गण्डकी प्रदेशमा आइतबार दिउसो सम्ममा कोरोना भाइरस संक्रमितको संख्या ५२३ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार पाँच जिल्लामा आइतबार दिउँसो नयाँ १९ संक्रमित फेला परेका छन् । कास्कीमा २, स्याङ्जामा १०, नवलपुरमा १, बाग्लुङमा ५, र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकाका ४० वर्षीय पुरुष र मादी गाउँपालिकाका १९ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै स्याङ्जाको चापाकोट नगरपालिकाका ५ जना पुरुष र १ जना महिलामा त्यस्तै गल्याङ नगरपालिकाकाको ३ जना पुरुष र १ जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

त्यस्तै नवलपुरको गैडाकोट नगरपालिकाका १८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी बाग्लुङको गल्कोट नगरपालिकामा ३ जना पुरुष, बडिगाड गाउँपालिकामा १ जना पुरुष र जैमिनी नगरपालिकामा १ जना कोरोना संक्रमित फेला परेका छन् ।

त्यस्तै तनहुँको व्यास नगरपालिकाका ४७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यो संगै तनहुँमा संक्रमितको संख्या ७२ जना पुगेको छ ।

उनीहरु सबैलाई सम्बन्धित जिल्लामा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

आइतबार बिहान मात्रै गण्डकी प्रदेशमा १६ जना कोरोना संक्रमित थपिएका थिए ।