
सम्पादकीय
आज मंसिर ४ गते आइतबार देशमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुन गइरहेको छ । जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यस आम निर्वाचनको ऐतिहासिक महत्व रहेको छ । निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशः जनउत्तरदायी हुँदै जान्छन् । यसबाट शासन प्रणालीमा जनताले खोजेको सुशासन र पारदर्शिता स्थापित गर्न मद्दत पुग्दछ । स्वस्थ र सबल लोकतन्त्रबाट नै शान्ति, स्थायित्व र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिन्छ ।
जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो । आवधिक निर्वाचनले जनतामा निहीत सार्वभौमसत्तालाई औपचारिक रुपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा अभिव्यक्त गर्दछ ।
यसैबीच, छ वटा गाउँपालिका र चार नगरपालिका गरी १० वटा स्थानीय तह रहेको तनहुँमा १४२ मतदान स्थल, ३०५ मतदान केन्द्र तोकिएका छन् भने २ लाख ४८ हजार ४ सय ९५ मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २३ हजार ४९० र तनहुँ निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख २५ हजार ५ जना मतदाता रहेका छन् । २ प्रतिनिधिसभा सदस्य र ४ प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँबाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ५७ जनाले उम्मेदवारी मनोनयन दर्ता गरी चुनावी मैदानमा उत्रिएका छन् ।
चुनावका बेलामा विभिन्न घोषणापत्र सहित चिल्ला मिठा नारा र योजना सहित जनताको घरदैलोमा पुग्ने नेताहरु चुनाव जितिसकेपछि भने नाक मुखै नदेखाउने गरको गुनासो जनताले गर्दे आएका छन् । तनहुँ जिल्ला अझै पनि शिक्षा, स्वास्थ्य, संचार, सडक, यातायात, खानेपानी, सरसफाई जस्ता क्षेत्रमा पिछडिएको छ र भरपर्दो पूर्वाधारहरु तयार हुन सकेका छैनन् । धार्मिक, ऐतिहासिक, भौगोलिक, पुरातात्विक, र साहित्यिक दृष्टिले तनहुँको जुन गरिमा र उचाईं छ, त्यसको समूचित विकास र प्रचार प्रचारमा राजनीतिक दल र नेताहरुले चर्का स्वरमा कुरा मात्रै गरिरहे तर व्यवहारिक रुपमा केही गर्न सकेनन् ।
चुनावका समयमा जनतालाई झुठा आश्वासनका र सपना बाँड्दै आएका जनप्रतिनिधीहरुले पनि जनताको मतको सहि कदर गर्न सिक्नु पर्दछ र कबोल गरिएका बाचाहरु खेर जान दिनु हुँदैन् । त्यसैगरि चुनाव पश्चात नेताहरुहरुलाई गाली गलौज गर्ने जनताले पनि चुनावका बेलामा विशेष होसियारीका साथ सवल, सक्षम, योग्य र इमान्दार व्यक्तिलाई मतदान गर्न भुल्नु हुदैन् । लहलहैमा मतदान गरेर आफ्नो अधिकारको दुरुपयोग कदापी गर्नु हुँदैन् ।
प्रत्येक ५ बर्षको अन्तरालमा हुने निर्वाचनमा मेरा, हाम्रा, उनका भन्दा पनि राम्रा र योग्य व्यक्तिहरुलाई जिताउनु जरुरी छ । यो कुराको हेक्का सबै जिम्मेवार मतदाताले मनै देखि बुझ्नु र व्यवहारमा उतार्नु पर्दछ । ताकि पछि फेरि कुनै पश्चात गर्नु नपरोस् ।
यस निर्वाचनमा जनताहरुले आफ्नै विबेक र क्षमता प्रयोग गरेर असल, इमान्दार, नैतिकवान, जनप्रेमी, विकासपे्रमी, र क्षमतावान नेताको छनौट गर्न चुक्नु हुँदैन्, नत्र हाम्रो गल्तीको गरिणाम भावी पुस्ताले समेत भोग्नु पर्ने हुन्छ । यसपटकको निर्वाचनले हाम्रा होइन् राम्रा र असल नेतालाई मत हालौं ।




