प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीकालागि आकाँक्षीहरु रहेको तनहुँ जिल्लामा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको तापक्रम करिव १०० डिग्री पुगिसकेको छ । मतदानका लागि अब जम्मा ७ दिन मात्र बाँकी छ । जित्नै पर्ने बाध्यता र रहरका बीच उम्मेदवारहरु अहिले मतदाताका घरदैलो, खेतबारी, बनपाखा, मेलापातसम्म पुगेर आफूलाई मतदात गरिदिन आग्रह गरिरहेका छन् ।

केही दिन यता तनहुँ जिल्लाका चुनावी चहलपहल र उम्मेदवारहरुका प्रचारप्रचार शैली र स्वागत सत्कारका समाचारले विभिन्न राष्ट्रिय र स्थानीय पत्रिकामा साथै सामाजिक सञ्जालहरुमा प्राथमिकता पाएको छ ।

राजनीतिक हिसाबमा तनहुँ देशकै पावरफूल जिल्ला भएकाले पनि निर्वाचन र उम्मेदवारहरुको कभरेज प्राथमिकतामा परेको हुनु पर्दछ । त्यसमा पनि हरेक पटकका सरकार गठन हुँदा तनहुँका प्रायः एक जनाले मन्त्री पाएकै हुन्छन् । हालसम्म क्षेत्रप्रताप अधिकारी, रामचन्द्र पौडेल, गोविन्दराज जोशी, अमरराज कैनी, शंकर भण्डारी, किरण गुरुङ, आशा खनालसम्म तनहुँले मन्त्री पाएको छ । यी मध्ये पौडेल र जोशी आधा दर्जन पटक मन्त्री बनिसकेका छन् ।

यसैबीच, नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलका कारण पनि फेरि एक पटक तनहुँ जिल्ला चर्चाको शिखरमा छ। भावी प्रधानमन्त्रीका रुपमा आफूलाई प्रस्तुत गरेर निर्वाचनमा होमिएका पौडेलको चुनावी प्रतिष्पर्धा तनहुँबासीका लागि मात्र नभई सिंगो देशबासी र मित्रराष्ट्रका लागि पनि चासो र कौतुहलताको विषय बनेको छ । आँफू भन्दा कैयौं कनिष्ट नेताहरु ले प्रधानमन्त्रीको बागडोर सम्हालिसकेको अवस्थामा पौडेलको प्रधानमन्त्री सपना पूरा हुने वा नहुने भन्ने कुरा यस पटकको निर्वाचनले तय गर्ने निश्चित प्रायः छ । काँग्रेसका अधिकाँश नेता कार्यकर्ताले पनि पौडेल इमान्दार, त्यागी र निष्ठावान नेता भएकाले पार्टीले उनको योगदानको कदर गर्नुपर्ने माग राख्दै आएका छन् । स्वयं पौडेलले पनि आफू प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्ने र त्यसपछि सक्रिय राजनीतिबाट सन्यास लिने औपचारिक घोषणा विभिन्न कार्यक्रमहरुमा गर्दै आइरहेका छन् । यस अर्थमा पनि यस पटकको निर्वाचन वरिष्ठ नेता पौडेलका लागि जित्नै पर्ने बाध्यता र प्रधानमन्त्री सपनासंग जोडिएको छ । तर, बाध्यता र सपनाका बीचमा अनेक अड्चनहरु पौडेलका बिचमा तेर्सिएका छन् । यस पटकको निर्वाचनमा आफ्नो विरासत जोगाउन निकै कठिन पर्ने देखिएको छ, सर्बसाधारणको विश्लेषण पनि यही हो । अहिले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका पौडेलले यसअघि साबिक तनहुँ १ बाट २०४८ तथा तनहुँ २ बाट २०५१, २०५४, २०६४ र २०७० सालको निर्वाचनमा लगातार जित हात पारेका थिए ।

आफूले सिद्धान्त, निष्ठा र आदर्शको राजनीति गरेको र त्यसमा पनि ५ दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार भएकाले आफ्नो जित पक्कै हुनेमा सत्प्रतिशत जस्तै पौडेल ढुक्क रहेको उनका निकटस्थहरुको भनाई छ ।

तर, दुर्भाग्य ! २०७४ मा उनी तनहुँ क्षेत्र नं १ बाट तत्कालिन नेकपा एमालेका उम्मेदवार कृष्ण कुमार श्रेष्ठसंग पराजित हुन पुगे । र यसपटक पनि उनी सोही क्षेत्रबाट चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । नेता पौडेल ५ दलीय गठबन्धनको साझा उम्मेदवारका रुपमा छन् भने उनका सदावहार प्रतिष्पर्धी काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरि नेकपा एमालेका नेता एकबहादुर रानापनि चुनावी मैदानमा खरो रुपमा उत्रिएका देखिन्छन् ।

पौडेल यस पटक कठिन मोडमा छन् । गठबन्धनको कमाण्डर समेत रहेका नेता पौडेल यस पटकको निर्वाचन जित्नै पर्ने बाध्यतामा छन् नत्र उनको राष्ट्रिय राजनीतिमा गम्भिर प्रश्न उठ्न सक्छ । तर, अहिले सत्ता गठबन्धनको सहयोगमा चुनावी मैदानमा उत्रिएका कारण उनलाई केही सहज पनि देखिएको छ । तनहुँमा पौडेल र जोशीबीच लामो समयदेखि चल्दै आएको अन्तरद्वन्द्वले काँग्रेसका कार्यकर्तामा विशेषतः निर्वाचनका बेलमा अन्यौलता छाउँदै आएको छ ।

