व्यासश्री संवाददाता
तनहुँ, असार ५
प्रतिनिधिसभा सदस्य तथा नेकपा तनहुँकी नेतृ कलिना खानले जिल्लाका स्थानीय तहलाई अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरेकी छन् ।
सांसद खानले व्यास नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी र क्वारेन्टाईनमा बसेका व्यक्तिका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएकी छन् । उनले २० पिपीइ (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट), १० थान स्यानिटाइजर तथा एक हजार सर्जिकल मास्क, सर्जिकल क्याप २० थान, सु–कभर २० जोर, चस्मा सेफ्टी १० थान,एन ९५ मास्क ५० थान र पंजा ५०० जोर, उपलब्ध गराएकी हुन् ।

उनका अनुसार जिल्लाका स्वास्थ्य संस्थामा पिपीइ र मास्कको निकै अभाव भएकाले आफूले उपलब्ध गराएको बताइन् । सांसद खानले ती स्वास्थ्य सामग्री व्यास नगरपालिकाको उपप्रमुख मिरा जोशीलाई हस्तान्तरण गरेकी थिइन् । अन्य स्वास्थ्य सामग्रीभन्दा स्वास्थ्यकर्मीका लागि हाल पिपीइ र एन ९५ मास्क महत्वपूर्ण रहेकाले प्राप्त पिपीइले निकै ठूलो मद्दत पुगेको व्यास नगरपालिकाको उपप्रमुख मिरा जोशीले बताईन् ।
सांसद खानले व्यास नगरपालिका भित्र रहेको क्वारेन्टाईनहरुमा समेत अनुगमन गरि त्यहाँको अवस्थाको बारेमा अवलोकन पनि गरिन् । उनले व्यासका तीन जनामा कोरोना संक्रमण देखिए पछि क्वारेन्टाईनमा भएको समस्या र अवस्था बुझ्न नगरपालिका भित्रका तीनवटा क्वारेन्टाईन अनुगमन गरेकी हुन् । उनी व्यास २ स्थित रहेको सत्यवती मा.वि, व्यास १ आदिकवि भानुभक्त क्याम्पस र निर्मल मा.वि.मा रहेका क्वारेन्टाईनमा पुगेकी थिइन् । उनले जिल्ला प्रशासन कार्यालय तनहँुलाई पनि ४ थान पिपिई, एन ९५ मास्क, पंजा सहित स्वास्थ्य साम्रगी वितरण गरेकी छन् । सांसद खानले व्यास ३ मा रहेको दमौली अस्पतालमा पनि सात थान पिपिई उपलब्ध गराएकी छन् । हाल आफूसँग उपलब्ध भएको स्वास्थ्य सामग्री राहतको दोस्रो चरण अन्तर्गत वितरण गरिएको उनले प्रतिनिधि सभा सदस्य खानले बताइन् ।




