तनहुुँको घिरिङ गाउँपालिका वडा नं–१, पुट्टार निवासी युवा साइकल यात्री निरञ्जन अर्याल विश्वव्यापी जलवायु परिवर्तन र वातावरण संरक्षणबारे जनचेतना फैलाउने उद्देश्यसहित दशक लामो विश्व साइकल यात्रामा निस्किएका छन्। सोलुखुम्बुबाट सुरु भएको उनको यात्रा अब विभिन्न महादेश हुँदै अन्ततः अन्टार्कटिकासम्म पुग्ने लक्ष्यका साथ अघि बढिरहेको छ।
अर्यालले पहिलोपटक आफ्नो परिवारलाई आगामी १० वर्षसम्म साइकलमा विश्व भ्रमण गर्ने योजना सुनाउँदा धेरैलाई त्यो असम्भवजस्तै लागेको थियो। कोभिड–१९ महामारीपछिको अनिश्चित परिस्थितिमा यस्तो योजना अझै अविश्वसनीय देखिन्थ्यो। हाल लाओसमा रहेका अर्यालले भने, “सुरुमा मेरो परिवारले योजना बुझ्न सकेन र धेरै विरोध भयो। तर मैले किन यस्तो यात्रा गर्न लागेको हुँ भनेर बताएपछि उनीहरू विश्वस्त भए।”
सोलुखुम्बुदेखि विश्व यात्राको सुरुवात
व्यवसाय रणनीति (Business Strategy) मा स्नातकोत्तर गरेका अर्यालले नेपालमा सिँचाइ परियोजनामा काम गरेका थिए। त्यही कामबाट बचत गरेको रकम उनको यात्राको आधार बन्यो। उनले सन् २०२४ अक्टोबरमा सोलुखुम्बु जिल्लाबाट आफ्नो यात्रा सुरु गरेका हुन्। विश्वको सर्वोच्च शिखर सगरमाथाको काखबाट सुरु भएको यात्राका लागि उनीसँग करिब ९ हजार अमेरिकी डलर बचत थियो। सन् २०३४ भित्र वा त्योभन्दा अगावै विश्व यात्रा पूरा गर्ने लक्ष्य उनले लिएका छन्।
अर्यालको यात्राको मुख्य उद्देश्य विश्व तापक्रम वृद्धि, जलवायु परिवर्तन र वातावरण संरक्षणबारे जनचेतना फैलाउनु हो। उनी वातावरणमैत्री यातायातको प्रयोगलाई प्रोत्साहन गर्दै आफ्नो यात्रालाई दिगो जीवनशैलीको प्रतीक बनाउन चाहन्छन्।
उनका अनुसार, “मानिसले पृथ्वीप्रति आफ्नो जिम्मेवारी बुझ्नुपर्छ भन्ने सन्देश विशेषगरी युवापुस्तामा फैलाउन चाहन्छु।”
हालसम्म अर्यालले भारत, थाइल्याण्ड, लाओस, कम्बोडिया, भियतनाम, चीन, मलेसिया, सिंगापुर, साउदी अरेबिया, कतार, ओमान हुँदै संयुक्त अरब इमिरेट्ससम्म साइकल यात्रा गरिसकेका छन्। अब उनले कुवेत र बहराइन भ्रमण गरी पुनः साउदी अरेबिया फर्किने योजना बनाएका छन्। त्यसपछि अफ्रिका, दक्षिण अमेरिका हुँदै अन्ततः अन्टार्कटिका पुग्ने उनको लक्ष्य छ। “म प्रायः सबै महादेश समेट्ने मार्ग तयार गर्दैछु,” उनले भने।
दैनिक १४० किलोमिटर साइकल यात्रा
अर्यालले औसतमा दैनिक करिब १४० किलोमिटर साइकल चलाउने गरेका छन्। रात पर्दा सुरक्षित स्थान खोजेर विश्राम गर्ने उनी बताउँछन्। तर यात्राका क्रममा उनले अनेक कठिनाइ पनि सामना गर्नुपरेको छ। एक्लै महादेशहरू पार गर्दै यात्रा गर्दा भिसा समस्या, भाषागत अवरोध, कठोर मौसम र बाटो पहिचानका त्रुटिहरूले चुनौती थपेको उनले बताए। विश्वकै कमजोर राहदानीमध्ये एक मानिने नेपाली पासपोर्ट बोकेर यात्रा गर्दा थप कठिनाइ भएको उनको अनुभव छ। “लाओसबाट कम्बोडिया जाँदा कागजात समस्याका कारण सीमा पार गर्न पाइनँ,” उनले सम्झिए, “दूतावास पुग्न १७६ किलोमिटर साइकल फर्किनुपर्यो। प्रक्रिया मिलाएर फेरि यात्रा सुरु गरेँ।”
साइकल बिग्रिने समस्या पनि चुनौती
लामो यात्राका क्रममा उनको माउन्टेन बाइक पटक–पटक बिग्रिएको छ। उनले धेरैपटक साइकल मर्मत तथा परिवर्तन गर्नुपरेको बताए। तर यी सबै कठिनाइलाई उनी आफ्नो अभियानको स्वाभाविक हिस्सा मान्छन्। “आगामी दिनमा अझ धेरै कठिनाइ आउन सक्छन् भन्ने मलाई थाहा छ। तर मैले रोजेको यात्रामा यस्ता चुनौती स्वाभाविक हुन्,” उनले भने।
विदेशमा रहेका नेपाली समुदायको सहयोगले आफूलाई ठूलो हौसला मिलेको अर्याल बताउँछन्। विभिन्न देशमा रहेका नेपालीहरूले उनलाई बस्ने ठाउँ, खाना तथा अन्य सहयोग उपलब्ध गराउँदै आएका छन्। “धेरै मानिसहरूले मलाई प्रेरणा दिनुहुन्छ। संसारमा अझै पनि राम्रो उद्देश्यलाई साथ दिने मानिसहरू धेरै छन्,” उनले भने। घरमा रहेका उनका बाबुआमासँग उनी हप्तामा दुई–तीन पटक फोनमार्फत सम्पर्कमा रहने गरेका छन्। परिवारको सम्झना आए पनि आफ्नो लक्ष्यप्रति दृढ रहेको उनले बताए।
युवापुस्तालाई जिम्मेवारीको सन्देश
अर्याल आफ्नो यात्राले विशेषगरी युवापुस्तालाई पृथ्वी र वातावरणप्रति जिम्मेवार बन्न प्रेरणा दिने विश्वास राख्छन्। “मानव जातिले आफ्नो जिम्मेवारी बिर्सनु हुँदैन भन्ने सन्देश दिन चाहन्छु,” उनले भने। अबका केही वर्ष सडक, मरुभूमि, जंगल र हिमाली क्षेत्रहरू नै उनका साथी बन्नेछन्। प्रत्येक किलोमिटर साइकल चलाउँदा उनले सानो भए पनि संसारलाई सकारात्मक परिवर्तनतर्फ अघि बढाउने आशा बोकेका छन्।