नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा समाजवादी केन्द्रका अध्यक्ष डा. बाबुराम भट्टराईबीच चुनावी एकता भएको छ । उनीहरुले आगामी प्रदेश र प्रतिनिधि सभामा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको छ। आइतबार बिहान करिब ७ बजे खुमलटार पुगेका डा. भट्टराई र अध्यक्ष प्रचण्डबीच करिब एक घण्टा छलफल भएको थियो ।

छलफलपछि दुई नेताबीच निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको हो । एउटै चुनाव चिह्न माओवादीले प्रयोग गर्दै आएको ‘गोलाकारभित्रको हँसिया हथौडा’ हुनेछ । निर्वाचन आयोगबाट मान्यता पाएको भट्टराई नेतृत्वको नेपाल समाजवादी पाटीको चुनाव चिह्न भने आँखा छ । त्यस्तै, दुई पार्टीले एउटै घोषणापत्र लिएर चुनावमा जाने पनि सहमति भएको छ । ‘मौखिक सहमति भएको छ । अब यसलाई हस्ताक्षर गरेर औपचारिक रुप दिन बाँकी छ,’ स्रोतले बतायो, ‘चाँडै यसलाई औपचारिकता दिइनेछ ।’

आसन्न चुनावमा दुई पार्टीबीच सहकार्यका लागि केही दिनयता निरन्तर छलफल र संवाद जारी रहेको थियो । यसअघि डा. भट्टराईले समाजवादी केन्द्र बनाएर अघि बढ्ने पहल गरे पनि त्यो भने सम्भव हुन सकेको थिएन ।

निर्वाचन आयोगले आइतबार निकालेको दल दर्तासम्बन्धी सूचनामा दुई वा सोभन्दा बढी दलले एकै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुन सक्ने उल्लेख छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दुई वा सोभन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको निवेदन दिन सकिने व्यवस्था छ । यसैलाई आधार मानेर माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी साझा निर्वाचन चिह्नमा चुनाव लडन् सक्छन् । ऐनमा ‘निर्वाचन प्रयोजनका लागि मान्यता प्राप्त गर्न चाहने दुई वा सोभन्दा बढी दलले कुनै दलले प्राप्त गरेको निर्वाचन चिह्न वा अन्य कुनै निर्वाचन चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी निवेदन दिन सक्ने’ व्यवस्था छ ।

रातोपाटीबाट