सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेको छ। यससँगै सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर भएको छ।

यसअघि सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर थियो। मंगलबार नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गरेका हुन्।

सगरमाथाको नयाँ उचाई घोषणा गर्ने क्रममा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथा  नेपाल र चीनको सम्बन्धको प्रतिक भएको बताए।

उनले भने, ‘सगरमाथा नेपाल र चीनको सम्बन्धको प्रतिक हो। दुई देशबीचको सम्बन्ध पञ्चशीलका सिद्धान्तबाट मात्रै निर्देशित छैन। आपसी सद्भाव र विश्वासले पनि हाम्रो सम्बन्धलाई निर्देशित गरेको छ।’

यस्तै चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल र चीनले एक वर्षसम्म संयुक्त रुपमा गरेको कामले सफलता प्राप्त गरेको बताए। उनी भिडियो कन्फ्रेन्समार्फत सहभागी भएका थिए।

उनले भने, ‘हामीले एक वर्षसम्म संयुक्त रुपमा गरेको कामले सफलता प्राप्त गरेको छ। त्यसबाट हामी  उत्साहित भएका छौँ। चीनले पनि सगरमाथालाई विश्वासको प्रतिकको रुपमा लिएको छ।’

विदेशमन्त्री वाङ यीले दुई देशबीचको सम्बन्ध यसैगरि विश्वासका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।