
नेत्रहिन व्यक्तिहरुलाई सीप विकास केन्द्र स्थापना गर्न तनहुँका समाजसेवीले लाखौंको जग्गा दान दिएका छन् । उनी हुन् व्यास नगरपालिका–५ पाटन निवासी समाजसेवी ८९ वर्षिय केबी गुरुङ । गुरुङले बुधबार आफ्नो नाममा रहेको जग्गा दान दिएका हुन् ।
गुरुङले नेत्रहिन सङ्घ तनहुँलाई मालपोत कार्यालय तनहुँबाट जग्गापास गरी समाजसेवी जग्गा रजिष्ट्रेसन पास गरी दिएका छन् । ९० बर्षीय समाजसेवी गुरुङ्गले हालको चलनचल्तीको मूल्य अनुरुप करिब रु.पच्चीस लाख मूल्यको ४ आना दुई दाम जग्गा दान गरेका हुन् । जग्गा प्राप्त गरेसंगै नेत्रहिनहरुमा उत्साह छाएको छ ।
नेत्रहिनले अवसर नपाउँदा पछाडी पर्नु परेकोले सीप प्रदान गर्न सहयोग पुगोस् भनेर निःशुल्क प्रदान गरेको समाजसेवी गुरुङले बताए ।
कसैले पनि जग्गा नदिएको जानकारी प्राप्त भएपछि सहयोग गरेको गुरुङले बताए । गुरुङले भने, ‘‘नेत्रहिनको क्षमता विकासको लागि मद्धत पुग्ने विश्वास लिएको छु मसँग प्रशस्त बाँसहरु छन् बाँसबाट विभिन्न सामग्री बनाउनको लागि बाँस पनि निशुल्क दिन्छु’’ ।
नेत्रहिन सङ्घ तनहुँका अध्यक्ष चुनबहादुर कुमालले जग्गा अभावले गर्दा सीप विकास केन्द्र स्थापना गर्न तथा कार्यालयका कार्यहरु गर्न कठिन भएको बेला २५ लाख रुपियाँ मूल्य पर्ने जग्गा दिँदा सबै नेत्रहिनसाथीहरुमा खुसीयाली छाएको बताए ।
सस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारीले २०७८ साल असारमा सम्पन्न अधिवेशनले सीप विकास केन्द्र र कार्यालय सञ्चालनको लागि जग्गा खोजी गर्ने निर्णय गरेबमोजिम जग्गा खोजीभएको र हाल जग्गा प्राप्त भएको बताए ।
धेरै डुलियो जग्गा दान दिनुस् भनेर पाउन कठिन भयो केबी बुबाकामा जाने वित्तिकै सहर्ष स्वीकार गर्नुभयो अधिकारीले भने । तीन वटै सरकार तथा दातृ निकायबाट आर्थिक स्रोत जुटाएर भएपनि भवन निर्माण गर्ने योजना रहेको तनहुँ नेत्रहीन संघका जिल्ला अध्यक्ष चिनबहादुर कुमालले जानकारी दिए ।
उनका अनुसार हाल तनहुँ नेत्रहीन संघमा सत्तरी जना व्यक्ति आवद्ध रहेका छन् । त्यसैगरी अन्य सामाजिक संघ संस्थाहरुलाई पनि जग्गा दिन तयार रहेको गुरुङले बताएका छन् ।




