व्यासश्री संवाददाता
तनहुँ, असार ५

 

तनहुँमा कोरोना संक्रमण भएका १५ जनालाई व्यास गुफा नजिक रहेको क्रियापुत्री भवनको आइसोलेसन कक्षमा व्यवस्थापन गरिएको छ ।

बिहिबार तनहुँको व्यास नगरपालिकाका ३ जना, ऋषिङ गाउँपालिकाका ७ जना, भानु नगरपालिकाका ४ जना र शुक्लागण्डकी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएपछि तनहुँमा कोरोना संक्रमितको संख्या २६ जना पुगेको छ ।

तनहुँको व्यास नगरपालिकामा पिसिआर रिपोर्ट नै नआई घर पठाईएका एक जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

व्यास नगरपालिकाले व्यास–१ स्थित आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टाइनमा रहेका १ जना र मदर्शा प्रावि व्यास–४ को क्वारेन्टाइनमा बसेका २ जना गरि व्यास नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

क्वारेन्टाइनबाट घर गएका कोरोना संक्रमित व्यक्ति व्यास–१३ का हुन । उनी गत जेठ १० गते भारतबाट आएका थिए ।

बुधबार साँझ पीसीआर रिपोर्ट नआउदै घर जाने ५० जना मध्येका १ जना लाई कोरोना संक्रमण पुष्टि भएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र नेपाली सेना खटाएको जानकारी दिए ।

क्वारेन्टाइनमा बसेका ५० जना लाई व्यास नगरपालिकाले घर जान दिईएकोमा प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले विमती जनाएका छन् ।

क्रियापुत्री भवनमा बनाइएको आइसोलेसन १६ वेड क्षमताको रहेको छ । आइसोलेशनको व्यवस्थापनका लागि २ जना डाक्टर, १ जना स्वास्थ्यकर्मी र १ जना सहयोगी खटाइएको दमौली अस्पतालले जनाएको छ ।