कोरोना भाइरसको संक्रमणका कारण चैत्र ११ देखि जारी लकडाउनका अवधिमा विदेशबाट साढे ८ हजार प्रवासी नेपाली गण्डकी प्रदेशमा भित्रिएका छन् ।

गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले ११ चैतपछि भारतबाट ८ हजार ३ सय ८३ र तेस्रो मुलुकबाट २ सय २७ जना फर्किएको जानकारी दिएका छन्।

मन्त्री गुरुङले प्रदेश सभामा प्रस्तुत गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै बागलुङका २ हजार २७ जना स्वादेश फर्किएका छन् । त्यस्तै, तनहुँका १७ सय २२, नवलपुरका १६ सय ३४, स्याङ्जाका १४ सय ६३, पर्वतका ६ सय २, गोरखाका ३ सय ३१, कास्कीका २ सय ७८ , लमजुङका १ सय ६३ र म्याग्दीका १ सय ५९ जना प्रदेशवासी लकडाउनयता प्रदेश फर्किएका छन् ।

उनीहरु सबैलाई क्वारेन्टाइनमा राखेर घर पठाइएको अर्थमन्त्री गुरुङले बताए । प्रदेशका ९ जिल्लाबाहेक मनाङ र मुस्ताङका १–१ जना प्रदेश फर्किएको अर्थमन्त्री गुरुङले जानकारी दिए । उनका अनुसार भारतबाहेक तेस्रो मुलुकबाट २ सय २७ जना प्रदेशवासी फर्किएका छन् ।