बन्दीपुर केबलकार एण्ड टुरिजमले निर्माण गरेको केबलकारको निर्माण कार्य शतप्रतिशत सम्पन्न भएको छ । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबलकार निर्माण गरेको हो ।

एसियाकै ठुलो दाबी गरिएको बन्दीपुरको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलकोन गर्दै उक्त केबलकारको मज्जा सहित यात्रा गर्न सकिने छ । केबलकारको अहिले पुनः परीक्षणको कार्य भैरहेको बन्दीपुर केबलकार एण्ड टुरिजमका डाइरेक्टर इन्जिनियर हरिदत्त पौडेलले जानकारी दिए ।

केबलकारको एक्काइस डिब्बा यात्रु बोक्ने, छ वटा रेष्ट्रो क्याबिन र दुई एड्भेन्चर गरी उन्तीस वटा डिब्बा हुनेछन् । एक डिब्बामा आठ जनासम्म यात्रुको क्षमता हुनेछ । एड्भेन्चर डिब्बा अन्य डिब्बाको तुलनामा फरक किसिमको हुनेछ,त्यो सिसैसिसाको र आधुनिक किसिमबाट निर्माण गरिएको हुने उनले बताए । केबलभित्रै सुत्न र खान पाइने व्यवस्था सहित रेष्ट्रो क्याबिन समेत सञ्चालन गर्ने योजना रहेको छ,उनले भने,‘केबलकारमा न्यूनतम रु.५० देखि रु.२५ हजारसम्म टिकट शुल्क तोकिएको छ ।’

पृथ्वीराजमार्गमा रहेको बटम स्टेशनबाट माथि बन्दीपुर बजारमा कलेज पढ्न जाने र आउने विद्यार्थीलाई रु.पचास, पत्रकारलाई रु. तीन सय पचास, अन्य यात्रुका लागि रु.पाँच सय, रेष्ट्रो क्याबिनको रु.२५ हजार र ६५ वर्ष माथिका नागरिकलाई टिकटमा सहुलियत दिइने कम्पनीले जनाएको छ ।

केबलकार र पाँचतारे होटल गरी कूल रु.तीन अरब अन्ठाउन्न करोडको लागतमा निर्माण सम्पन्न गर्न लागेको हो । बन्दीपुर आउने पर्यटकले केबलकारमा सुतेरै रमणीय प्राकृतिक स्थलको अवलोकन गर्दै भरपुर मनोरञ्जन लिन सक्ने छन्। मिति नतोकिएपनि दसैं अगाडिदेखि केबलकार संचालनमा ल्याउने योजना भैरहेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

केबलकारमा अबको करिब डेढ महिना सुरक्षाको हिसाबले पटक पटक परीक्षणका कार्य भैरहेको छ,अब असोजबाट व्यवसायिक रुपमा संचालनमा ल्याइने उनले बताए । ‘क्वीन टावर’ नाम दिइएको सत्रको तल्लाको पाँचतारे होटलबाट बन्दीपुर उपत्यका सहित विभिन्न जिल्लाका रमणीय डाँडाकाडा र फाँटहरु सजिलै देख्न सकिनेछ ।

उक्त होटलको ९२ प्रतिशत कार्य सम्पन्न भैसकेको छ । रंगरोगन र फिनिसिङ्ग लगायतका करिब आठ प्रतिशत कार्य गर्न बाँकी रहेको छ । ९० कोठा रहेको हिलटपमा ७८ वटा कोठा प्रयोगमा ल्याइने छ । सेमिनारलगायत अन्य कामका लागि एक हजार क्षमताको ठूलो हल समेत निर्माण गरिएको छ । होटलको शुरुको तलाबाट सत्र तलासम्म क्यापसुल लिफ्टबाट सिधै ‘क्वीन टावर’ सम्म जान सकिने व्यवस्था मिलाइएको छ । त्यसैगरी केबलकारको प्रवेशद्वारमा रु.छब्बीस करोडको लागतमा अर्को सुविधा सम्पन्न आधुनिक होटल निर्माण भैरहेको छ । उक्त होटल पनि छिट्टै संचालनमा ल्याउने गरी निर्माण कार्य भैरहेको सो कम्पनीले जनाएको छ । बन्दीपुरमा घुम्न आउने पर्यटकहरुलाई नयाँपन र भरपुर मनोरञ्जन प्रदान गर्नु कम्पनीको मुख्य लक्ष्य रहने अध्यक्ष शर्माले जानकारी दिए । केबलकारमा यात्रुको आवतजावतको समय पश्चात् साँझपख केबुलकारभित्र रेष्टुरेण्ट सञ्चालन गरी खाना र सुत्न मिल्ने सुविधा प्रदान गरिनेछ ।

प्रत्येक दिन साँझ ५ बजेपछि केबलकारमा सो सुविधा प्रदान गरिने योजना रहेको छ । केबलकारभित्र रेष्ट्रोको सुविधामा प्रत्येक दिन आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको खाली समय साँझ ५ बजेदेखि ९ बजेसम्म उक्त सेवा दिइनेछ । तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा पर्यटकहरुलाई सेवा दिइनेछ । ‘उनले भने,कम्पनीले शाकाहारी, मांशाहारी लगायतका खानेकुरासँगै पेय पदार्थ समेत उपलब्ध गराइने छ ।’

बन्दीपुरमा ठूलो संख्यामा आउने पर्यटकलाई लक्षित गर्दै केबलकार, रेस्ट्रोकार र तारेस्तरसम्मको होटल निर्माण गरिएको अध्यक्ष शर्माले बताए । पृथ्वीराजमार्गमा रहेको बटम स्टेशनबाट बन्दीपुरमा निर्माण गरिएको सत्र तल्ले होटलभित्रै केबलकार पुगेर टुङिग्ने छ । बटम स्टेशन (तल) हाइवेसँग जोडिएको छ, जहाँबाट सिधै माथि बन्दीपुर स्थित होटलभित्र पुग्न सकिनेछ ।