बसन्त कंडेल

पृष्ठभूमि

तनहुँबासीका लागि वेदव्यास र भानुभक्त आचार्यको परिचय नौलो होइन् । यी दुई महापुरुषहरुकै परिचयबाट सिंगो तनहुँ जिल्लाले आफ्नो परिचयलाई फराकिलो बनाएको छ । संस्कृत वाङ्मय र नेपाली साहित्य जगतका यी दुई नक्षत्रहरुको जन्म तनहुँमा हुनुले जिल्लाबासीको नाताले हाम्रो छाती चौडा भएको छ, गर्वले फुलेको छ । तर बेदव्यास र भानुभक्त तनहुँमा जन्मेका हुन् भनेर गौरव गर्नु बाहेक अन्य खासै उल्लेखनीय कामहरु यस भूमिमा भएका छैनन् ।

नेपालको मध्यविन्दुमा अवस्थित तनहुँ जिल्ला धार्मिक, ऐतिहासिक, सांस्कृतिक, साहित्यिक, र प्राकृतिक दृष्टिले उर्वर भूमि हो । तपोसाधना, ज्ञानसाधना, साहित्यसाधना काव्यसाधना र प्राकृतिक सौन्दर्यसाधनाको दृष्टिले तनहुँ नेपालकै महत्वपूर्ण जिल्लाको रुपमा परिचित छ । विश्वप्रसिद्ध धार्मिक साहित्यका रचनाकार, पूर्वीय साहित्य र दर्शनका प्रणेता महर्षि बेदव्यास साथै नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म तनहुँमा हुनुले पनि जिल्लाबासी र राष्ट्रबासी गौरवान्वित हुन स्वभाविक हो ।

वेदव्यास हिन्दु धर्मालम्बीहरुका प्रथम र असली गुरु एवं साक्षात् भगवानका रुपमा परिचित छन् भने भानुभक्त आचार्य नेपाली साहित्यफाँटका उज्जवल नक्षत्र, राष्ट्रका आदिकवि एवं राष्ट्रिय विभूतीका रुपमा । दमौली स्थित पवित्र नदी सेती र मादीको संगमस्थलमा भगवान श्रीकृष्णको २८ औं अवतारका रुपमा जन्मिएका वेदव्यास र १८७१ असार २९ गते चुँदीरम्घामा जन्मिएका भानुभक्त दुबैजना तनहुँबासीका लागि भाग्यविधाता र परमपिता समान छन् । वेदव्यासले सेतीमादी नदीको संगमस्थलमा रहेको गुफामा बसेर चारवेद, अठ्ठार पुराण, भागवत गीता र संसारको सबैभन्दा चर्चित महाकाव्य महाभारतको रचना गरेर भाषा, साहित्य, हिन्दु वैदिक दर्शन र धर्मको क्षेत्रमा अतुलनीय योगदान गरे । अनि, संस्कृत र नेपाली साहित्यका बिद्धान भानुभक्तले काव्य रचनाबाटै लोकहित गर्ने र कीर्ति राख्ने निर्णय गरि संस्कृत भाषामा लेखिएको वाल्मीकी रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरे, जुन रचनाले प्रत्येक नेपालीको मन छोयो र घरघरमा रामायणका श्लोकहरु घन्किन थाल्यो । भानुभक्तले रामायणका साथै भक्तमाला, अमरकोष, प्रश्नोत्तरी, बधुशिक्षा, रामगीता लगायतका अमर कृतिहरु र कैयौं फुटकर रचना गरेर नेपाली साहित्यको भण्डार फराकिलो पारे ।

तर विडम्वना, यी दुइ महापुरुषहरु जन्मिएका र उनका ज्ञान र योगदानले सिंचित यो पावन तनहुँभूमि अझैसम्म पनि ओझेल र उपेक्षामा परेको छ । पवित्र व्यासभूमि र भानुजन्मस्थल चुँदीरम्घा बिर्साइको पीडामा छट्पटिरहेका छन्, सिंगो तनहुँबासी मुकदर्शक अनि सम्बन्धित निकायहरु मौन बनेका छन् ।

