
ललितपुरको पुल्चोकमा स्थानीय र प्रहरीको भिडन्त भएको छ ।
स्थानीयले रातो मछिन्द्रनाथको रथ तान्न खोजेको र त्यसकार्यलाई प्रहरीले रोक्न खोजेपछि भिडन्त भएको हो ।
निषेधाज्ञाको बेला रथ नतान्न प्रशासनले निर्देशन जारी गरे पनि स्थानीय बासिन्दाले अवज्ञा गर्दै रथ तानेपछि बिहीबार दिउँसो दोस्रो पटक झडप भइरहेको छ।
केही बेरअघि रथ तानी रहेका बेला प्रहरीले बल प्रयोग गरेर तितर बितर बनाए पनि स्थानीय फेरि रथ तान्न आएपछि दु्ईपक्षबीच झडप भएको हो ।
गल्ली गल्लीमा लुकेर बसेका स्थानीय नेवार समुदायका व्यक्ति आएर फेरि रथ तान्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो। बासिन्दाहरुले घरको छत छतबाट प्रहरीमाथि आक्रमण गरिरहेका छन्। दुई पक्षबीचको झडपमा केही युवाहरु घाइतेसमेत भएका छन्।
रथ भएको पुल्चोक क्षेत्रमा प्रहरी तैनाथ गरिएको र झडपको अवस्था आउन नदिनका लागि प्रयास गरिरहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताएका छन्।




