
सम्पादकीय
मानिस स्वभावले नै आफ्ना पक्षका मानिसहरुको खोजी गर्दछ । तर, सबै परिवेश र अवस्थामा सो भावना र व्यवहारले व्यक्ति, समाज, र राष्टको हीत गर्दैन् । यति बुझ्दा बुझ्दै पनि फेरि मान्छे फेरि उही लहलहैमा लागेर गल्ती गरिरहेको हुन्छ ।
प्रसंग हो, आसन्न प्रतिनिधी र प्रदेश सभाको सदस्यको निर्वाचनको । यही मंसिर ४ गते प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको लागि हुन गइरहेको निर्वाचनले देश र प्रदेशको नेतृत्वका लागि जनप्रतिनिधीहरुको चयन गर्दैछ । कार्तिक मासको बढ्दो चिसो संगै निर्वाचनको सरगर्मी अन्य जिल्लामा जस्तै तनहुँमा पनि निकै बढेको छ ।
राजधानीबाट जम्मा १ सय १० किलोमिटरको दुरीमा रहेको तनहुँ जति सुगम र सबृद्ध हुनु पर्ने हो, त्यो पटक्कै छैन् । अझै पनि तनहुँका कर्णाली मानिने बैदी, कोटा, देवघाट, गजरकोट लगायतका ठाउँहरु विकासका दृष्टिले निकै पछाडि परेका छन् । समग्रमा तनहुँ जिल्ला विकास र समृद्धिका दृष्टिले अन्य जिल्लाको तुलनामा निकै पछाडि परेको छ । जिल्लाको विकासमा उच्च ओहोदा र पदमा पुगेका राजनीतिक दलका नेताहरुले जुन सक्रियता र चासो दिनु पर्ने हो त्यो पटक्कै नदिएको प्रष्ट छ । चुनावका बेलामा चिल्ला, मीठा र गुलिया कुरा गर्ने र चुनाव जितेर गएपछि नाक मुखै नदेखाउने प्रबृति प्राय जसो सबै नेताको देखिन्छ ।
तनहुँ जिल्ला अझै पनि शिक्षा, स्वास्थ्य, संचार, सडक, यातायात, खानेपानी, सरसफाई जस्ता क्षेत्रमा पिछडिएको छ र भरपर्दो पूर्वाधारहरु तयार हुन सकेका छैनन् । धार्मिक, ऐतिहासिक, भौगोलिक, पुरातात्विक, र साहित्यिक दृष्टिले तनहुँको जुन गरिमा र उचाईं छ, त्यसको समूचित विकास र प्रचार प्रचारमा राजनीतिक दल र नेताहरुले चर्का स्वरमा कुरा मात्रै गरिरहे तर व्यवहारिक रुपमा केही गर्न सकेनन् ।
नेताहरुले मात्र चुनावी मौसममा आएर मौसमी गफ र झुठा आश्वासन बाड्ने तर व्यवहारमा माखो नमार्ने प्रवृति तनहुँबासीले बुझ्नु जरुरी छ । तर, जिल्लामा सञ्चालित विभिन्न आयोजना, सडक, विधुतीकरण र अन्य विकासका गतिविधीहरुमा आफ्नो र आफ्नो पाटीको जस लिन खोज्ने धुर्त नेताहरुको व्यवहार पनि जनतामाझ छर्लङ्ग भएको छ । चिल्ला मिठा र झुठा आश्वासनका पोका बाँडेर जनताको मत बटुलेर ओहोदामा पुगेपछि जिल्ला र जिल्लाबासीलाई चटक्कै विर्सनै मनोरोग र पुख्र्यौलीरोगले नेताहरुलाई गाँजेको छ ।
फेरि पनि चुनावी समयमा विभिन्न भेषधारण गरेर जनताका घरदैलो, बनपाखा र मेलापातमा नेताज्यूहरु उही पुराना र खिया लागेका आश्वासन र ललिपपहरु खुवाउन नेताज्यूहरु व्यस्त देखिन्छन् । जनतालाई सधैं भेंडा,उल्लु र अबुझ ठान्ने र उनीहरुलाई झुक्याइरहन सक्छौं भन्ने नेताज्यूहरुलाई जनताले समयमानै राम्ररी विश्लेषण र छनौट गर्न सक्नु पर्छ ।
तसर्थ आसन्न निर्वाचनमा जनताहरुले आफ्नै विबेक र क्षमता प्रयोग गरेर असल, इमान्दार, नैतिकवान, जनप्रेमी, विकासप्रेमी, र क्षमतावान नेताको छनौट गर्न चुक्नु हुँदैन्, नत्र हाम्रो गल्तीको गरिणाम भावी पुस्ताले समेत भोग्नु पर्ने हुन्छ ।
यसपटकको निर्वाचनले हाम्रा होइन् राम्रा र असल नेतालाई मत हालौं । यसकार्यमा सबै मतदाता सचेत होऔैं ।




