लकडाउनको अवधिमा ३४ हजार नेपाली विदेशबाट घर फर्किएका छन् ।

कोरोना भाइरसको महामारी र लकडाउनका कारण विदेशमा अलपत्र नेपालीलाई उद्धार गर्ने सरकारको निर्णयअनुसार हालसम्म ३४ हजारभन्दा बढी घर फर्किएको बताइएको छ ।

विभिन्न २५ देशमा रहेका नेपालीलाई उद्धार गरिएको कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले जनाएको छ। मंगलबारसम्म ३४ हजार ९३ जना नेपालीलाई ल्याइएको छ।

साउदी अरबबाट पाँच हजार ६ सय ११, यूएईबाट सात हजार ६ सय १७, कतारबाट ३ हजार ९ सय ४१, कुवेतबाट पाँच हजार पाँच सय ४९, मलेसियाबाट ४ हजार ७ सय ७९, बहराइनबाट ९ सय ८० र ओमनबाट चार सय ९२ जना नेपाली ल्याइएको छ।

अफगानिस्तानबाट १८, अस्ट्रेलियाबाट ६ सय ३४, जापानबाट सात सय ५६, थाइल्यान्डबाट ३ सय २६, दक्षिण कोरियाबाट चार सय ७६, बंगलादेशबाट ८ सय ४१, मालदिभ्सबाट सात सय ९, सिंगापुरबाट एक सय ४६, अमेरिकाबाट ४ सय २३, बेलायतबाट २ सय २९, इजरायलबाट एक सय २७, चीनबाट एक सय ५ र फिलिपिन्सबाट एक सय ८ जना ल्याइएको छ।

अफगानिस्तानबाट १८, म्यानमारबाट २६, श्रीलंकाबाट ५, हङकङबाट ८९, पाकिस्तानबाट ७२ र टर्कीबाट ३४ जना ल्याइएको छ। विदेशबाट ल्याइएकामा सबैभन्दा बढी बागमती प्रदेशका छन्। बागमती प्रदेशका ९ हजार ३ सय ३३ जना रहेका छन्। सबैभन्दा कम कर्णाली प्रदेशका छन्। कर्णाली प्रदेशका सात सय ८३ जना रहेका छन्।

सरकारले चार्टर्ड फ्लाइटमार्फत उनीहरुलाई ल्याएको हो। यीमध्ये केहीलाई रोजगार दाता देश र कम्पनी आफैले पठाएका छन्। सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा बाह्य उडान खोल्ने निर्णय गरिसकेको छ।