कोरोना भाइसरको विश्वव्यापी महामारी र लकडाउनका कारण विदेशमा अलपत्र परेका र घर फर्किन चाहेका ११ हजार ३ सय ७१ नेपाली भारतबाहेक तेस्रो मुलुकबाट स्वदेश फर्किएका छन् ।

गैरआवासीय नेपाली संघका अनुसार यो संख्या जेठ २२ देखि असार १३ गते सम्मको हो । तीमध्ये सबैभन्दा बढी कुवेतबाट २ हजार २ जना नेपाली स्वदेश फर्किएका छन् । त्यसैगरी युएईबाट २ हजार १७, साउदी अरेबियाबाट १ हजार २ सय १८, मलेसियाबाट ९ सय २१, बगंलादेशबाट ८ सय १५, कतारबाट ६ सय ३८, माल्दिभ्सबाट, ६ सय ४, जापानबाट ४ सय ९२, अस्ट्रेलियाबाट २ सय ६९, बहराइनबाट ४ सय २०, थाइल्याण्डबाट ३ सय २६, ओमानबाट ३ सय १३, अमेरिकाबाट ४ सय ८३, दक्षिण कोरियाबाट २ सय २८, सिंगापुरबाट १ सय ४६, बेलायत २ सय २९, हङकङबाट ८९, पाकिस्तानबाट ७२, म्यानमारबाट २६, अफगानिस्तानबाट १८ र श्रीलंकाबाट ५ जना रहेका छन्।

गैरआवासीय नेपाली संघले विदेशस्थित आफ्ना राष्ट्रिय समन्वय परिषद्लाई अलपत्र नेपालीको सहयोग र उद्धारका लागि गन्तव्य मुलुकका राजदूतावाससँग समन्वय एवं सहकार्य गर्न निर्देशन दिएको गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए ।