३८औँ स्मृति दिवस

आज साउन ६ अर्थात् नेपाली कांग्रेसका संस्थापक नेता एवम् समाजवादी चिन्तक विपी कोइरालाको ३८औँ स्मृति दिवस । हरेक वर्ष साउन ६ देखि १३ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गरी विपी स्मृति दिवस मनाइँदै आएको छ । तथापि, विपी स्मृति दिवसमा केही औपचारिक कार्यक्रम गरे पनि कांग्रेसजनले विपीको मार्ग अवलम्बन गर्न सकेका छैन र विपीका सपना आजसम्म पनि अधुरै रहेका छन् ।

विपी कांग्रेसका मात्र नेता नभएर आमनेपालीका जनप्रिय नेता मानिन्छन् । उनी जहानियाँ शासनविरूद्धको विसं २००७ सालको जनक्रान्तिका नायक, देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री, राष्ट्रवादी राजनेता, प्रखर बौद्धिक व्यक्तित्व, समाजवादी चिन्तक र अग्रज साहित्यकार पनि हुन् । दुर्भाग्य त यो छ कि आजपर्यन्त नेपाली समाज परनिर्भरतामा बाँच्नु परेको छ । धान–चामल, तरकारी–फलफूल, घिउ–तेल, चिनी, मसलादेखि दैनिक उपभोग्य सामग्री भारत तथा तेस्रो मुलुकबाट आयात गर्नुपर्ने नियति छ । आयात प्रतिस्थापन गरी उत्पादन बढाउनेतर्फ राज्यको ध्यान जान सकेको छैन । अहिले समय फेरिए पनि नेपालीको नियति फेरिएको छैन ।

विपीले आफ्नो समयमा हरेक नेपालीलाई बस्ने एउटा बास, अलिकति अन्नपात, दूध खान एउटा गाई होस् भनेका थिए । यो आत्मनिर्भरता झल्काउने समाजवादी आदर्श थियो । उनको आदर्शलाई न कांग्रेसले अनुसरण गर्न सक्यो न राज्यले । विपीले तत्कालीन समयमा राष्ट्रिय योजना आयोगको कार्यकक्षमा हलो जोतिरहेको किसानको तस्बिर राख्न लगाएका थिए । स्मार्ट सिटी होइन स्मार्ट गाउँ बनाउने विपीको आदर्श आज पनि उत्तिकै महत्वपूर्ण छ । विपीको समाजवादलाई भजाउँदै कांग्रेसले धेरै वर्ष मुलुकको नेतृत्व पनि गर्यो । तर, किसानलाई गाईभैँसी पाल्न र खेतबारी उर्वर बनाएर उत्पादन बढाउन कांग्रेसले कहिल्यै सिकाएन, बरू परम्परागत किसानी पेसा अँगाल्ने दाजुभाइहरु वैदेशिक रोजगारीका नाममा खाडी मुलुकमा श्रम बेच्न बाध्य भए । परिणामतः गाउँघर रित्तिए, खेतबारी चौरमा परिणत भए । परनिर्भरताको ग्राफ बढ्दै गयो । विपीको आदर्श र समाजवादी चिन्तन कांग्रेसका लागि राजनीति गर्ने माध्यममात्र बन्यो ।

विपीको देहावसानसँगै विपीको समाजवाद किताबका पानामा सीमित बन्यो । कांग्रेसले केही औपचारिक कार्यक्रम गरेर प्रक्रिया पूरा गरिरहे पनि आफ्ना अग्रज नेताको स्मृतिमा जति उत्साह प्रदर्शन गर्नुपर्ने थियो त्यो देखिएन । विपी र प्रजातन्त्र नेपालको सन्दर्भमा एकअर्काका पर्यायजस्तै मानिन्छन् । सम्पूर्ण देशले नै प्रजातन्त्रका लागि आफूलाई बलिदान दिएको महान् नेताका रुपमा उनलाई स्वीकार गरेको छ ।

राणाकालको उत्कर्षको समयमा नेपाली कांग्रेसको स्थापनादेखि लिएर त्यस व्यवस्थाविरूद्ध उनले गरेको संघर्षबाट प्राप्त सफलता सबैका लागि अनुकरणीय बनेको छ । विसं २०१५ सालको पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेसले अत्यधिक बहुमत हासिल गर्दा पहिलो जननिर्वाचित प्रधानमन्त्री विपीले नेपालमा प्रजातन्त्रलाई संस्थागत गर्न ठूलो योगदान गरेका थिए, जुन इतिहासले सगर्व मूल्याङ्कन गर्दै आएको छ । जीवनको उर्वर समय स्वदेशमै जेलजीवन भोगेका विपी २०३३ सालमा मेलमिलापको नीति लिएर भारतको निर्वासनबाट स्वदेश फर्किएलगत्तै नेपालमा नयाँ युगको सूत्रपात भएको थियो । विपीजस्तो दूरदर्शी नेतालाई त्यतिबेला सम्पूर्णरुपमा देशले चिन्न नसके पनि उनको अभाव अहिले निकै महसुस हुँदै गएको छ । विपी बहुमुखी प्रतिभासम्पन्न व्यक्ति थिए । उनले नेपाली साहित्यमा पुर्याएको योगदान राजनीतिमा दिएको देनभन्दा कम मान्न सकिदैन ।

खासगरी, नेपाली उपन्यास र कथाका क्षेत्रमा विशिष्ट मोड दिन सफल स्रष्टा व्यक्तित्व विपीको साहित्यिक लेखन आजपर्यन्त उत्तिकै प्रभावशाली छ । विपीको जीवनका अनेक आयाममध्ये साहित्यका आयामतर्फ हेर्दा उनी फ्रायडवादी यौन मनोविश्लेषणात्मक शैलीका प्रयोगकर्ता मानिन्छन्, तर उनी माक्र्सवादी सौन्दर्यचेतले दीक्षित प्रथम सामाजिक यथार्थवादी लेखक पनि हुन्। दसैँको टीकाको दिन टीका लगाउँदा चामलको लागि मुख आँ गने तत्कालीन समाजमा गाँसका लागि बास छोडेर हिँड्नुपर्ने सजीव चित्रण गरिएको ‘मधेसतिर’ मौलिक यथार्थवादी कथा हो । नारी अस्तित्ववादका समर्थक विपीले ‘तीन घुम्ती’मार्फत नारीलाई निर्णय क्षमतामा आफ्नो अधिकार आफैँमाथि हुन्छ भन्ने सन्देश दिए । आर्य पुरूष र मंगोलियन नारीको प्रेम गाँसिएको ‘सुम्निमा’मार्फत सामाजिक एकता र जागरणमा जातीय संकीर्णता नराखौँ भने । ‘दोषी चस्मा’मा राणाकालीन नौकरशाही प्रवृत्तिको व्यंग्य गरे । ‘एक रात’ कथामार्फत सहिद दुर्गानन्दप्रति समर्थन देखाई गणतन्त्रको सम्भावित परिकल्पना गरे ।

शताब्दीमा मात्र जन्मिन सक्ने यस्ता महान् व्यक्तित्वलाई नियतिले लामो समय रहन दिएन । क्यान्सरजस्तो घातक रोगबाट विसं २०३९ मा उनको निधन भयो । उनको अभाव सिङ्गो नेपाली राजनीति र साहित्यिक क्षेत्रमा महसुस हुँदै आएको छ ।