गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट चार कैदीबन्दीहरु रिहा भएका छन् । बाँकी रहेको कैद मिनाहा गरी उनिहरुलाई आफन्तको जिम्मामा छाडिएको हो ।

अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई राष्ट्रपतिबाट गणतन्त्र दिवस २०८० का अवसरमा कैद मिनाहा गरिएको कारागारले जनाएको छ । कैद मिनाहा हुनेमा बहुविवाह मुद्दाका इन्द्रजित सार्की, राजन अच्छामी, सवारी ज्यान मुद्धामा आषिश आले र कर्तव्य ज्यान मुद्धाका सुन्दर परियार रहेको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

सबैभन्दा धेरै सवारी ज्यान मुद्धाका आलेले १ वर्ष ४ महिना २३ दिन छुट पाएको र उनले ३ वर्ष कैद भुत्तानी गरिसकेको अधिकारीले जानकारी दिए । उनीहरूको बानी व्यवहार, अनुसार चालचलन, रहनसहन सबै राम्रो भएमा कारागारका जेलर र प्रमुख जिल्ला अधिकारीले गरेको सिफारिसको आधारमा कैद मिनाहा हुने व्यवस्था अनुसार उनीहरूको कैद मिनाहा गरिएको हो ।

लागु औषध, भ्रष्ट्राचार, मानव तस्कर, सर्वस्वसहित जन्मकैद र चेलीबेटी बेचबिखन लगायत १९ प्रकारका गम्भीर मुद्दा हो । यी मुद्दामा ५० प्रतिशत कैद भुक्तान गरे पनि आम माफी पाउँदैनन् । रिहाइ हुने कैदीहरुलाई स्वागत गरी घरमा लैजान कारागार परिसरमा आफन्त आएका थिए । कैदको अवधि बाँकी छँदै रिहा भएका कैदीहरु निकै खुशी देखिन्थे । बिगतका तीता अनुभवहरु सबै बिर्सेर परिवारको साथमा नया जीवन बिताउने योजना उनिहरुको छ ।