तनहुँ जिल्लामा हालसम्म ७१ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ७ जना संक्रमितहरु निको भएर घर फर्किएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराका अनुसार तनहुँको व्यास नगरपालिकामा ७ जना, भानु नगरपालिकामा ४ जना, शुक्लागण्डकी नगरपालिकामा ५ जना, रिसिङ गाउँपालिकामा ३२ जना र घिरिङ गाउँपालिकामा २३ जना कोरोना भाइरस संक्रमित रहेको पुष्टि भएको छ । यसैबीच, रिसिङ गाउँपालिकामा ३ जना र घिरिङ गाउँपालिकामा ४ जना कोरोना संक्रमित व्यक्तिहरु निको भएर घर फर्किएको निर्देशनालयले जनाएको छ ।

यसैबीच, गण्डकी प्रदेशका चार जिल्लामा आइतबार फेरि १६ संक्रमित फेला परेका छन् । बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् ।यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५०४ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहान ५ः४५ बजे सार्वजनिक गरेको विवरण अनुसार बाग्लुङको गल्कोट नगरपालिकामा ४ जना र काठेखोला गाउँपालिकामा ३ जना कोरोना संक्रमित फेला परेका छन् ।

यस्तै ढोरपाटन नगरपालिका र बाग्लुङ नगरपालिकामा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु सबै पुरुषहरु हुन् । उनीहरु २१ वर्षदेखि ४८ वर्ष उमेर समूहका छन् ।

यसैगरी म्याग्दीको रघुगंगा गाउँपालिकामा ९ वर्षीया बालिका र ३० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सोही गाउँपालिकाका ३३ वर्षका पुरुष र मंगला गाउँपालिकाका २० वर्षका पुरुष पनि कोरोना संक्रमित छन् ।

पर्वतको कुश्मा नगरपालिकाका २७ र ३२ वर्षीय पुरुष तथा तनहुँको ऋषिङ गाउँपालिकाका २९ वर्षका पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

संक्रमितहरुलाई सम्बन्धित जिल्लामा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले बताएका छन् ।