नेपालमा आज दुर्लभ सूर्यग्रहण लाग्ने भएको छ । आजको ग्रहणमा सूर्यको ९८ प्रतिशत भाग ढाकिने खगोलविद्हरुको भनाई छ ।

बिहान १० बजेर ५५ मिनेटबाट खण्डग्रास सूर्यग्रहण सुरु हुने छ भने अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुने खगोलविद्हरुले जनाएका छन् ।

खगोलविद्हरुका अनुसार मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिन्छ जुन समयमा तापक्रम पनि घट्नेछ ।

यसैबीच, नेपालको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ ।

ग्रहण, स्थान र समय

देशका विभिन्न भागहरुबाट बिभिन्न समयमा आजको खण्डग्रास सूर्यग्रहण देखिनेछ । खगोलविद्हरुका अनुसार पोखरामा विहान १० बजेर ५२ मिनेटमा, महेन्द्रनगरमा १० बजेर ५४ मिनेटमा, जनकपुरमा १० बजेर ५६ मिनेटमा र भद्रपुरमा ११ बजेर ५२ मिनेटमा सूर्यग्रहण सुरु हुने छ ।
त्यस्तै, जनकपुरबाट ८२ प्रतिशत, पोखराबाट ८८ प्रतिशत, झापाको भद्रपुरबाट ८१ प्रतिशत र कन्चनपुरको महेन्द्रनगरबाट ९३ प्रतिशत सूर्य ढाकेको देखिन्छ ।

रोचक कुरा के छ भने, नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने छ । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा सूर्य छेकिन गइ चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ र त्यसलाई नै सूर्य ग्रहण भनिन्छ ।

शुभ र अशुभ

धर्मशास्त्रका अनुसार आजको सूर्यग्रहण मेष, सिंह, कन्या तथा मकर राशि भएका मानिसलाई शुभ रहेको र अन्य राशि भएकालाई अशुभ मानिएको छ । तथापि वैज्ञानिकहरूले सूर्यग्रहण नांगो आखाले हेर्न नहुने तर सुरक्षित विधीबाट हेर्न सकिने बताउछन् ।

सूर्यग्रहण नाङ्गो आँखाले हेर्दा त्यसले हाम्रो दृष्टिसमेत गुम्न सक्ने भएकाले अत्यन्तै सावधानी अपनाउनुपर्ने खगोलविद्हरू बताउँछन् ।