उपेक्षामा व्यासभूमि र भानुजन्मस्थल

हालको दमौली स्थित पवित्र व्यासभूमिमा वेदव्यास, उनका पिता पराशर र आमा सत्यवतीका जीवनसंग सम्बन्धित अवशेष र प्रमाणहरुमध्ये व्यास–पराशर गुफा, जयशिला, व्यास कुण्ड, शिवकुण्ड, सत्यवतीको प्रशवशिला, राजा उपरीचरले पालेको बाजको शीला, सत्यवतीको आमाको शीला लगायतका पुरातात्विक महत्वका चीजहरु अझै विधमान छन् । त्यस्तै, विभिन्न समयमा निर्माण गरिएका यज्ञमण्डप, साधुसन्त आश्रम, पाटीपौवा, बरपीपल चौतारी, शिव पाञ्चायन मन्दिर, हनुमान मन्दिर, वेदव्यास अध्ययन एवं वैदिक पुस्तकालय, सत्सङ्ग भवन, जेष्ठ नागरिक मिलन केन्द्र, बृद्धाश्रम, गौशाला लगायतका पक्षहरु निर्माण गरिएका छन् । यसका साथै व्यास क्षेत्रको विकासका लागि व्यास क्षेत्र बिकास कोष, व्यास क्षेत्र शिवपाञ्चायन मन्दिर संरक्षण समिति, व्यास क्षेत्र परिक्रमा समिति लगायतका संस्थाहरु गठन भएका छन् । व्यासका २८ अवतारहरुको मूर्ति निर्माण गरेर व्यास गुफा परिसरमा स्थापना गरिएका छन् । तर, यी पक्षहरुले मात्र व्यासभूमिको समग्र परिचय, महत्व र गरिमालाई विश्वसामु चिनाउन मुस्किल पर्दछ ।

व्यास क्षेत्रमा रहेको पञ्चमन्दिर ,त्यसको परिसर र त्यहाँ निर्माण भएका भौतिक पूर्वाधारहरुले जगहसाईको काम गरेको छ । बर्षैभरि नै विभिन्न धार्मिक गतिविधीहरु आयोजना हुने सो क्षेत्रको विकास र पूर्वाधार निर्माणका लागि कसैको पनि ध्यान पुग्न सकेको छैन् । व्यास गुफामा हुने विभिन्न गतिविधी र धार्मिक कार्यहरुको पनि पारदर्शिता र प्रचारप्रसार हुन सकेको छैन् भने व्यास गुफा र शिव पाञ्चायन मन्दिरमा हुने दानदातव्यको पनि लेखाजोखा छैन । व्यास जन्मभूमिको बृहत्तर विकासका लागि भनेर लगाइएका महायज्ञ र धार्मिक अनुष्ठानहरुले खासै प्रतिफल दिन सकेको छैन र १०८ फीट अग्लो बेदव्यासको मूर्ति निर्माण कार्य कागज र नक्सामै सीमित भएको छ ।

बेदव्यासको जन्मस्थलमा जुन खालको साहित्यिक र धार्मिक गतिविधीहरु हुनुपर्ने हो त्यो पटक्कै भएको छैन । साहित्यिक र धार्मिक तीर्थस्थलको केन्द्र हुनुपर्ने दमौली अहिले जुवातास, लागुपदार्थ र यौनधन्दाको केन्द्रमा परिणत भएको छ । व्यास र पराशर क्षेत्रमा रहेका ऐतिहासिक र पुरातात्विक महत्वका चीजहरु र अन्य भौतिक संरचना अहिले खण्डहर र भग्नावशेषमा परिणत हुन थालेका छन् तर संरक्षण गर्नेमा सबै मौन छन् । व्यास गुफाको भ्रमण र अबलोकन गर्नका लागि दैनिक केही आन्तरिक र वाह्य पर्यटकहरु आउने गरेपनि उचित प्रचारप्रसारको अभावमा यो पवित्र भूमि ओझेलमा परेको छ । यसकारण पनि भूमिको प्राचीन, धार्मिक, पुरातात्विक र साँस्कृतिक महत्व लोप हुने अवस्थामा पुगेको देखिन्छ ।