गठबन्धन बनाएर प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा होमिएका माओवादीका नेता कार्यकर्ता संगै विपक्षी नेकपा एमालेका नेताहरु पनि यस पटकको निर्वाचनमा उत्साही र हौसिएका देखिन्छन् । तनहुँमा रहेका २ वटा प्रतिनिधी सभा र ४ वटा प्रदेश सभाका गरि ६ वटै क्षेत्रमा बामपन्थीहरुले २०७४ मा झण्डा फहर्याएका थिए । यसैकारण पनि, जोशीले एमाले लगायतका अन्य दल र नेताहरुसंग मिलेर खतरनाक भूमिका खेल्ने हुन कि भन्ने त्रास गठबन्धनका उम्मेदवारहरुमा छ ।
यसैगरि तनहुँको क्षेत्र नम्बर २ मा पनि चुनावी प्रतिष्पर्धा रोचक हुने देखिएको छ । गठबन्धनको साझा उम्मेदरका रुपमा कांग्रेसका युवा नेता शंकर भण्डारी छन् भने एमालेबाट किरण गुरुङ प्रतिष्पर्धामा उत्रिएका छन् ।

यसअघिका निर्वाचनमा एमालेले जित्दै आएको सो क्षेत्रमा गत निर्वाचनमा एमालेका केदार सिग्देलले जीत हात पारेका थिए । अघिल्लो पटक पराजित भएका भण्डारी यसपटक फेरि सोही क्षेत्रबाट विशेष तयारीका साथ चुनावी मैदानमा उत्रिएका देखिन्छन् र यसपटक आफुले चुनाव जित्ने उनको आत्मविश्वास देखिन्छ । स्थानीय तहमा प्राप्त मतसंख्याको हिसाब गर्दा बाम गठबन्नधनको मत केही बढि भएपनि कांग्रेस नेता भण्डारीको प्रभाव राम्रो भएकाले परिणाम कसको हातमा पर्छ भन्न मंसीर ४ नै कुर्नुपर्ने देखिन्छ । पूर्व वनमन्त्रीद्धय भण्डारी र गुरुङबीचको चुनावी प्रतिष्पर्धा वास्तवमै हेर्न लायकको देखिन्छ ।

त्यस्तै क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ मा गठबन्धनबाट कांग्रेसका अशोक कुमार श्रेष्ठ र एमालेका रामबहादुर गुरुङबीच प्रतिस्पर्धा हुनेछ । प्रदेश सभा ‘ख’ मा गठबन्धनबाट माओवादीका हरिबहादुर चुमानले एमालेका पूर्ण बहादुर गुरुङको सामना गर्नेछन् । चुमान मुख्यमन्त्रीको सपना लिएर चुनावी मैदानमा उत्रिएका छन् र गठबन्धन र व्यक्तिगत इज्जतका लागि पनि जित्नै पर्ने वाध्यतामा उनी जकडिएका छन् । तर, काँग्रेसबाट एमालेमा प्रवेश गरेका युवा नेता गुरुङको उम्मेदवारीले उनको माथापच्चिस हुने निश्चित छ ।

उता, क्षेत्र २ को प्रदेशसभा ‘क’ मा गठबन्धनबाट माओवादीका राजेन्द्रकेशरी न्यौपाने र एमालेका श्यामराजा महत चुनावी प्रतिष्पर्धा हुँदैछ । त्यस्तै क्षेत्र नं २ कै प्रदेश सभा ‘ख’ मा गठबन्धनबाट काँग्रेसका तनहुँ सभापति जितप्रकाश आले र एमालेका तनहुँ अध्यक्ष केदार सिग्देलबीच रोचक प्रतिष्पर्धा हुने भएको छ । दुई पार्टीका जिल्ला कमाण्डरहरुबीचको चुनावी प्रतिष्पर्धा निकै रोचक हुने देखिएको छ । जित्नैपर्ने बाध्यताकाबीच मैदानमा उत्रिएका तनहुँका हाइप्रोफाइल नेताहरुबीचको रस्साकस्सी मतदाताका लागि पनि भारी हुने अड्कल छ भने निर्वाचनका विश्लेषकहरुका लागि पनि टाउको दुखाई बनेको छ ।

तनहुँमा मुख्यतः गठबन्धन दलहरु (नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी), नेकपा एमाले र स्वतन्त्र उम्मेदवारहरुकाबीच नै चुनावी प्रतिष्पर्धा हुनेछ । तथापि निर्वाचन कार्यालयका अनुसार तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि १५, प्रदेशसभा १ का लागि ११ र प्रदेशसभा २ का लागि ७ जना चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरि क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि १०, प्रदेशसभा १ का लागि ८ र प्रदेशसभा २ का लागि ६ जनाको उम्मेदवारी कायम रहेको छ ।

प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मको सपना बुनेका तनहुँका उम्मेदवारहरुको अवस्था के हुनेछ, त्यसका लागि मंसिर ४ कुर्नुको विकल्प छैन् ।