तनहुँको व्यास नगरपालिका वडा नं ५ पाटनमा निर्माणाधिन पराशर पार्कको अवस्था दयनीय बनेको छ ।

संरक्षण र सम्बर्धनको अभावमा संघीय सरकारको ३ करोड ५३ लाख रुपैयाँ लगानीमा निर्माणाधीन सो पार्कमा निर्माण गरिएका भौतिक पूर्वाधारहरु अहिले अलपत्र परेका छन् भने कतिपय बिग्रिएका छन् । पार्कमा निर्माणाधिन संरचना कुनै सेतीमादी नदीको धारले त कुनै लापरवाहीका कारण भत्किएपछि सो पात्र अहिले अलपत्र परेको छ । पार्कको दुरावस्थाले सिंगो व्यास नगरपालिकालाई गिज्याइरहेको भान हुन्छ ।

२०७६ वैशाखमा सम्पन्न गर्ने गरि ड्रयागन निर्माण सेवाले सो पार्क निर्माणको ठेक्का पाएको थियो तर अहिलेसम्म पूरा हुन सकेको छैन् ।

पार्कमा निर्माण भएका कतिपय पूर्वाधार र संरचनाहरु हचुवाका भरमा बनाइएको देखिन्छ । पार्क निर्माणपछि आन्तरिक एवं बाह्य पर्यटन प्रवर्धन हुने विश्वास गरिएकोमा पार्क अलपत्र परेपछि पार्कको भविष्यनै अन्धकार बनेको छ ।

पार्क अलपत्र बनेपछि कतिपयका लागि सो स्थल अहिले डम्पिङ साइट भएको छ । जसले गर्दा पार्क नजिकैको परासर आश्रमलाई प्रभाव पारेको छ । पवित्र धार्मिक तीर्थस्थल व्यास र परासर आश्रमनजिकै निर्माण हुने पार्कले आन्तरिक पर्यटकलाई दमौलीमै घुम्ने वातावरण सिर्जना गर्ने उद्धेश्य भएपनि पार्क नै अलपत्र भएपछि स्थानीयहरुले जगहसाईको विषय बनेको गुनासो गरेका छन् । पार्कमा थुप्रिएको र फालिएको फोहरले सो क्षेत्रमा प्रदूषण फैलिएको स्थानीयको गुनासो छ ।

सो पार्कको निर्माणका लागि प्रदेश सरकार मातहत रहेको सहरी विकास मन्त्रालयले जिम्मा लिएको छ भने निर्माण सम्पन्न भएपछि व्यास नगरपालिकालाई हस्तान्तरण गर्ने बताइएको छ । तर योजनानै विचमा तुहिएपछि सो पार्कको निर्माण हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भएको छ ।

यसैबीच, सहरी विकास मन्त्रालयले उक्त योजना छिट्टै नै सम्पन्न गर्ने जनाएको छ । योजनाको ९० प्रतिशत काम भएको बताइएता पनि मादी र सेती नदीमा आएको बाढीले थुप्रै भौतिक पक्षमा क्षति पुर्याएपछि सो पार्क अहिले खण्डहर बनेको छ। साथै कोभिड–१९ र लकडाउनका कारण पनि पार्क निर्माणममा ढिलाई भएको निर्माण कम्पनीले स्वीकार गरेको छ ।