त्यसैगरि, नेपाली भाषा साहित्यको फाँटमा बौद्धिक उर्जा प्रदान गन कवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घा पनि बिर्साइ र उपेक्षाको पीडा रोइरहेको छ । विषम परिस्थितिमा रहेर पनि अनेक सुन्दर मौलिक रचनाहरुको सृजनाद्धारा नेपाली भाषीहरुलाई एकीकरण गरेका उनै कवि भानुभक्तको जन्मस्थल अझै पनि उजाड र उराठ छ । जसरी पृथ्वीनारायण शाहले साना राज्यहरुमा विश्रृङ्खलित नेपाललाई एकीकरण अभियानद्धारा एउटै सुत्रमा आवद्ध गरे त्यसरी नेपाली समाजको भाषिक, साहित्यिक,साँस्कृतिक र सामाजिक एकीकरण गरेर राष्ट्र र समाजलाई एउटै मालामा गाँस्ने सुयोग्य कार्य भानुभक्त आचार्यले गरेका थिए । तर ती योगदानलाई उनैका वंशज, गाउँले, जिल्लाबासी र देशबासीले चटक्कै भूलेका छन् । प्राचीन संस्कृत वाङ्मय साहित्यको ऐतिहासिक मोडमा उभिंदा संस्कृत साहित्यमा वाल्मिकीको जुन स्थान छ, हिन्दी साहित्यमा सन्त तुल्सीदासको जो गौरवगाथा छ, त्यस्तै नेपाली भाषा, साहित्य र साँस्कृतिक उर्वरताभित्र भानुभक्तको त्यही गौरवशाली स्थान छ । राष्ट्रिय विभूति, एकताका महानायक र जातीय प्रतीकका प्रतिमूर्ति मानिएका तीनै भानुभक्तको योगदान र जन्मभूमिको यतिसम्मको उपेक्षा गरिनु तनहुँ र नेपालकै लागि शर्मको विषय हो ।

भानुभक्तको योगदानबाट नेपाली साहित्यको भण्डार रसिलो, स्वादिलो खँदिलो हुन पुगेको हो । भानुभक्तकै प्रतिभाको जगमा नेपाली भाषा र साहित्य आज यतिसम्म मौलाउन सकेको हो । भगवान रामचन्द्रको पवित्र चरित्र व्याख्यान भएको अध्यात्म रामायणलाई सरल नेपाली भाषामा श्लोकवद्ध गरी भानुभक्तले नेपालीहरुका घरदेखि झुपडीहरुमा रामचरित्रको धार्मिक सन्देश गायनको रुपमा पुरयाए । यसभन्दा अगाडि नेपाली भाषामा कुनै त्यस्तो प्रख्यात ग्रन्थ रचना भएको थिएन् । भानुभक्तको यही योगदान र कृतिलाई कदर गर्दै नेपालमा वि.स. २००९ सालदेखि भानुजयन्ती मनाउन थालिएको हो । उनलाई नेपालमा आदिकवि, राष्ट्रिय विभूति,जातिय कवि लगायतका नामले चिनिन्छ । तर तिनै महान व्यक्ति जन्मेको जन्मस्थल अहिले अलपत्र र सुनसान छ । हरेक बर्ष असार २९ गते उनको सम्झनामा भानुजयन्ती मनाइएतापनि उनी जन्मेको गाउँ चुँदीरम्घा पुग्ने जो सुकै नेपालीको मन पनि कुडिन्छ, त्यही भूमि अहिले बिर्साइको पीडा र बिकासको पर्खाइमा छ ।

मुकदर्शक जिल्लाबासी, मौन निकाय

विडम्बना, वेदव्यास र व्यासभूमिको नामलाई भँजाएर जिल्लाका कैयौं टाठाबाठाहरु र संघसंस्थाहरुले बर्षौदेखि लिनुसम्म व्यक्तिगत, पारिवारिक र संस्थागत फाइदा लिइरहेका देखिन्छन् । वेदव्यासलाई मागी खाने भाँडो र उक्लने भर्याङ बनाएर जिल्लाका नेतादेखि कार्यकर्ता, कलाकार देखि साहित्यकारहरु सम्म मौलाएका छन्, मोटाएका छन्, तर व्यासभूमिको समग्र संरक्षण, सम्वर्धन, विकास र प्रचारप्रसारमा उनीहरु मुकदर्शक र मौन छन् । पूर्वीय साहित्य र दर्शनका प्रणेता वेदव्यासकै जन्मथलो र कर्मथलो भएकै कारणबाट मात्र दमौलीको परिचय आज व्यासभूमिका रुपमा सार्वजनिक रुपमा आएको हो । यदि वेदव्यास दमौलीमा नजन्मेको भए यो ठाउँ आज यतिसम्म पनि परिचित हुने थिएन । यस कुरालाई पनि दमौलीबासीले सम्झनु जरुरी छ । वेदव्यासकै सम्मानमा जिल्लाकै पहिलो नगरपालिकाको नामाकरण गरिएको छ भने अन्य दर्जनौं संघसंस्थाले व्यासको नाम जोडेर व्यवसायिक र पेशागत फाइदा लिएका छन् । तर नगरपालिका र संस्थाहरुको नामाकरण गर्नु बाहेक अन्य विशेष काम हालसम्म भएको छैन् ।

