नेपाली कांग्रेस निकट यातायात मजदुर हरुको शुभेच्छुक संगठन नेपाल यातायात मजदुर संघ तनहुँको अध्यक्षमा रघुनाथ खनाल चयन भएका छन् ।

शनिवार सम्पन्न ७ औं अधिवेशन तथा २७ औं साधारणसभाले चार वर्षे कार्यकालको लागी खनालको नेतृत्वमा नया कार्य समिति चयन गरेको हो । उनी यस अघि पनि संघको अध्यक्ष थिए । यसैगरि अधिवेशन मार्फत संघको उपाध्यक्षमा श्रीभद्र कंडेल. उर्मिला जलारी, सचिवमा शुशिल मल्ल, सहसचिवमा सुरेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा राम बहादुर गदाल चयन भएका छन् ।

यस्तै सदस्यहरुमा रबि लामा, नदिन थापा मगर, तिल बहादुर आले, उत्तम जलारी, आदर्श असाद आलम चयन भएको निर्वाचन संयोजक अधिवक्ता यज्ञबहादुर रानाले बताए ।

यसैबिच उक्त मजदुर संघ जिल्ला कार्य समिति तनहुँको अधिवेशनको उद्घाटन गर्दै व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले नेपाल यातायात मजदुर संघ तनहुँले नेपालको लोकतन्त्रको स्थापनामा महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै मजदुरहरु राष्ट्र निर्माणका पहरेदार रहेको बताए । लोकतन्त्रमा मात्र संघ संगठन फस्टाउने भएको उल्लेख गर्दै न्यौपानेले व्यास नगरपालिका मजदुरहरुको हक हितका लागि सधै साथ रहेको बताए । कार्यक्रममा नेपाल यातायात मजदुर संघका केन्द्रिय उपाध्यक्ष अजयकुमार राई, केन्द्रिय कोषाध्यक्ष कुशेश्वर गुरुङ, नेपाल टे«ड युनियन कांग्रेस तनहुँका पुर्व अध्यक्ष एवं नेपाली कांग्रेस व्यास नगरसमिति सभापति सुर्यचन्द्र हड्खले, सल्लाहकार कृष्णबहादुर केसी लगायतले यातायात तथा मजदुर संघमा धेरै समस्या रहेको चर्चा गर्दै बर्तमान देश काल र परिस्थिति अनुसार सुधार गर्दै जानुपर्ने र मजदुरहरुको हकहितमा एकजुट हुनुपर्ने बताए । त्यस अवसरमा संघमा योगदान दिएका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले व्यास नगरपालिका १ अम्रेनीमा रहेको नेपाल यातायात मजदुर संघ जिल्ला कार्य समिति तनहुँको नव निर्मित भवनको शनिवार उद्घाटन गरेका छन् ।

गण्डकी प्रदेश सरकारबाट प्राप्त ५ लाख, व्यास नपाबाट ५० हजार, नेपाली कांग्रेसबाट २५ हजार, ५ हजार स्थानिय समिति तथा बाँकी चन्दादाताहरुबाट संकलन गरी कुल सात लाख १ हजारको लागतमा निर्माण कार्य सम्पन्न भएको नेपाल यातायात मजदुर संघ तनहुँका अध्यक्ष रधुनाथ खनालले जानकारी दिए । भवन निर्माण नहुँदा बैठक बस्ने तथा दैनिक काम काज तथा कार्य सञ्चालनमा समस्या भएपछि समितिको पहलमा अहिले नयाँ भवन निर्माण भएपछि सहज भएको समितिले जनाएको छ ।