
सरकारले दोस्रो चरणको कोभिड–१९ विरुद्धको खोप अभियान आजदेखि शुरु गरेको छ । यस अभियान अन्तर्गत देशैभरिका ६५ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई खोप दिइने जनाइएको छ ।
यसैबीच, तनहुँमा पनि सो अभियान अन्तर्गत १५ हजार बढी जेष्ठ नागरिकलाई खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ। जिल्लाका पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी गराइएको हो ।
कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले फागुन २३ गतेदेखि चैत २ गतेसम्म दुई चरणमा खोप लगाउने जानकारी दिए । फागुन २३ देखि २७ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन गरिने छ । त्यसैगरी फागुन २८ देखि चैत २ गतेसम्म शुुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र म्याग्दे गाउँपालिका मा लगाइने छ ।
स्वास्थ्य कार्यालयले २२५ जना स्वास्थ्यकर्मीहरुलाई खोप कार्यक्रमका लागि विशेष तालिम समेत प्रदान गरिसकेको अधिकारीले बताए ।
आकस्मिकताका आधारमा स्वास्थ्यकर्मी परिचालन गर्नका लागि विशेष ईएफआई व्यवस्थापन टोलीगठन गरिएको स्वास्थ्य कार्यालय तनहुँका फोकल पर्सन विरेन्द्र चौधरीले जानकारी दिए ।
तनहुँका ८५ वटा वडाका ९४ ओटा स्वास्थ्य कार्यालयबाट लगाइने कोभिशिल्ड खोप उपलब्धताको आधारमा ५५ वर्ष माथिका उमेर समूहका नागरिक, शिक्षक र सवारीचालकहरुलाई समेत लगाइने चौधरीले जानकारी दिए ।