जिल्लाका नेताहरु देश र राज्य निकायको उच्च ओहोदा र शक्तिमा पुग्दा पनि व्यास क्षेत्रले काँचुली फेर्न सकेन । यति सम्मकी व्यास क्षेत्र विकास समितिलाई सरकारी मान्यता दिलाएर राज्यबाट बर्षेनी केही सहयोग पाईने सम्भावना हुँदा पनि त्यसको पहलकदमी हुन सकेन् । राज्यले धार्मिक, साँस्कृतिक, पर्यटकीय र ऐतिहासिक सम्भावनाका क्षेत्रहरुको पहिचान गरेर त्यसको विकास र विस्तारमा लाग्ने प्रतिवद्धता जनाएपनि त्यसतर्फ खासै चासो दिन सकेको छैन् । राज्य निकायबाट पनि यस क्षेत्रले सधैं उपेक्षा व्यर्होनु परेको छ । वेदव्यासको जन्मभूमि र तपोभूभि दमौलीलाई साहित्यिक र धार्मिक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावनाहरु रहेका छन् । स्थानीय जनता, सरकार र राज्य निकायबाटै नीति र योजनाहरुको निर्माण गरेर ठोस कदमहरु चाल्न सकेमा यो क्षेत्र विश्वकै एक उत्कृष्ट मध्येको साहित्यिक, धार्मिक र पर्यटकीय गन्तव्य बन्न सक्नेमा दुईमत छैन् ।

यसैगरि, भानुभक्तको जन्मस्थल चुँदीरम्घा पनि विकासका दृष्टिले निकै पछि परेको छ । कैयौं चुँदीबासीहरु देशको उच्च ओहोदा, पद, सत्ता र शक्तिमा पुगेका छन्, तर उनीहरु आफ्नो निजी स्वार्थभन्दा माथि उठ्न सकेका छैनन्, दुर्भाग्य चुँदीरम्घाको सेरोफेरोमा हालसम्म अपेक्षाकृत रुपमा विकास भएको छैन् । विगत ३२ बर्ष देखि निर्माणाधीन डुम्रे–चन्द्रावती मोटरमार्ग आजसम्म पनि अधुरै छ । चुँदीरम्घाको प्राकृतिक सौन्दर्य दिनप्रतिदिन नष्ट भैरहेको छ । भानुभक्त सम्बन्धी विवाद, महत्व,र गरिमाको निरन्तर घट्दो क्रमभित्र नेपाली भाषाको अवस्था दयनीय बनेको छ । बढ्दो विदेशी संस्कृतिको हस्तक्षेपका कारण चुँदीरम्घा र साहित्य र भानुभक्तको कुरा उठाउनु बेकार भएको छ । चुँदीरम्घामा आजकल काव्य लेख्ने कलमजीविहरु छैनन्, बिधार्थीहरुले आफ्नै जिजुबाजे भानुभक्तलाई कमै चिन्ने गर्छन् र उनका योगदान, कृति र श्लोकहरु बारे कमैलाई मात्र जानकारी छ । भानुभक्तको जन्मघर जुन साहित्यिक तीर्थस्थलको केन्द्र हुनुपर्ने हो, त्यो नै अहिले खण्डहर र भग्नावशेषमा परिणत भएको छ । सुनसान डाँडाको सालघारी बीचमा रहेको उनको खण्डहर घर देख्ने जो सुकैको मन कल्पिन्छ । चुँदीफाँटबाट माथिको डाँडामा सालघारी बीचमा रहेको उनको खण्डहर घरले नेपाल सरकार, साहित्यपे्रमी र स्थानीय बासिन्दालाई धिक्कारीरहेको छ ।

