नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले सत्ताको लोभ गर्न नहुने धारणा राखेका छन्।

‘अहिले हामीले सत्ताको लोभ नगरौं। त्यो यात्रा छोडौं,’ उनले भने, ‘जनताप्रति उत्तरदायी भएर अगाडि बढौं।

संविधानको मर्मविपरीत प्रधानमन्त्रीले प्रतिनिधिसभा संसद भंग गरेकोमा दह्रो ढंगले विरोध हुनुपर्ने बताएका छन्।

पार्टी एक्लै वा अन्य पार्टीहरूसँग पनि मिलेर प्रधानमन्त्रीको कदमविरूद्ध प्रतिरोध गर्ने भन्नेबारे निर्णय गर्नु पर्नेमा पौडेलले जोड दिएका थिए।

सोमबार पार्टीले गरेको सर्वदलीय बैठकको प्रसंग निकाल्दै पौडेलले अरू दललाई पनि समेटेर जान सकिने बताएका छन्।

‘प्रतिनिधि सभा विघटन गर्ने संविधानमा परिकल्पनासमेत छैन,’ पौडेलले बैठकमा भने, ‘सशक्त ढंगले विरोध गरौं। हामी एक्लैले गर्ने कि अरू दल पनि समेटेर विरोध गर्ने हो छलफल गरी निर्णय गरौं।’

सभापति देउवा र प्रधानमन्त्री ओलीको नाम जोडेर विभिन्न टिप्पणी हुने गरेको उल्लेख गर्दै उनले घुमाउरो भाषामा संवैधानिक परिषदमा देउवा र ओलीबीच मिलेमतो छ कि भन्ने प्रश्न गरेका थिए।

संवैधानिक परिषदले हालै देउवानिकट जयबहादुर चन्दलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयुक्तमा सिफारिस भएको छ। चन्द नेपाल प्रहरीका पूर्वएआइजी हुन्।

देउवाको सचिवालयले भने संवैधानिक नियुक्तिमा कसैलाई पनि सिफारिस नगरिएको यसअघि नै खण्डन गरिसकेको छ।’

त्यसैगरि, सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिन नसकिने धारणा राखेका छन्।

नेकपा अध्यक्षसमेत रहेका ओलीले असंवैधानिक, अधिनायकवाद तथा निरंकुशताको आकांक्षाबाट प्रेरित भएर प्रतिनिधिसभा विघटन गरेको  देउवाको भनाइ छ।

प्रतिनिधि सभा विघटन भएको दुई दिनपछि मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै देउवाले ओलीको कदमलाई साथ दिन नसक्ने प्रष्ट पारेका छन्।

‘प्रधानमन्त्रीको कदम अधिनायकवाद र निरंकुश आकांक्षाबाट प्रेरित छ,’ देउवाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘यस्तो अवस्थामा हामी जिम्मेवार हुनुपर्छ। अभिभावकीय भूमिका खेल्नुपर्छ। यसबारे केन्द्रीत रहेर साथीहरूले धारणा राख्नुस्।’