पत्रकार गरि ५ हजार जनालाई खोप लगाइएको र कसैलाई पनि गभ्भिर स्वास्थ्य समस्या नभएको कार्यालयको भनाई छ । यसपटक पनि यो अभियानलाई सफल बनाउन कार्यालयले अनुरोध गरेको छ ।

तसर्थ, कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान सबै मिलेर सफल पारौं ।