
गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १० जनाको मृत्यु भएको हो । विगत केही दिनदेखि गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या क्रमश घट्ना थालेको छ ।
प्रदेशमा हालसम्म एकैदिन सबैभन्दा धेरै ३० जनासम्म संक्रमितको मृत्यु भएको थियो । बिहिबार मात्र गण्डकीका ६ जिल्लामा १६ जनाको मृत्यु भएको थियो । तर, शुक्रबार भने प्रदेशमा मृतकको संख्या १० रहेको छ ।
गण्डकी प्रदेशमा विभिन्न जिल्लामा शुक्रबार १० जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए । उनका अनुसार कास्कीमा ४ ,नवलपरासी पूर्व १,बागलुङ १ तनहुँ २ र गोरखामा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
त्यसैगरी बागलुङ गलकोट–३ की ७० वर्षीय महिला, तनहुँ भिमाद–५ का ४३ वर्षीय पुरुष, शुक्लागण्डकी –४ का ४२ वर्षीय पुरुष र नवलपरासी पूर्व कावासोती –८ का ८० वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७३३ पुगेको छ ।




