व्यासश्री संवाददाता
काठमाण्डौं, असार ५

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि गृहमन्त्रालयले राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ । गृहमन्त्रालयले अत्यावश्यक कामबाहेक सो समयमा हिँडडुल गर्नमा सर्वसाधारणलाई रोक लगाएको हो ।

असार १ गतेदेखि बन्दाबन्दीको अवस्था क्रमिक रुपमा खुकुलो भएको अवस्थामा सुरक्षा सतर्कता अपनाउनको लागि यस्तो मापदण्ड तयार पारिएको गृह मन्त्रालयले जनाएको छ ।

त्यसैगरि, विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा पनि १५ जनाभन्दा बढी आगन्तुक भेला हुन पनि निषेध गरिएको मन्त्रालयले जनाएको छ ।

उत्पादनमूलक क्रियाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माण लगायतमा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने पनि भनिएको छ ।

गृहले कोभिड–१९ संक्रमणको जोखिम कायम नै रहेको भन्दै सबै नागरिकलाई स्वास्थ्य सम्बन्धी उच्च सतर्कता अपनाउन पनि भनेको छ । अत्यावश्यक कामबाहेक आफू रहेको आवास र कार्यस्थलबाट अन्यत्र आवतजावत नगर्न, नगराउन भनेको छ ।

हिँडडुल गर्दा वा कार्यस्थलमा रहँदा न्यूनतम दुई मिटरको सामाजिक दूरी कायम गर्न पनि भनिएको छ । कार्यस्थलमा रहँदा, सेवा प्रवाह गर्दा र आवतजावत गर्दा अनिवार्य रुपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्न पनि गृहले भनेको छ ।

ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती महिला र अशक्त व्यक्तिलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन प्रोत्साहित गर्न पनि गृहमन्त्रालयले आदेश गर्दै सुरक्षा अधिकारीहरुलाई पनि उच्च सावधानी अपनाउन भनिएको छ ।