
गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्री डोवाटे विश्वकर्माले प्रदेश सरकार जनताको समस्या समाधान गर्नका लागि सधैं प्रतिवद्ध रहेको बताएका छन् ।
भानु नगरपालिका–११ स्थित आहालडाँडा सोलार लिफ्टिङ खानेपानी आयोजनाद्वारा वितरित धाराको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले सो प्रतिवद्धता जनाएका हुन् ।
उनले प्रदेश सरकारले प्रदेशका जनताको महत्वपूर्ण आवश्यकता तथा समस्या समाधानमा लागिपरेको बताए । मन्त्री विश्वकर्माले भने, ‘प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत सो आयोजना सम्पन्न भएको बताए । खानेपानी आयोजनाले नेपालकै उत्कृष्ट परिचय बनाएको टुटेपानी होमस्टेको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

आहालडाँडा सोलार लिफ्टिङ खानेपानी आयोजनाका अध्यक्ष क्या.होमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरीता गुरुङ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका प्रमुख उदयराज गौली लगायतले पर्यटक आउदा हुने पानीको समस्या समाधान हटेपछि पर्यटक बढ्ने अपेक्षा गरिएको बताए ।
३ वर्षमा सम्पन्न सो आयोजनाबाट ३५ घरधुरीलाई खानेपानी वितरण गरिएको छ जसका लागि प्रदेश सरकारले ९१ लाख ६६ हजार रुपैयाँ विनियोजन गरेको थियो ।




