तनहुँको व्यास नगरपालिकाले विद्युतीय कर भुक्तानी (इ–पेमेन्ट) सुरुवात गरेको छ ।

नगरवासीका लागि घरमै बसेर नगरपालिकाको सेवा लिन सकिने गरी बिहीबारबाट सो सेवाको शुभारम्भ गरिएको हो ।
कर सङ्कलन प्रणालीलाई सहज बनाउने उद्धेश्यले मालपोत कर, यवसाय कर, घर जग्गा बहाल कर लगायतको विद्युतीय माध्यमबाट तिर्न सकिने प्रणालीको विकास गरी विद्युतीय भुक्तानी सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

सेवाको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले एक कार्यक्रमकाबीच भूमी कर तिरेर सुरुवात गरे । नगरपालिकाको सेवालाई पारदर्शी बनाउन टेवा पु¥याउन र घरमै बसी बसी विभिन्न शीर्षकका कर तथा राजस्वसेवा लिन सकुन् भन्ने उद्धेश्यले गण्डकी प्रदेश सरकारको सहकार्यमा सेवा सुरुवात गरिएको जानकारी दिए । यो सेवा सुरु हुनासाथ नगरपालिकामा आएर लाइन बस्नुपर्ने, समय र अतिरिक्त खर्च गर्नुपर्ने बाध्यता हटेको नगर प्रमुख न्यौपानेले बताए ।

नगरपालिकाले डिजिटल अभ्यास गर्ने कार्यक्रम अन्तर्गत सेवा प्रदान गरिएको उनले जानकारी दिए । सयम अनुरुप परिस्कृत सेवा र सुविधा भित्राउन बजार उपलब्ध भएका अनलाइन भुक्तानी प्रदायक सस्थाहरुसँग मिलेर आगामी दिनमा पनि अन्य सेवाहरु अनलाइन डिजिटल बैंकिङ्गको पहुँचमा पु¥याउने योजना रहेको सेवा उद्घाटन अवसरमा जानकारी दिईएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले नगरवासीलाई डिजिटल साक्षरता प्रदान गर्दै सेवा प्रवाहकारी बनाईने बताए। व्यक्ति आफैले भुक्तानी दिने हुनाले जनशक्ति खर्च बचत हुने, विभिन्न बिलहरु तिर्न लाइनमा बस्नु नपर्ने हुँदा समयको बचत हुने, भुक्तानी गरेको बिल इमेलमै प्राप्त गर्न सकिने, छिटो, छरितो र विश्वासनीय रुपमा कर भुक्तान गर्न सकिने नागिलाले जानकारी दिए ।

यस्तै गरी नगद बोकेर हिड्न नपर्ने, साथै चोरीको डर पनि नहुने, नगदको कारोबार नहुने हुँदा नोट र मुद्राको आयू लामो हुने, कारोबारको विरण स्वतःहुने हुँदा हिसाब किताब राख्न सजिलो हुने भएकोले विद्युतीय भुक्तानीको सेवा सुरु गरिएको नागिला बताए ।

विद्युतीय भुक्तानी प्रणालीमार्फत नगरबासीहरूले सम्पत्ति कर, भूमिकर, व्यवसाय कर तथा अन्य कर भुक्तानी गर्न सक्ने नगरपालिकाका बजार प्रबन्धक टिकाराम दाहालले बताए । नगरबासीले घरमै बसेर आफ्नो करदाता पोर्टल र इन्टरनेटको मध्यमबाट घरमै बसेर विभिन्न अनलाइन एपबाट समेत भुक्तानी गर्न सकिने भएको छ । भुक्तानीको लागि सहज बनाउन करदाता पोर्टलमा भुक्तानी गर्ने तरिका पनि सिकाईएको उनले जानकारी दिए ।