
व्यासश्री संवाददाता
पोखरा, असार ५
गण्डकी प्रदेशमा शुक्रबारमात्रै ५६ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङमा १०, तनहुँमा १७ र पर्वतमा पाँचजना कोरोना संक्रमित थपिएका छन् । बागलुङ नगरपालिकामा ५ जना पुरूष, ढोरपाटन नगरपालिकामा ४ जना पुरूष र बागलुङकै पालिका नखुलेकी एक महिलामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
तनहुँको घिरिङ नगरपालिकामा मात्र १४ जना पुरूष र ३ जना महिलामा कोरोना संक्रमण देखिएको छ । पर्वतको कुश्मा नगरपालिकामा ३ जना पुरूष र २ महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सबैलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । हालसम्म गण्डकीमा कोरोना संक्रमितको संख्या ३ सय ८० पुगेको छ । आजमात्र गण्डकी प्रदेशमा थप ५६ जना कोरोना संक्रमित थपिएका छन् ।
आज बिहानमात्र गण्डकीमा ४ जिल्लामा २४ जना संक्रमित भेटिएका थिए । नवलपुरमा २, बागलुङमा १४, कास्कीमा ६ र स्याङ्जामा २ जनामा आज बिहानै संक्रमण पुष्टि भएको थियो ।




