
आदिकवि भानुभक्त क्याम्पस, दमौली, तनहुँका अंग्रेजी विषयका उपप्राध्यापक बसन्त कंडेललाई त्रिभुवन विश्वविद्यालयले विद्यावारिधि प्रदान गरेको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायका डीन प्रा. डा. चित्र बहादुर बुढाथोकीको अध्यक्षतामा बसेको अनुसन्धान समिति र अन्तर्राष्ट्रिय विज्ञहरुको बैठकले कंडेललाई वैशाख ३१ गते विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको हो । यसैबीच, कंडेलले विश्वविद्यालयबाट विद्यावारिधि अध्ययन सम्पन्न भएको प्रमाणपत्र प्राप्त गरेका छन् ।

“स्थानीय सरकार र भाषानीति” को क्षेत्रमा कंडेलको विद्यावारिधि अध्ययन नेपालमै पहिलो हो । कंडेलको अध्ययनले तनहुँको व्यास नगरपालिकाभित्र परिवार, शिक्षा र कार्यालयका क्षेत्रमा भाषा नीति निर्माता र मध्यस्थकर्ताहरूको वैचारिक चेतना, कार्य र अधिकारहरूको अन्वेषण गरेको छ । अध्ययनले जीवनका विभिन्न क्षेत्रहरूमा भाषा नीति निर्माणका प्रक्रिया र अभ्यासलाई अवलोकन र विश्लेषण गरेको छ ।
गुणात्मक अनुसन्धान दृष्टिकोणको “व्याख्यावाद प्रतिमान” र “क्रिटिकल एथनोग्राफी डिजाइन“ प्रयोग गरी कंडेलले भाषा नीति निर्माता, मध्यस्थकर्ता, राजनीतिक नेता, प्रशासक, वकिल, पत्रकार, उद्यमी, भाषा नीति विज्ञ, समुदायका नेता, परिवारका सदस्य, विद्यार्थी, शिक्षक र अभिभावक र सम्बन्धित सरोकारवालाहरुसंग व्यास नगरपालिकाका १४ वटै वडाहरुमा २४ महिनासम्म क्षेत्रकार्यमा रही सूचना संकलन गरेका थिए ।
अनुसन्धानका क्रममा कंडेलले सहभागीहरुसँग अन्तर्वार्ता, कक्षाकोठा र शिक्षण–सिकाइ प्रक्रियाको अवलोकन, पारिवारिक कुराकानी, कार्यालयका प्रक्रिया, नीति निर्माता र सरोकारवालाहरुबिचको सञ्चारका गतिविधि र विषयवस्तुलाई प्रत्यक्ष अवलोकनका साथै लक्षित समूह छलफल गर्दै क्षेत्रकार्यबाट प्राप्त सूचनालाई “विषयगत विश्लेषण र सहसम्बन्ध”, “पाठहरुको समालोचकीय विश्लेषण” गर्नुका साथै “एनभिभो‒१२ ” कम्प्युटर सफ्टवेयरको प्रयोग गरी व्याख्या र विश्लेषण गरेका थिए ।
अध्ययनबाट स्थानीय सरकारमा संघीय नीतिको हस्तक्षेप रहेको र भाषा नीतिका सवालमा कम चासो दिइएको साथै यस्तो चुनौतीपूर्ण अधिकार पूरा गर्न कठिन रहेको निष्कर्ष देखिएको छ । नीति निर्माता र सरोकारवालाहरु विभिन्न राजनीतिक–वैचारिक अभिविन्यासबाट प्रभावित हुन्छन् र आदिवासी–अल्पसंख्यक भाषाहरूलाई अवरोध गर्दै, सामाजिक, राजनीतिक र आर्थिक स्रोतहरूको विशेषाधिकार प्राप्त गर्न निहित र “प्रभावी भाषा विचारधाराहरू” बनाउँछन् भन्ने पनि निष्कर्षले देखाएको छ । स्थानीय भाषा नीति तयार गरी कार्यान्वयन गर्न, स्थानीय भाषिक विविधतालाई पुूँजीकरण गर्न र “भाषिक न्याय” र “भाषिक मानवअधिकार” को प्रत्याभूति गर्न भाषाका नीति निर्माता र मध्यस्थकर्ताहरू असक्षम देखिन्छन् । स्थानीय सरकारको पहिलो ५ वर्षे कार्यकाल पूरा भए तापनि जनप्रतिनिधिहरु भाषानीति र योजनाका विषयमा खासै चिन्तित देखिँदैनन् ।
मानक भाषाहरूको प्रभुत्वले वर्तमान पुस्ताको विचारधारालाई व्यापक प्रभाव पारेको छ, यसकारण मातृभाषाहरु संकटमा परेको र पारिवारिक भाषा नीतिमा प्रभाव परेको छ । पुस्तान्तरणको समस्या, नवउदारवादी विचारधारा, साथीसमूहको दबाब, रोजगारीको समस्या र स्थानीय सरकारको निष्क्रियताले युवा पुस्ताको भाषिक सोच र पारिवारिक भाषा नीतिलाई प्रत्यक्षअप्रत्यक्ष असर पारेको कंडेललको अध्ययनले देखाएको छ ।
शिक्षामा भाषा नीतिका सन्दर्भमा, नीति निर्माता, शिक्षक, विद्यार्थी र अभिभावकको वैचारिक भिन्नता देखिन्छ । फलस्वरूप, शैक्षिक भाषा निर्माण, व्याख्या र विनियोजन अराजक, चुनौतीपूर्ण र अव्यवस्थित बन्दै गएको र शिक्षामा भाषा नीति–अभ्यास असमानताले शिक्षक र विद्यार्थीहरूमा सामाजिक, मनोवैज्ञानिक र शैक्षिक तनावको अवस्था सिर्जना गरेको छ, जसले गर्दा ज्ञान र सिकाइमा बाधा पु¥याएको अध्ययनले देखाएको छ । व्यास नगरपालिका क्षेत्रका विद्यालयहरूमा एकभाषी, द्विभाषी र बहुभाषिक नीतिहरूको बिचमा द्वन्द्वात्मक अवस्था देखिन्छ । यसैबिच, शिक्षामा अंग्रेजी भाषा नीतिलाई वास्तविक र गुणात्मक नीतिको रूपमा प्रयोग गर्नाले स्थानीय/आदिवासी र मातृभाषाहरू छायाँमा परेका छन् ।
व्यास नगरपालिकामा ‘व्यास नगरपालिका प्रतिष्ठान’ गठन बाहेक पाँच वर्षभित्र संवैधानिक र भाषा आयोगका सिफारिसहरू पूरा हुन सकेका छैनन् । केही वडाहरूले कार्यालयमा स्थानीय भाषाहरूको लागि साँघुरो “वैचारिक र कार्यान्वयन” को मौखिक अनुमति दिए पनि सबै सरकारी कामकाज नेपाली र अंग्रेजी भाषामा सञ्चालन भइरहेका छन् । संविधानले सरकारका प्रत्येक तहमा बहुभाषिक नीति निर्माण र कार्यान्वयन गर्ने आश्वासन दिएपनि स्थानीय सरकारले घरपरिवार, शिक्षा, र कार्यालयको क्षेत्रमा स्थानीय “भाषिक पुूँजी” को संरक्षण, सम्बर्धन गरी त्यसबाट फाइदा लिन चुकेको कंडेललको अध्ययनले देखाएको छ ।
अन्त्यमा, अध्ययनले नेपालमा तीन तहका सरकार नभई चार तहका सरकारहरू (संघीय, प्रदेश, स्थानीय र वडा) रहेको दावी सहित ती सरकारहरुबीचको लम्बीय अन्तरसम्बन्धलाई फूलको बोटका विभिन्न भागहरुसँगको अन्तरसम्बन्ध जस्तै रहेको दावी गरेको छ । भाषा नीतिको बारेमा स्थानीय र विश्वव्यापी सन्दर्भमा अध्ययन गर्दा “भाषा नीति र योजना फूल” र यसको अन्तरसम्बन्धित तहहरू, पङ्क्तिबद्धता, एकीकरण र पदानुक्रमको अध्ययन गर्न र जरादेखि फूलसम्मको सहसम्बन्धलाई केलाउन कंडेलको अध्ययनले अनुसन्धाताहरुलाई प्रस्ताव गरेको छ ।

