
लकडाउनका कारण नेपालमा २३ प्रतिशत कामदारको रोजगारी गुमेको छ ।
लकडाउनका अवधिमा उद्योगी व्यवसायीले झन्डै एक चौथाइ (२३ प्रतिशत) कर्मचारी र कामदार कटौती राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदन’ ले देखाएको छ ।
कटौती भएकामध्ये दुई तिहाइभन्दा बढी (७०.६ प्रतिशत) अस्थायी र करारका कामदार छन् । जसमा होटल तथा रेस्टुरेन्ट क्षेत्रमा सबैभन्दा धेरै ४० प्रतिशत कर्मचारी र कामदारले रोजगारी गुमाएका छन् । रोजगारी गुमाउनेमध्ये ५८.२ प्रतिशत अस्थायी कामदार छन् ।
‘शिक्षा क्षेत्रमा सबैभन्दा कम ५.६ प्रतिशत कर्मचारी र कामदार कटौती गरेको पाइएको छ,’ प्रतिवेदनले देखाएको छ, ‘घरेलु उद्योग र लघु उद्यम र साना खुद्रा व्यापारीले लकडाउनमा राष्ट्रिय औसतभन्दा धेरै कर्मचारीरकामदार कटौती गरेको पाइएको छ ।’ सो अवधिमा सबैभन्दा धेरै कर्मचारी र कामदार कटौती गर्नेमा घरेलु उद्योग (३०.५ प्रतिशत) र सबैभन्दा कम कर्मचारी र कामदार कटौती गर्नेमा ठूला उद्योग (१४ प्रतिशत) छन् । ‘कटौती भएकामध्ये अस्थायी कामदार धेरै कटौती गर्नेमा लघु उद्यम र साना खुद्रा व्यापार र स्थायी कर्मचारी र कामदार धेरै कटौती गर्नेमा ठूला उद्योग र व्यवसाय अग्रस्थानमा देखिन्छन्,’ प्रतिवेदनमा भनिएको छ ।
लकडाउन अवधिमा उद्योग व्यवसायले कर्मचारीको तलब कटौती गरेको पनि भेटिएको छ । सो अवधिमा औसतमा १८.२ प्रतिशत तलब कटौती गरेको देखिएको छ । ‘होटल तथा रेस्टुरेन्ट क्षेत्रमा सबैभन्दा धेरै ३६.४ प्रतिशत तलब कटौती गरेका छन्,’ प्रतिवेदनमा उल्लेख छ, ‘यातायात तथा भण्डारण क्षेत्रमा ३१.२ प्रतिशत र शिक्षा क्षेत्रमा २१.१ प्रतिशतले तलब कटौती भएको छ ।’
सो अवधिमा स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रमा ५.४ प्रतिशतले तलब कटौती गरेको पाइएको छ भने खानी तथा उत्खनन क्षेत्रमा तलब कटौती भएको छैन ।




