
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलको हेरफेर गर्ने तयारी गरेका छन् । ओली नेतृत्वमा सरकार बनेदेखि नै स्वयम् प्रधानमन्त्री त कहिले मन्त्रीहरु अनेकौँ विवादमा मुछिएको, र एकपछि अर्को गर्दै आलोचना बढिरहँदा मन्त्रीमण्डलको पुनः गठन गरेर ओली सरकार सत्ता टिकाउने खेलमा लागेको विश्लेषकहरुको भनाई छ । भष्ट्राचार, कोरोना भाइरस, सीमा विवाद लगायतका विषयले मूर्त रुप पाउन नसक्दा सरकार असफल भएको साथै मन्त्रीहरुको काम विवादित भएकाले मन्त्रीपरिषद फेरबदल हुने चर्चा चलेको छ ।
२०७४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा वामपन्थी गठनबन्धले बहुमत प्राप्त गरेपछि प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले संसदीय दलका नेता ओलीको नेतृत्वमा फागुन ३ गते नयाँ सरकार गठन भएको थियो । लामो समयदेखिको राजनीतिक संक्रमणकाल र अस्थिर सरकारको अन्त्य भएको अपेक्षा त्यतिबेला गरिएको थियो ।
र स्थिर सरकार बनेसँगै विकास र समृद्धि तथा जनताको चाहना पूरा हुने अपेक्षा सबैले गरेका थिए । तर सरकारले सोचेजस्तो सफलता हासिल गर्न सकेन । जसका कारण आलोचना र विरोध दिनप्रतिदिन बढिरह्यो । प्रधानमन्त्री ओलीसमेत सरकार असफल भएको ठहर गर्दै केही मन्त्रीहरु हटाएर नयाँलाई मौका दिन बाध्य भए ।
यसबीचमा सरकारलाई सत्तारुढ दल नेकपाकै असहयोग पनि देखियो । विरोध पनि देखियो । पछिल्लो समय फेरी प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न लागेको चर्चा चलेको छ । यद्यपी यस विषयमा औपचारिक पुष्टि भएको छैन । कुनै पात्र फेरिदैमा सुधार नहुने टिकाटिप्पणी भइरहेको छ । नयाँलाई मन्त्री बनाएर काम प्रभावकारी बनाउनुभन्दा पनि आफ्ना मान्छेलाई अवसर दिने प्रवृत्ति हुँदा पात्र फेरिदैमा उपलब्धि नहुने राजनीतिक विश्लेषकहरुको भनाई छ ।
पछिल्लो कोरोना रोकथाममा सरकार असफल भएको आरोप लागेको छ । त्यसैगरी मन्त्रीहरु नै भ्रष्टाचार काण्डमा मुछिनाले पनि प्रधानमन्त्री ओली अप्ठ्यारोमा पर्ने गरेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा गठित उच्च स्तरीय समन्वय समिति समेत खारेज गरेका छ । यति मात्रै होइन पछिल्लो समय सरकारले खरिद गरेको स्वास्थ्य सामाग्रीमा समेत ठुलो आर्थिक अनियमितता भएको आशंका गरिएको छ ।




