नेकपाका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभा सदस्यको शपथ ग्रहण गरेपछि आफू राष्ट्रियसभाको गरिमा बढाउन आएको प्रतिक्रिया दिएका छन्।

सरकारले मनोनित गर्ने तीन सिटमध्ये सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भणडारीबाट मनोनित भएका गौतमले सदनको गरिमालाई बढाउने काम गर्ने उल्लेख गरेका हुन्।

राष्ट्रपतिबाट मनोनित भएपछि गौतमले बिहीबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट पद तथा गोपनीयतको शपथ लिएका छन्।

शपथ ग्रहणपछि गौतमले भने, ‘म राष्ट्रियसभाको गरिमा बढाउनका लागि आएको हुँ। संविधान र राष्ट्रियसभा नियमावलीअनुसार आफ्नो कर्तव्य पूरा गर्न आएको छु। सदस्यको हैसियतले राष्ट्रियसभाको प्रतिष्ठा गिराउँदिन। राष्ट्रियताको पक्षमा उभिने प्रण गर्दछु।’

उनले आफूलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गर्ने दल र सरकारलाई धन्यवाद पनि दिए।

२०७४ साल मंसिरमा भएको प्रतिनिनिधिसभा सदस्य निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतम साढे दुई वर्षको प्रयासपछि बिहीबार राष्ट्रियसभा सदस्यमा मनोनित भएका हुन्।

प्रतिनिधिसभामा पराजित भएको व्यक्ति मनोनितको बाटो हुँदै सांसद बन्नु अनैतिक र जनमतको भावना विपरीत हुने भन्दै आलोचना भएपनि सत्तारुढ नेकपाको निर्देशनअनुसार सरकारले गौतमलाई सिफारिस गरेको थियो।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम प्युठान स्थायी घर भएका गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी हुन्। तत्कालिन अर्थमन्त्री युवराज खतिवडा सरकारबाट बाहिरिएसँगै राष्ट्रिय सभा छिर्ने गौतमको बाटो तय भएको थियो।