
व्यास नगरपालिकाको ३८ औँ नगरसभा सम्पन्न भएको छ ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको सो सभामा न्यौपानेले वार्षिक नीति तथा कार्यक्रमको समिक्षात्मक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा बोल्दै नगरप्रमुख न्यौपानेले नगरपालिका भित्र अत्याधिक बेरुजु रहेको भन्ने चर्चा रहेको हुँदा उक्त बेरुजु कुनै पनि जनप्रतिनिधीसँग व्यक्तिगत रुपमा नरहेको र अधिकांश बेरुजु विद्यालयको भौतिक संरचना, शिक्षक तलब भत्तासँग जोडिएको बताए । साथै उनले आफ्नो कार्यकालमा नगरपालिका भित्र बेरुजुलाई शुन्यमा झार्ने प्रतिवद्धता व्यक्त गरे ।
सभामा उपप्रमुख इन्दिरा दरैले नगरसभामा संशोधित बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
उनले आर्थिक वर्ष २०७८/२०७९ को यथार्थ आय व्यय विवरण र २०७९/०८० को पुस २१ गतेसम्मको खर्च र संशोधित आयव्यय विवरण प्रस्तुत गरेकी थिइन् । उपमेयर दरैले आर्थिक वर्ष २०७८/ ७९ का लागि कुल रू १ अर्ब ७७ करोड ८९ लाख १२ हजार रूपैयाँ अनुमान गरिएकोमा १ अर्व ६१ करोड ८१ लाख ४३ हजार ९ सय ५१ रूपैयाँ आय हुन आएको बताएकी थिइन् । त्यस्तै २०७८/०७९ का लागि कुल १ अर्व ७७ करोड ८९ लाख १२ हजार विनियोजन गरिएकोमा १ अर्व ४३ करोड ५६ लाख २२ हजार ५ सय ३७ रूपैयाँ खर्च हुन आएको बताएकी थिइन् । उप–प्रमुख दरैले चालू आर्थिक बर्षका लागि ३७ औं नगरसभाबाट कुल १ अर्ब ६५ करोड ५४ लाख ५१ हजार रुपैयाँको आय अनुमान गरिएकोमा २०७९ पुस २१ गतेसम्म ७० करोड ३३ लाख ९३ हजार ५ सय ४२ रूपैयाँ आय हुन आएको बताएकी थिइन् ।

२८ औँ नगरसभामा ७ वटा विद्येयक का साथै संशोधित बजेट तथा कार्यक्रमहरु संशोधन सहित पारित भएको छ । सभाको पहिलो दिन विषयगत समितिको प्रगति प्रतिवेदन पनि प्रस्तुत गरिएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।
यसैबीच, नगर प्रमुख न्यौपानेले हाल एक हजार ५३ योजनाहरुमा उपभोत्ता समिति मार्फत गरिने एक हजार मध्ये दुइ सय ३६ योजनाको कार्य सम्पन्न, चार सय ३२ वटा सम्झौता भई बाँकी रहेको छ भने ठेक्का मार्फत सञ्चालन हुने योजनाहरु ५३ वटा मा १२ वटा सम्पन्न, सम्झौता सम्पन्न ३३ र सम्झौता नभएको ३२ वटा रहेको जानकारी दिए ।