चुँदीरम्घामा आदिकविको सम्झना र स्मृतिमा बनाइएका दर्जनौ सम्पदाहरु संरक्षणको अभावमा अलपत्र परेका छन् । उनकै स्मृतिमा भानु गाविस हुँदै हाल भानु नगरपालिकाको नामाकरण पनि गरिएको छ । यस क्षेत्रका विधालय, क्याम्पस देखि आमा समुह, युवा क्लव, र गैरसरकारी संस्थाहरुले पनि भानुकै नाम प्रयोग गरेर अनुचित फाईदा लिइरहेका छन् । चुँदीरम्घामा हालसम्म भानु स्मारक संग्रहालय, भानु देवकोटा प्रतिमा स्थल, भानु संस्कृत मावि, भानु संस्कृत क्याम्पस, भानु यूवा क्लव, भानु आमा समूह, भानु मार्ग, भानु जन्मस्थल विकास समिति, भानु शसस्त्र प्रहरी गण लगायतका करिव २ दर्जन बढी सघसंस्था छन् । तर ती संघसंस्थाले भानुको जन्मस्थलमा उल्लेख्य काम गरेका छैनन् । यसैगरि घाँसीकुवामा रहेको भानुघाँसी स्मारक पार्क लगायत अन्य पूर्वाधारहरुको अवस्था पनि उस्तै दयनीय छन् । भानुको नामको प्रयोग वा दुरुपयोग गरेर आफ्नै स्वार्थ पूरा गर्नमा सबै तल्लीन देखिन्छन, तर भानुभक्तको परिचय र योगदानलाई जीवन्त राख्न कसैको सोंच र ध्यान पुगेको छैन् । यतिसम्मकी, असार २९ गते आयोजना हुने भानु जयन्ति कार्यक्रममा आयोजकरुले कवि, कलाकार, साहित्यकारहरुलाई भन्दा पनि बिभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ताहरुको जमघट गराएर भाषण गर्न लगाउँछन् र ताली बजाउँछन् । सरकार परिवर्तनसंगै हुने भानु जन्मस्थल विकास समितिको कार्यकारी निर्देशक परिवर्तन हुने प्रचलनले सो समिति सरकारको भर्तीकेन्द्रमै सीमित बन्न पुगेको छ । व्यासभूमि र भानुजन्मस्थलको वृहत संरक्षण, संम्वर्धन, विकास र प्रचारप्रचार गरेर यी क्षेत्रहरुको धार्मिक, साहित्यिक र सांस्कृतिक महत्वलाई उजागर गर्न सकेमा समग्र तनहुँको विकास गर्न सकिने प्रशस्त सम्भावनाहरु रहेका छन् । व्यासभूमिमा व्यासक्षेत्र विकास समिति र चुँदीरम्घामा भानुजन्मस्थल विकास समिति गठन गरिएका छन् तर ती समितिले हालसम्म उल्लेखनीय काम गर्न सकेका छैनन् । समिति गठनका बेलामा निकै रस्साकस्सी हुने र त्यसपछि पुरै निष्क्रिय जस्तै हुने हँुदा समितिको औचित्य खासै देखिएको छैन् ।

दमौलीबासी जस्तै चुँदीरम्घाका मानिसहरु पनि भानुभक्तको नाम र योगदानलाई भँजाएर खान पल्केका छन् । भानुभक्तकै जन्मथलो र कर्मथलो भएकै कारणबाट मात्र चुँदीरम्घाको परिचय आज सार्वजनिक भएको हो, चुँदीबासीले पनि यो कुरा मनन गर्नु जरुरी छ । आदिकविको अलपत्र घर भाषा, संस्कृति र ऐतिहासिक सम्पदाप्रति नेपाली समाजको चरम उदासीनताको कुरुप प्रतीक हो । नेपाली भाषाका यी महत्वपूर्ण कविको ऐतिहासिक घरको बेहाल बास्तवमै राष्ट्रिय लज्जाको विषय हो । भानुभक्तको घर नेपालीको भाषिक र साँस्कृतिक सम्पदा हो । यसको संरक्षणको मूल दायित्व सरकारकै हो भन्नेमा शंका छैन्, तर त्यो स्थानीय बासिन्दा र आदिकविका बंशजको पनि कर्तव्य हो । भानुभक्तको नामसंग जोडेर आफ्नो स्थानमा गौरव गर्ने स्थानीय बासिन्दाले भानुभक्तको घरको जीर्णोद्धार र पुनः निर्माण गरेर एउटा ज्वलन्त उदाहरण प्रस्तुत गर्न सक्थे । तर सबै कुरामा सरकारकै मुख ताक्ने प्रवृति र आँफु पन्छिने बानी चुँदीबासीमा पनि देखिएको छ । तर, भानुभक्तका सन्ततिहरुले भानुभक्त राष्ट्रका निधी भएकाले यसको जिम्मा राष्ट्रको भएको जोड दिंदै आएका छन् ।

