व्यासश्री संवाददाता
तनहुँ, असार ६

तनहुँमा शनिबार मात्रै २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार ऋषिङ गाउँपालिकामा २१, व्यास नगरपालिकामा २, शुक्लागण्डकी नगरपालिकामा २ जनामा कोरोना सङ्क्रमण भएको छ ।

यसैबीच, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ३८ पुगेको छ । शनिबार बिहान प्रदेशका ७ जिल्लाका ५८ जनामा संक्रमण पुष्टि भएको छ ।

बिहानको विवरण अनुसार तनहुँमा २५, नवलपुरमा १६, बागलुङमा ८, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २ र स्याङ्जामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक प्रयोगशाला पोखरा, जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ती नतिजा आएको निर्देशनालयले जनाएको छ ।

यसैबीच, नवलपुरको बुलिङटारका ११ जनामा, बौदीकाली गापाका १ जनामा, मध्यविन्दु नगरपालिकाका २ जनामा, विनय त्रिवेणी गापाका २ जनामा र देवचुली नपाका १ जनामा कोरोना पुष्टि भएको छ ।

गोरखाको भीमसेन नगरपालिकाका ५ जनामा, म्याग्दीको मालिका गापाका १ जनामा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

कास्कीको मादी गाउँपालिकाकी १९ वर्षे बालिकासहित २ जनामा, स्याङ्जाको पालिका नखुलेका १ पुरुषमा र बागलुङको काठेखोला गापाका ८ जनामा शनिबार बिहान कोरोना देखिएको छ ।

संक्रमितहरु स्थानीयतहको क्वारेन्टाइनमा रहेको र आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।