व्यासश्री संवाददाता
तनहुँ, असार ५

तनहुँमा हालसम्म ४३ व्यक्ति कोरोना संक्रमित भएको र ८४५ जना क्वारेन्टाइनमा रहेको बताइएको छ ।

जेठ १८ गते पहिलो संक्रमित भेटिएको र १९ दिनको अवधिमा जिल्लामा संक्रमितको संख्या ४३ जना पुगेको छ जसमध्ये २ जना पुरुष निको भएर घर फर्किएका छन् ।

हालसम्म जिल्लाको व्यास नगरपालिकामा ३ जना, ऋषिङ गाउँपालिकामा १० जना, भानु नगरपालिकामा ४ जना, घिरिङ गाउँपालिकामा २३ जना, शुक्लागण्डकी नगरपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैबीच, तनहुँका १० वटै स्थानीय तहले तयार गरेका क्वारेन्टाइनमा विहीबारसम्म ७४ महिला र ७७१ पुरुष गरी ८४५ जना बसेका छन् भने चैत्र महिना यता भारत लगायत अन्य मुलुकबाट १७७ जना महिला र १९७९ जना पुरुष गरी २ हजार १५६ जना नागरिक जिल्ला भित्रिएका छन् ।

त्यस्तै, जिल्लामा १०९ महिला १ हजार २० जना पुरुष गरी १ हजार १२९ जनाको थ्रोट स्वाब नमुना संकलन गरी गरिएको पिसिआर परीक्षणमा ४० महिला र ५२६ जना पुरुष गरी ५७६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

२६ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार जिल्लाका ५२७ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ ।