प्रतिनिधी सभा सदस्यको निर्वाचन नजिकिदैं जाँदा तनहुँ क्षेत्र नं १ को चुनावी प्रतिष्पर्धामा रहेका १६ जना उम्मेदबारहरु मध्ये कसले जित्नेछ भन्नेमा जिल्ला र जिल्लाबाहिर निकै चासो र चर्चा बढेको छ । यस समाचारमा विगत र वर्तमानको निर्वाचनको अंकगणित र आँकलनलाई विश्लेषणात्मक रुपमा प्रस्तुत गरिएको छ ।
हिजो के थियो गणित ?

२०७९ को आम निर्वाचनमा रास्वपाका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत ल्याएर चौथो बनेका थिए। नेपाली कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३ सय ६१ मत ल्याएर चुनाव जित्दा नेकपा एमालेका एकबहादुर राना मगरले १९ हजार ९ सय ८१ मत ल्याएका थिए। तर, ६ महिना बित्दा नबित्दै भएको उपनिर्वाचनमा कांग्रेससहित सबै पुराना दललाई जिल्याउँदै रास्वपाले चुनाव जित्यो, त्यो पनि अत्यधिक मत ल्याएर।
उपनिर्वाचनमा भर्खरै कांग्रेस छोडेर रास्वपा छिरेका स्वर्णिम वाग्लेले ३४ हजार ९ सय १९ मत ल्याएर भारी मतान्तरले चुनाव जिते। कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत मात्र ल्याए। आम निर्वाचनमा भन्दा उनले ल्याएको भोट ५ हजारभन्दा कम हो। एमालेको त झन् कन्तबिजोग भयो। प्रहरी सङ्गठनमा राम्रो छवि बनाएका सर्वेन्द्र खनाल एमाले पसेर तनहुँको चुनावी टिकट लिए। उनले अघिल्लो पटक एमालेले ल्याएको भोटभन्दा आधा कम मात्रै पाए। जम्मा ८ हजार ४ सय ८८ मत पाएका उनी लज्जास्पद बहिर्गमनमा परे।

कसको बल कति ?

नेपाली कांग्रेस र नेकपा एमालेको विगतदेखि नै हर वडामा आफ्नै सङ्गठन छ। उनीहरू सङ्गठनमा विश्वास गर्छन् र चुनाव परिचालन पनि सङ्गठनबाटै हुन्छ। त्यसो त, रास्वपाले पनि क्षेत्र नम्बर १ का ४२ वटै वडामा सङ्गठन विस्तार गरिसकेको छ। जिल्ला सभापति विश्व बास्तोलाका अनुसार केही वडामा अधिवेशन भने हुन बाँकी छ। सङ्गठनका हिसाबले आफूहरू चुस्त भइसकेको उनको दाबी छ। तनहुँ १ मा अब हुने निर्वाचनमा रास्वपालाई लोकप्रियता जोगाइराख्ने चुनौती छ भने पुराना दललाई विरासत फर्काउने अवसर छ।

जोशी समूह मूल फ्याक्टर

मूल कांग्रेससँग बिच्किएको एउटा बलियो शक्ति छ तनहुँमा– ‘स्वतन्त्र कांग्रेस अभियान’। निर्वाचनपिच्छे कांग्रेस बाहेकका शक्तिसँग तालमेल वा एक्लै चुनाव लड्ने यो समूह अहिले आफैँ मैदानमा उत्रिएको छ। गत स्थानीय निर्वाचनमा एमालेसँग मिलेर जोशी समूहले व्यासको मेयरमा उम्मेदवारी दियो, तर पराजित भयो।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोविन्दराज जोशी आफैँ उम्मेदवार बने। आम निर्वाचन २०७९ मा रामचन्द्रसँगै चुनाव लडेका जोशी स्वयंले ६ हजार ८ सय ८६ मत ल्याएर तेस्रो भएका थिए। उपनिर्वाचनमा उक्त समूहले स्वर्णिमलाई सार्वजनिक रूपमै अपिल गरेर सघाएको थियो। जानकारहरू जोशी समूहलाई क्षेत्र नम्बर १ मा ५ हजारभन्दा बढी मत ‘होल्ड’ गर्ने समूहका रूपमा चिन्छन्। जोशी समूहबाट अहिले जोशीका छोरा दीपकराज उम्मेदवारका रूपमा प्रस्तुत भएका छन्। उक्त भोट जोशी समूहमे रहँदा उपनिर्वाचनमा रास्वपाका स्वर्णिमले पाएको मत केही घट्न सक्छ।
कांग्रेस र नेकपाको आफ्नै उम्मेदवार

गठबन्धनका कारण लामो समयदेखि तनहुँका पार्टीगत नेता कार्यकर्ताहरूले आफ्नै पार्टीको चुनाव चिह्नमा मत दिन पाएका थिएनन्। कतै माओवादीले कांग्रेसलाई मत दिनुपर्ने, कतै कांग्रेसले माओवादीलाई मतदान गर्नुपर्ने निरन्तरता अहिले भत्किएको छ। हरेक पार्टी आफ्नै चुनाव चिह्नबाट एकल प्रतिस्पर्धामा छन्।

तनहुँको आँबुखैरेनी र बन्दीपुर लगायत पालिका तत्कालीन माओवादीको प्रभाव क्षेत्र हो। आँबुखैरेनीमा माओवादीले गठबन्धन बिना चुनाव जितेको थियो। देवघाटमा पनि माओवादीका उपाध्यक्ष जितेका छन्। भानुमा समेत माओवादीको प्रभाव छ। बन्दीपुरमा २०७४ को चुनाव माओवादीले नै जितेको हो। गठबन्धन र असन्तुष्टिका कारण माओवादीका धेरै मतदाताले ‘फ्लोटिङ भोट’को रूपमा उपनिर्वाचनमा रास्वपालाई मत दिएका थिए। अहिले उनीहरूका आफ्नै उम्मेदवार हुँदा हिजो वाग्लेले पाएको बोनस भोटको सुविधा अब नहुन सक्छ। त्यसो त, कांग्रेसकै गढबाट पनि रास्वपाले सम्मानजनक भोट पाएको थियो।

एमालेको स्थानीय उम्मेदवार

तनहुँको राजनीतिमा अर्को फ्याक्टर हो, एमाले। २०७४ को चुनावमा कांग्रेस नेता रामचन्द्र पौडेललाई हराएर एमालेका किसान श्रेष्ठले जितेको क्षेत्र हो तनहुँ १। त्यसपछि पार्टी विभाजनले ठूलै असर गरेको थियो।
तनहुँको राजनीतिमा राम्रो प्रभाव राख्ने किसान एकीकृत समाजवादीबाट अहिले एमालेमै प्रवेश गरेका छन्। उनी उम्मेदवार नहुँदा पनि उनका समर्थकले एमालेमा मत दिन सक्छन्। उपनिर्वाचनमा तनहुँकै भए पनि सर्वेन्द्र खनाललाई स्थानीय स्वीकार्न एमालेपङ्क्ति तयार थिएन। एमालेले यहाँ राष्ट्रिय सभा सदस्यबाट राजीनामा गराएर भगवती न्यौपानेलाई टिकट दिएको छ। उनी भानुका स्थायी बासिन्दा हुन्। जसका कारणले उनको जिल्लामा प्रभाव राम्रै छ। उपनिर्वाचनमा भन्दा उनले निकै धेरै मत बढाउने अनुमान गरेका छन्।

स्वर्णिममाथि गाउँ नफर्केको आरोप

चुनावका बेला ‘टुरिस्ट’ उम्मेदवारका रूपमा विपक्षीले प्रहार गरेका स्वर्णिमलाई अहिले पनि विपक्षीले जितेपछि गाउँ नफर्केको भाष्य बनाइरहेका छन्। जिल्ला सभापति बास्तोला भन्छन्, ‘अरु कुनै प्रहार गर्ने विषय नभेटेपछि गाउँ नआएको भनेर भिडियोहरू बनाइरहेका छन्। यो गलत विषय हो। उहाँ चुनावपछि १ सय १० पटक जिल्ला आउनुभएको रेकर्ड छ। बाँकी सबै गाउँ त कुन नेता कहिले पुगेको थियो र ?’ विपक्षी उम्मेदवारहरूले यही एजेन्डालाई चुनावी हतियार बनाइरहेका छन्।

भट्टराईलाई सहानुभूति

नेपालको राजनीतिमा सहानुभूतिले ठूलो अर्थ राख्छ। गण्डकीकै धेरै निर्वाचन क्षेत्र हेर्ने हो भने अघिल्लो पटक चुनाव हारेका उम्मेदवारले पछिल्लो पटक जित्ने गरेका छन्। स्थानीय तहमा पनि यस्ता धेरै उदाहरण छन्। अपवाद बाहेक एकपटक चुनाव जितेको व्यक्ति दोहो¥याएर उठ्दा मतदाताले उतिसारो पत्याउँदैनन्। कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई अघिल्लो हारको सहानुभूति अहिले बढ्न सक्छ। जे होस्, तनहुँको निर्वाचनमा स्वर्णिम केही ‘डिफेन्सिभ’ छन् भने भट्टराई ‘अफेन्सिभ’ छन्। निर्वाचनमा पराजयपछि पनि भट्टराई गाउँगाउँ गएर आफ्नो अभियानमा जोडिएका थिए।

स्वर्णिमलाई भावी अर्थमन्त्रीका रूपमा प्रस्तुत

रास्वपाले स्वर्णिम वाग्लेलाई भावी अर्थमन्त्रीका रूपमा अघि सार्ने सम्भावना छ। अघिल्लो चुनावमा विश्वकै उत्कृष्ट अर्थशास्त्री भनेर मत मागेका यहाँका रास्वपा नेता कार्यकर्ताले अब देशको भावी अर्थमन्त्री बनाउन भन्दै भोट मागिरहेका छन्। स्वर्णिमको चुनावी सभालाई सम्बोधन गर्न रास्वपाले प्रधानमन्त्रीका रूपमा अघि सारेको बालेन्द्र शाह (बालेन) पनि दमौली आउने कार्यक्रम छ। यो सम्बोधनपछि पनि युवाहरूको भोट थपिने रास्वपाको आकलन छ। केही प्रतिशत बाहेक अधिकांश मतदाता सचेत भएकाले आफ्नो मत कहाँ दिने भनेर पूर्वतयारी गरिसकेको अनुमान छ । तसर्थ, यसपाली तनहुँ १ को नतिजामा सबैको नजर केन्द्रित छ। जसले गर्दा प्रतिस्पर्धा पनि रोचक हुने अनुमान गरिएको छ।