प्रा. डा. बालमुकुन्द भण्डारीको शोध निर्देशनमा कंडेलले विद्यावारिधिको अनुसन्धान सम्पन्न गरेका हुन् ।

तनहुँको व्यास नगरपालिकालाई अध्ययन क्षेत्र बनाएर गरिएको यो नै पहिलो विद्यावारिधि अध्ययन हो । कंडेल हाल आदिकवि भानुभक्त क्याम्पसमा अंग्रेजी विभागका विभागीय प्रमुख पनि हुन् । प्राध्यापनका साथै कंडेल पत्रकारितामा पनि सक्रिय छन् । उनी व्यासश्री साप्ताहिकका प्रकाशक र व्यासश्री डटकममा सम्पादक पनि हुन् । साथै कंडेल नेपाल अंग्रेजी भाषा शिक्षक संगठन तनहुँका अध्यक्षको जिम्मेवारीमा पनि छन् ।
कंडेलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा एक दर्जन ‘पियर रिभ्यूड’ लेखहरु प्रकाशन गरेका छन् भने नेपाल लगायत बेलायत, क्यानडा, स्पेनका विश्वप्रसिद्ध सम्मेलनहरुमा अनुसन्धानमूलक कार्यपत्रहरु प्रस्तुत गरेका छन् । कंडेलले विद्यावारिधि अध्ययनका लागि विश्वविद्यालय अनुदान आयोग नेपालबाट विद्धतवृत्ति पनि पाएका थिए ।




