
तनहुँको व्यास नगरपालिका वडा नं १ भादगाउँ स्थित छाब्दी बाराही बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
आदिकवि भानुभक्त क्याम्पसको प्राङ्गणमा आयोजित सो सभाको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले छाब्दी बाराही सहकारी संस्थाले यस क्षेत्रको आर्थिक विकासका माध्यम भएको बताउँदै संस्थाको थप प्रगतिको शुभकामना व्यक्त गरे ।
सो अवसरमा न्यौपानेले विगतका वर्षहरुमा त्यस सहकारी संस्थामा केही आर्थिक अपचलनका गतिविधि भएकोमा हाल आएर सो संस्था सुधारोन्मुख गतिमा अगाडि बढेको बताए । धरासायी बनेको यस सहकारीलाई माथि उकास्न अहिलेको संचालक समितिले महत्वपूर्ण भूमिका खेलेका कारण शेयर सदस्यहरुलाई थोरै भएपनि लाभाँस बितरण गर्न सक्ने सक्षम बनेको उनले बताए ।
साथै उनले नगर क्षेत्र भित्रका सहकारीको विकास र आर्थिक समृद्धिका लागि नगरपालिका कार्यालयले समन्वयकारी भूमिका खेल्दै उचित सहयोग गर्दै आएको पनि बताए ।
सो अवसरमा नगर प्रमुख न्यौपानेले आजकल दमौली बजार आसपास क्षेत्रमा डेगुको संक्रमण बढ्दो रहेकाले यसबाट बच्न सर्तकता अपनाउन नगरबासीलाई आग्रह गरे ।
कार्यक्रमका विशिष्ट अतिथि आदिकवि भानुभक्त क्याम्पसका अध्यक्ष बुद्धिमान श्रेष्ठले संस्थाको प्रगतिको कामना गर्दै क्याम्पस र सहकारी संस्थाकाबीच सुमधुर सम्बन्ध बनाउन पहल गरिने बताए ।
संस्थाका सल्लाहकार केशबहादुर सुनारले कुनै व्यक्तिका कारण अपांगता जस्तै बनेको यस सहकारीले फिजियो थेरापी पछि हिड्डुल गर्न सक्ने हैसियतमा पुगेकाले छिट्टै प्रगतितर्फ लम्किन सक्नेमा कुनै दुविधा नरहेको उदघोष गरे ।
सहकारी संस्थाका पूर्व अध्यक्ष तिलक बहादुर चौहानले सहकारीलाई सहज रुपमा अघि बढाउन सबै एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिए ।
संस्थाका कानुनी सल्लाहकार विश्व बास्तोलाले यस संस्थामा भएको आर्थिक हिनामिनका संम्बन्धमा संम्बन्धित व्यक्ति बिरुद्द अदालतमा मुद्धा दर्ता भई बकपत्र गराउने प्रक्रिया सकिएकाले अब छिट्टै टुंगो लाग्न सक्ने बताए ।
संस्थाका उपाध्यक्ष जनक काफ्लेले गतबर्ष रु.२९ लाख घाटा भएको यस संस्थाले घाटा पूर्ति गरी नाफातर्फ उन्मुख भएको बताए । संस्थाको कूल नाफाको ४५ प्रतिशत मुनाफाको प्रतिफल बचतकर्ता र ऋणी दुवैले पाउने व्यवस्था गरेको सो अवसरमा उनले जानकारी गराए । बाँकी ५५ प्रतिशत विभिन्न कोषमा जम्मा गर्नुपर्ने प्रावधान रहेको छ, उनले भने अब नीति भन्दा एक इन्च तलमाथि नगरी काम गर्छौ, संस्थालाई चलयमान र जीवन्तता गराउन शेयर सदस्यहरुले महत्वपूर्ण भूमिका खेलौं ।
संस्थाले यसबर्ष शेयर सदस्यहरुलाई ८.५ प्रतिशत लाभाँस वितरण गर्ने घोषणा गरेको संस्थाका सचिव बसन्त कँडेलले जानकारी दिए ।
संस्थाका अध्यक्ष लावण्यप्रसाद पण्डितको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय सहकारी बैककी उपप्रवन्धक संगिता भट्टराई, शेयर सदस्य खेमराज शर्मा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका सचिव बसन्त कँडेलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष बुद्धिसागर साँखीले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक रामनाथ रिमालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा तीनवटै प्रतिवेदन र कार्यविधिमाथि छलफल भई पारित गरिएको छ ।
कार्यक्रममा उपाध्यक्ष जनक काफ्लेले शेयर सदस्यहरुले उठाएका जिज्ञासाहरुको सहजीकरण गरेका थिए ।
यसैबीच, साधारण सभाका अवसरमा संस्थाकै असल ऋणीमध्येबाट खिन्ती माया आले र असल बचतकर्ता देवी थापालाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
वि.सं. २०६५ सालमा स्थापना भएको सो सहकारी संस्थामा हाल १३०५ जना शेयर सदस्यहरु आवद्ध रहेका छन् । संस्थाको शेयर पूँजी ६ करोड १७ लाख ५ हजार रुपैंया, बचत संकलन १० करोड ६८ लाख २ हजार ८ रहेको छ भने, संस्थाले १३ करोड ५५ लाख ५० हजार ८५१ रुपैया बरावरको कर्जा लगानी गरेको छ । हाल संस्थाले करिव २० करोड बराबरको कारोबार गर्दै आइरहेको बताइएको छ ।
संस्थाले मासिक बचत, बाल बचत, दैनिक बचत, विशेष बचत, आवधिक बचत, बृद्ध बचत, एकल बचत लगायतका खाताहरु सञ्चालन गर्दै आइरहेको छ भने घर खर्च, कृषि तथा व्यापार व्यवसाय, आवास र जग्गा खरिद लगायतका क्षेत्रमा कर्जा लगानी गर्दै आइरहेको छ ।




