तनहुँमा एक महिना यता डेंगीको सङ्क्रमण भयावह रुपमा फैलिएको छ । यस अविधमा डेंगीको सङ्क्रमणबाट जिल्लामा एक जनाको मृत्यु भएको छ भने सात सय ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
डेंगीको सङ्क्रमणबाट व्यास नगरपालिका–७ का ५० वर्षीय पुरुषको मृत्यु भएको कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका सात सय ५४ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार देशभर डेंगी सङ्क्रमितको सङ्ख्यामा तीन हजार ८४ जना पुगेको छ । र सबैभन्दा बढी तनहुँमा देखिएको जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स पूजा कुँवरका अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकामा डेंगी सङ्क्रमण पुष्टि भएको छ। अहिलेसम्म भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने सङ्क्रमित फेला परेका छैनन् ।

व्यासमा ५७, शुक्लागण्डकीमा एक सय पाँच, भिमादमा दुई, बन्दीपुरमा ३५ र आँबुखैरेनीमा पाँच सय ५४ जनामा डेंगी पुष्टि भएको छ । जिल्लास्थित सरकारी अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरुमा डेंगी पुष्टि भएको हो । शुक्लागण्डकी नगरपालिकास्थित तनहुँ सेवा अस्पताल, आले मेडिकल हल, युआरएल ल्याब्रोटोरी, खैरेनीटार अस्पताल र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डेंगी परीक्षण गरिएको छ।

गर्मी मौसममा जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकामा डेङ्गी सङ्क्रमित भएका थिए। जिल्लाभर करिब सात हजार सङ्क्रमित रहेकामा कूल सङ्क्रमितको ८० प्रतिशत व्यास नगरपालिकामा थिए । त्यस्तै चार जनाको डेंगी सङ्क्रमणबाट मृत्युसमेत भएको थियो।

व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले विगतका वर्षमा जस्तो समस्या खेप्न नपरोस् भनि समयमै घर वरपर जमेका पानीका खल्डाखुल्डी पुर्ने, झाडी पन्छाउने र नाला सरसफाइ गर्ने कार्यलाई निरन्तरता दिइएको बताए। उनका अनुसार १४ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालय, टोल विकास संस्थालाई परिपत्र गर्दै अभियान सञ्चालनका लागि निर्देशन दिएको छ

डेंगी बिरामी बढ्दै गएपछि यस क्षेत्रमा सरसफाइका साथै स्वास्थ्य परीक्षण गराउन आग्रह गरिएको छ। ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाइएको छ। जनप्रतिनिधि, स्थानीयवासी, शिक्षक, विद्यार्थीलाई सचेत गराई लामखुट्टे रहनसक्ने ठाउँमा पानी जम्ने खाल्डाखुल्डी पुर्ने, झाडी फाँड्ने, टायर हटाउने, गमला व्यवस्थित गर्ने कार्य अगाडि बढाइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिए ।

‘विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रम अगाडि बढाइएको छ’, सूचना अधिकारी कँडेलले भने। विपद् व्यवस्थापनको महामारीलाई ध्यानमा राखी सरोकारवाला निकायबीच बृहत् छलफल गरिएको छ।

छुट्टै वार्डको व्यवस्था

शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा डेंगीका बिरामी बढ्दै गएपछि उपचारका लागि छुट्टै वार्डको व्यवस्था गरिएको केन्द्र प्रमुख डा रामकुमार श्रेष्ठले बताए। उनका अनुसार डेङ्गीका बिरामीको उपचारका लागि १५ शैयाको व्यवस्था गरिएको छ।

केन्द्रको कोभिड अस्पताल भवनमा हाललाई १० बेडको छुट्टै डेंगी वार्डको व्यवस्था गरी सूचारु गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिए । साउन महिनामा मात्रै ९६ जना डेंगीका बिरामी आइसकेको र आउने क्रम बढी रहेकोले छुट्टै वार्डको स्थापना गरिएको डा.श्रेष्ठले बताए ।

इमर्जेन्सीमा आउने डेंगीका बिरामीको चापमा अत्यधिक वृद्धि हुँदा कुनै पनि बिरामी उपचार सेवाबाट वञ्चित नभई सहजरुपमा उपचार सेवा पाउन तथा अन्य रोगका बिरामीहरूको उपचार सेवामा समेत असर नपरोस् भन्ने उद्देश्यले हालै वार्ड सञ्चालन गरिएको श्रेष्ठले जानकारी दिए । डा.श्रेष्ठले भने, ‘‘डेंगीका बिरामी आउने क्रम बढेको छ हाल २४ जना भर्ना भएर बसेका छन् उपचारका लागि सहज होस् भनेर छुट्टै वार्ड सञ्चालन गरेका छौं ।’’
खोज र नष्ट गर अभियान

डेंगी बिरामी बढ्दै गएपछि यस क्षेत्रमा सरसफाइका साथै स्वास्थ्य परीक्षण गराउन आग्रह गरिएको छ । ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाइएको छ । जनप्रतिनिधि, स्थानीयवासी, शिक्षक, विद्यार्थीलाई सचेत गराई लामखुट्टे रहनसक्ने ठाउँमा पानी जम्ने खाल्डाखुल्डी पुर्ने, झाडी फाँड्ने, टायर हटाउने, गमला व्यवस्थित गर्ने कार्य अगाडि बढाइएको छ ।
एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबरहरु आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगीको लक्षण भएको दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले जानकारी दिए ।

पूरा शरीर ढाकिनेगरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् । गर्मी मौसममा जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकामा डेंगी सङ्क्रमित भएका थिए । जिल्लाभर करिब सात हजार सङ्क्रमित रहेकामा कूल सङ्क्रमितको ८० प्रतिशत व्यास नगरपालिकामा थिए । त्यस्तै चार जनाको डेंगी सङ्क्रमणबाट मृत्युसमेत भएको थियो ।

आँबुका चार विद्यालय बन्द

डेंगी सङ्क्रमणको बिरामी बढेपछि नियन्त्रणको प्रयास स्वरूप आँबुखैरेनीका गाउँपालिकाका चार विद्यालयहरू बन्द गरिएको छ । आँबुखैरेनी बजार र आसपासका क्षेत्रमा डेंगीुका बिरामी बढ्दै गएकाले विद्यालय बन्द गरिएको आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।

उपाध्यायका अनुसार वडा नम्बर ३ मा रहेका रामशाह माध्यमिक विद्यालय, मस्र्याङ्दी बालज्योती अङ्ग्रेजी बोडिङ स्कुल, बाल शिक्षा सदन बोर्डिङ स्कुल र नवबुद्ध अङ्ग्रेजी बोर्डिङ स्कुल अर्को सूचना नभए सम्मको लागि बन्द गरिएको हो।

आँबुखैरेनीमा मात्रै ५ सय बढी सङ्क्रमण भएकोले लामखुट्टेले फुल पार्ने ठाउँमा ’खोजौँ र नष्ट गरौँ’ भन्ने नारा सहित टोलटोल, बस्ती बस्तीमा अभियान सञ्चालन गरिएको उपाध्यायले जानकारी दिए । डेंगीको संक्रमण अहिले देशका ७३ जिल्लामा फैलिएको छ ।