व्यासश्री संवाददाता
तनहुँ, असार ५

तनहुँमा बिहीबार मात्रै १५ जना कोरोना संक्रमित थपिएका छन् । तनहुँमा हालसम्म संक्रमितको संख्या २६ पुगेको छ।

ऋषिङ गाउँपालिकाका सात, भानु नगरपालिकाका चार, व्यास नगरपालिकाका तीन र शुक्लागण्डकीको एक जनामा कोरोना पोजिटिभ पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक एवं प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए। बिहीबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले व्यास नगरपालिकाका १, ११ र १३ नम्बर वडाका २५, २९ र ४२ वर्षका पुरुषमा कोरोना पोजिटिभ देखिएको जनाएको छ। ऋषिङका ४०, ३१, २०, २३, २४, २७ र २१, भानुका २२, ४२, ४० र ५२ वर्षका पुरुष छन्।

त्यस्तै शुक्लागण्डकीका १८ वर्षका पुरुपमा कोरोना पुष्टि भएको छ। शुक्लागण्डकीका पुरुषलाई शुक्लागण्डकी नगरपालिका स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसन, व्यास र ऋषिङकालाई दमौली अस्पतालको आइसोलेसनमा राखिने भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारीले बताए। उनका अनुसार भानुकालाई भने त्यहीको आइसोलेसनमा राखिनेछ। दुई जना निको तनहुँका पहिलो र दोस्रो कोरोना संक्रमित भने निको भएका छन्। निको भएर घर फर्किसकेका छन्। दुवै ऋषिङ गाउँपालिकाका पुरुष हुन्।

गण्डकी प्रदेशमाकोरोना संक्रमितको संख्या ३ सय १९ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।