
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कुनै पनि पदमा उम्मेदवारी दिएका छैनन्। कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिबार साँझ ५ः०० बजेसम्मका लागि समय तोकिएको थियो।
राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गर्ने नेताहरुको भीडभाड भइरहँदा नेता पौडेल भने कतै देखिएनन्। उनले आफू सभापतिको उम्मेदवार नबन्ने यसअघि नै जानकारी गराइसकेका थिए। तर उनले केन्द्रिय सदस्यमा समेत उम्मेदवारी दिएनन्।
संस्थापनइतर पक्षबाट सभापतिमा साझा उम्मेदवार बनाउन कोशिस गरेपनि त्यसमा सफल नभएपछि पौडेल निराश भएका थिए। उनले प्रकाशमान सिंह र शेखर कोइरालालाई मिलेर जान या आफ्नो नेतृत्वमा स्वीकार गर्न आग्रह गरेका थिए।
पौडेललाई स्वीकार गर्न कोइराला सकारात्मक भएपनि सिंहले नमानेपछि उनी निराश थिए। केही दिनअघि सिंह निवास चाक्सीबारीमा भएको संस्थापनइतरका नेताहरुको छलफलमा सिंह र कोइराला नमिने आफू राजनीतिबाट बिदा हुने र महाधिवेशनमा पनि सहभागी नहुने अभिव्यक्ति दिएका थिए।