भानुभक्त संसारभरिका नेपालीभाषीका लागि एउटा प्रतिकका रुपमा स्थापित छन् । दार्जिलिङ देखि लण्डन र वासिङटन सम्म नेपालीले उत्साहपूर्वक भानुजयन्ती मनाउछन् । यस अर्थमा पनि उनको घर स्वभाविक रुपमा राष्टिय संग्रहको सूचीमा पर्छ, तर दुखको कुरा त्यहीघर आज खण्डहर भग्नावशेषमा परिणत भएको छ । अंग्रेजहरुले पन्ध्रौं शताव्दीका कवि एवं नाटककार सेक्सपियरको घरलाई पुरानै स्वरुपमा सुरक्षित राखेका छन् । त्यो घर अहिले अन्तर्राष्ट्रिय संग्रहालय र संसारभरिका साहित्यप्रेमीका लागि तीर्थाटन भएको छ । त्यहाँ सेक्सपियरको जीवनका सम्भव भएसम्मका सबै अभिलेखहरु सुरक्षित राखिएका छन् । र त्यो संग्रहालयबाट बेलायतले सांस्कृतिक, भाषिक र आर्थिक लाभ समेत प्राप्त गरेको छ । अरु देशमा पनि प्रतिष्ठित साहित्यकारहरुका स्मृतिलाई यसैगरि संरक्षण गरिएको छ । तर नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्तको घरको यो बेहाल स्थितिले सबैलाई गिज्याइरहेको छ । बास्तबमा, यो समग्रमा नेपाली भाषा र साहित्यप्रतिको नै उपहास हो ।

उपसंहार

महर्षि वेदव्यास र आदिकवि भानुभक्त आचार्य नेपाली जनजीवनमा युगयुगान्तरसम्म भाषिक र साहित्य आकाशको क्षितिजमा चम्कने ज्योतिपुञ्जहरु हुन् । यस्ता महापुरुषहरुको बारेमा खोज तथा अनुसन्धान गर्नु हाम्रो दायित्व हो । वेदव्यास र भानुभक्तसंगै हाम्रो भाषा, साहित्य, संस्कृति जोडिएको छ, र यी सबैलाई जीवन्त राख्न पनि उनीहरुको जीवनी, रचना र कृतिहरु विधालय, क्याम्पस र विश्वविधालयको पाठ्यक्रममा समावेश गर्नु जरुरी छ । स्रष्टाप्रतिको सबैभन्दा ठूलो सम्मान भनेको उनका कृति र योगदानलाई अमर राख्नु हो । संस्कृत भाषाका प्रणेता वेदव्यास र नेपाली भाषा–साहित्यका जगपुरुष भानुभक्तलाई नेपाल सरकार, स्थानीय सरकार वा जनप्रतिनिधी, विकास समिति, स्थानीय बासिन्दाहरुले नै उचित सम्मान गर्न सकेका छैनन् । उल्टै, वेदव्यास र आदिकविको नाम र जन्मथलोलाई दुरुपयोग, लिलाम गरेर कैयौ व्यक्तिले आर्थिक, सामाजिक र पदीय लाभ लिइरहेका छन् । हरेक बर्ष उनीहरुका शालिक र तस्बिरमा फूल, अबिर अर्पण गरेर, भाषणहरु गरेर खोका्रे औपचारिकतामा गुरुपूर्णिमा र भानुजयन्ती मनाईने गरिन्छ । यसले मात्र उनीहरु प्रति सच्चा सम्मान भएको ठहर्दैन् । यदि उनीहरुप्रति सम्मान गर्ने नै हो भने, उनीहरुका सम्झनामा निर्मित शालिक, स्मारक, सम्पदा र पार्कहरुको संरक्षण र सम्वर्धनका साथै कृति र रचनाहरुको वाचन, प्रकाशन र प्रसारण गरिनुपर्छ । उनीहरुको जन्मस्थल दमौली र चुँदीरम्घालाई धार्मिक, साहित्यिक, भाषिक तीर्थस्थल साथै पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनुपर्छ अनि मात्रै उनीहरु प्रति सच्चा सम्मान र श्रद्धाञ्जली गरेको ठहर्छ । वेदव्यास र भानुभक्तको योगदानलाई हामी र हाम्रा पुस्ताले जीवन्त राख्नु हाम्रो कर्तव्य र जिम्मेवारी हो, त्यसमा पनि तनहुँबासीको विशेष जिम्मेवारी हो । नत्र भने इतिहासको कालखण्डले हामीलाई धिक्कार्ने छ । सबैलाई चेतना भया ।

(लेखक नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद हुन ।)